२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

भदौमा ६० हजार बढी नेपाली वैदेशिक रोजगारीमा

Nada
२०८३ असोज ३ गते ०६:०५
Shares
भदौमा ६० हजार बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा ६० हजारभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । संस्थागत, सरकारी, व्यक्तिगत भिसा, पुनः श्रम स्वीकृति र वैधानिकीकरणमार्फत गरी भदौमा ६० हजार ४४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

ncell

त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत ३ हजार १८७ महिलासहित २५ हजार ४१५ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा ९ हजार २२४, जिटुजीका माध्यमबाट ८६६ र पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ४१५ जना गएका छन् ।

गत वर्षको भदौमा समग्रमा ६७ हजार ९७२ जना वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीले ३३ हजार १ जना पठाएका थिए । यस वर्ष भदौमा म्यानपावर कम्पनीहरूबाट जानेको संख्या करिब ८ हजारले कम छ ।

संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत सबैभन्दा धेरै युएईमा १० हजार ९७८ जना, दोस्रोमा रहेको मलेसियामा ५ हजार ३५९ जना, तेस्रोमा कतारमा २ हजार ८४९ जना र चौथोमा कुवेतमा १ हजार ९०५ जना गएका छन् ।

त्यसपछि क्रमशः ओमानमा ७९१ जना, साइप्रसमा ६७६ जना, बहराइनमा २९७ जना, जापानमा १८६ जना, जोर्डनमा ९३ जना, मौरिससमा ५९ जना, श्रीलंकामा १२ जना र माल्दिभ्समा ५ जना संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत गएका छन् ।

सबै प्रक्रियाबाट युएई जानेको संख्या १८ हजार ४७७ रहेको छ । यो संख्या कुल वैदेशिक रोजगारीमा गएकाहरूको संख्याको करिब एक चौथाइ हो ।

साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आवको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।

सम्बन्धित खबर