२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीलाई खाजाको लागि जनजागरण समाजको आर्थिक सहयोग

ADV
राजकुमार के.सी.
२०८१ साउन ३२ गते २१:२८
विद्यार्थीलाई खाजाको लागि जनजागरण समाजको आर्थिक सहयोग

मकवानपुर : वर्षे बिदामा समेत विद्यालय नियमित रुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेवी निमाविका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

२०७९ मा स्थापना भएको जनजागरण समाजले समाजका सदस्यहरुबाट संकलन गरेको उक्त रकम विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजा व्यवस्थापनका लागि सहयोग गरेको समाजका सह–संयोजक माधव कार्कीले बताए ।

शुक्रबार विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रकम समाजको तर्फबाट विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए । उनले विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।

सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विवद्यार्थीहरुका लागि प्रति विद्यार्थी १५ रुपैयाँको दरले प्रत्येक वर्ष १ सय ८० दिन बराबरको रकम विद्यालयलाई उपलब्ध गराउने बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा व्यवस्थापनमा सहज हुने बताए । विद्यालयले वार्षिक २ सय २० भन्दा बढी दिन विद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा विद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।

रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले विद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने  बताए । समाजको सकारात्मक विकासकालागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानले बताए । कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव विकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज वर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । 

बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकाले पालिकाका सामुदायिक बिद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म बर्षे बिदा निर्धारण गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise