
भर्जिनिया (अमेरिका) । नेपाली नर्स ममता काफ्लेको हत्या अभियोग लागेका नरेश भट्टको मुद्दामा मंगलबार अभियोजन पक्षले विषविज्ञ र अर्का साक्षीलाई अदालतमा प्रस्तुत गरेको छ । भट्टले ममताले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेपछि अभियोजन पक्षले त्यसलाई चुनौती दिन विषविज्ञ डा. अबिगेल केर्न्सको बयान गराएको हो ।
मुद्दाको १९औँ दिन मंगलबार अदालतमा केर्न्सले कृषि क्षेत्रमा प्रयोग हुने ‘सेल्फोस’ नामक विषादीमा रहेको रसायन शरीरमा प्रवेश गर्दा त्यसले पार्न सक्ने असरबारे बयान दिइन् । उनका अनुसार उक्त पदार्थ शरीरमा पुगेपछि चिस्यानसँग प्रतिक्रिया गरेर फस्फिन ग्यास उत्पादन गर्छ । यसले पेट दुख्ने, वान्ता हुने, मुटु तथा रक्तसञ्चार प्रणालीमा समस्या आउने र श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गर्न सक्छ ।
गम्भीर अवस्थामा यस्तो विषाक्तताको असर केही घण्टामै घातक हुन सक्ने र धेरैजसो अवस्थामा २४ घण्टाभित्र मृत्यु हुन सक्ने उनले बताइन् । विष सेवन गरेको व्यक्तिलाई मुखबाट श्वास दिएर प्राथमिक उपचार गर्ने क्रममा पनि सहयोग गर्ने व्यक्ति विषाक्त ग्यासको सम्पर्कमा आउन सक्ने उनको भनाइ थियो ।
भट्टले गत साता अदालतमा ममताले सन् २०२४ जुलाई २९ को राति विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका थिए । भोलिपल्ट बिहान आफूले उनलाई बेहोस अवस्थामा भेटेको र बचाउने प्रयास गरेको उनको भनाइ थियो । तर, उनले ममताको मृत्यु भएको अवस्थामा प्रहरी वा आकस्मिक सेवामा खबर नगरेको स्वीकार गरेका छन् ।
अभियोजन पक्षले भट्टको यही दाबीलाई चुनौती दिन विषविज्ञलाई अन्तिम साक्षीका रूपमा प्रस्तुत गरेको हो । केर्न्सले विषाक्तताको सम्भावित असरबारे व्याख्या गरे पनि ममताले वास्तवमै उक्त पदार्थ सेवन गरेकी थिइन् वा उनको मृत्यु त्यसकै कारण भएको थियो भन्ने प्रत्यक्ष पुष्टि उनको बयानले गर्दैन ।
पूर्वघरभाडावालले पनि दिए बयान
मंगलबार अदालतमा सन् २०२१ मा भट्टसँग एउटै अपार्टमेन्टमा बसेका आकाश रच्छले पनि बयान दिएका छन् । उनले भट्टसँगको विवादका क्रममा आफू र आफ्नी पत्नीलाई धम्की दिएको आरोप लगाए ।
रच्छका अनुसार अपार्टमेन्टमा बसाइका क्रममा भट्टसँग पटकपटक विवाद भएको थियो । एकपटक भट्टले आफूलाई अपार्टमेन्टबाट निकाल्ने क्रममा सामान बाहिर फालिदिएको र अर्को घटनामा आफ्नी पत्नीलाई थप्पड हान्ने धम्की दिएको उनले बताए । त्यस्तै, भट्टले खल्तीबाट पेस्तोल निकालेर आफ्नी पत्नीलाई तर्साएको पनि रच्छले बयानमा उल्लेख गरे ।
तर, प्रतिपरीक्षणका क्रममा प्रतिरक्षा पक्षका वकिलले रच्छसँगै भट्टले पनि प्रहरी बोलाएको र विवादपछि दुवै पक्ष अपार्टमेन्टबाट निकालिएको विषय उठाएका थिए । रच्छले दुवै पक्षले प्रहरी बोलाएको स्वीकार गरे ।
न्यायाधीश किम्बर्ली इर्भिङले भट्टको पुरानो घटनासम्बन्धी बयानलाई उनको शान्त स्वभावको दाबी जाँच्न उपयोगी हुने भन्दै जुरीसमक्ष प्रस्तुत गर्न अनुमति दिएकी थिइन् । तर, रच्छकी पत्नीलाई भने अभियोजन पक्षले साक्षीका रूपमा समयमै जानकारी नगराएको भन्दै बयान दिन रोकिएको थियो ।
अभियोजन पक्षको बहसतर्फ मुद्दा
मंगलबारको सुनुवाइसँगै अभियोजन पक्षले आफ्ना अन्तिम साक्षी प्रस्तुत गरेर प्रमाण पेस गर्ने काम टुंग्याएको छ । प्रतिरक्षा पक्षले सोमबार नै आफ्नो पक्षको बयान र प्रमाण प्रस्तुत गर्न सकेको थिएन । सोमबार नै प्रतिरक्षा पक्षले आफ्नो मुद्दा टुंग्याएको थियो ।
ममताकी आमा गीता काफ्ले र दाजु महेश काफ्लेले सोमबार पुनः अदालतमा बयान दिएका थिए । गीताले आफ्नी छोरीले आत्महत्या नगर्ने बताएकी थिइन् । महेशले भने ममताले आफूलाई नरेशसँग डर लागेको र सम्बन्धविच्छेदको चिन्ता रहेको बताएको बयान दिएका थिए ।
भट्टमाथि पत्नीको हत्या, शव लुकाएको र शवको अपमान गरेको गरी तीन अभियोग छन् । उनले ममताको हत्या गरेको आरोप अस्वीकार गर्दै आएका छन् । तर, ममताको शव लुकाएको स्वीकार गरेका छन् । ममताको शव अहिलेसम्म फेला परेको छैन ।
मंगलबारको सुनुवाइमा अभियोजन पक्षले भट्टको आत्महत्यासम्बन्धी दाबीमाथि प्रश्न उठाउने प्रमाण र साक्षी प्रस्तुत गरेको छ । अब दुवै पक्षको अन्तिम बहसपछि जुरीले अभियोगबारे निर्णय गर्नेछ ।