
केलान्तान, मलेसिया : मलेसियाको केलान्तान राज्यस्थित तानाह मेराह जिल्लामा अवैध मार्ग प्रयोग गरी आप्रवासी भित्र्याउने गतिविधिमा संलग्न रहेको आशंकामा चार स्थानीयसहित ३४ जना पक्राउ परेका छन्।
प्रहरीले निबोङस्थित युती अवैध अवतरण स्थलमा सोमबार बिहान ९ः४५ बजे छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
तानाह मेराह जिल्ला प्रहरी प्रमुख सुपरिटेन्डेन्ट मोहम्मद हाकी हसबुल्लाहका अनुसार पक्राउ पर्नेमा तस्करीमा संलग्न रहेको आशंका गरिएका चार स्थानीय नागरिक र म्यानमारका ३० नागरिक रहेका छन्। म्यानमारका पक्राउ परेकामध्ये १८ पुरुष र १२ महिला छन्।
उनका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुखको परिचालन आदेश नम्बर २६९/२०२६ अन्तर्गत ‘अप इन्टर एजेन्सी केडीएनकेए आईपीडी तानाह मेराह’ सञ्चालन गरिएको थियो।
कारबाहीको नेतृत्व निबोङ र बातु गाजाह प्रहरी चौकीका प्रमुखहरूले गरेका थिए। उक्त अभियानमा निबोङ, बातु गाजाह, बुकित बुङ्गा र लालाङ पपुयु प्रहरी चौकीका १० जना प्रहरी कर्मचारी सहभागी थिए।
प्रहरी प्रमुख हसबुल्लाहले पक्राउ परेका चार स्थानीयमध्ये तीन जनाले लागूऔषध परीक्षणमा सकारात्मक नतिजा देखाएको जानकारी दिएका छन्।
प्रहरीले घटनास्थलबाट पेरोडुआ माइभी गाडीमा राखिएको करिब ४५० मिलिलिटर तरल पदार्थ पनि बरामद गरेको छ। उक्त पदार्थ केतुमको पानी भएको आशंका गरिएको छ।
अनुसन्धानका लागि प्रहरीले पेरोडुआ माइभी र होन्डा सिटी गरी दुईवटा गाडी तथा शंकास्पद तरल पदार्थ नियन्त्रणमा लिएको छ।
यस घटनाबारे मलेसियाको अध्यागमन ऐन १९५९/६३ को दफा ५५ई र ६(१)(ग), खतरनाक लागूऔषध ऐन १९५२ को दफा १५(१)(क) तथा विषादी ऐन १९५२ को दफा ३०(३) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।