
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत पौडेलले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक कांग्रेस महामन्त्री निर्वाचित भएका थिए । त्यसअघि पार्टीको १४औँ महाधिवेशनमा पनि उनी महामन्त्रीका उम्मेदवार थिए । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट प्रतिस्पर्धा गरेका पौडेल त्यसबेला निर्वाचित हुन सकेका थिएनन् ।
विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा पुगेका पौडेलले १५औँ महाधिवेशनमा पुनः सोही पद रोजेसँगै उनी पदमा निरन्तरताका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार यसपटक तीन महामन्त्री रहने व्यवस्था गरिएको छ । त्यसमध्ये दुई खुला र एक महिला महामन्त्री रहने व्यवस्था छ ।
खुलातर्फ महामन्त्रीका लागि यसअघि नैनसिंह महर, डा. सुनिल शर्मा र शंकर तिवारीले उम्मेदवारी दर्ता गरिसकेका छन् । पौडेलसमेत प्रतिस्पर्धामा उत्रिएपछि खुलातर्फका दुई महामन्त्री पदका लागि उम्मेदवारको संख्या थपिएको छ ।