
अर्घाखाँची : हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाच को हो ।
हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसियालीमा यो नाच नाच्ने परम्परा रहेको छ ।
अर्घाखाँचीका विभिन्न शक्ति पीठ तथा भगवती देवीका मन्दिरहरूमा नाचिने सरायेमा महिला तथा पुरुषहरू तरवार, खुँडा र अन्य परम्परागत हतियार हातमा लिएर पञ्चेबाजाको तालमा नाच्दै हतियार प्रदर्शन गर्छन् । देवीका प्रतीकका रूपमा मानिने आलमसमेत सहभागी गराइने यस नाचले धार्मिक आस्था र वीरताको परम्परालाई जीवन्त बनाएको छ ।
अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराये नाचको उद्गमस्थलका रूपमा लिने गरिन्छ । अर्घाको सराये नाच पञ्चाङ्ग पात्रोमा पनि समावेश भएको र यो नेपालकै प्रसिद्ध सांस्कृतिक नाचमध्ये एक रहेको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए ।
तरवार, खुँडा र अन्य परम्परागत हतियारका साथै देवीका प्रतीक आलमलाई लिएर पञ्चेबाजाको तालमा नाचिने सरायेले धार्मिक आस्था र सांस्कृतिक गौरवलाई प्रतिबिम्बित गर्ने सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका वडाध्यक्ष चुराबहादुर केसीको भनाइ छ । पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीका अनुसार तरवार, खुडा र हतियार प्रदर्शन गर्दै आलम देवीका साथमा नाचिने यस परम्पराले देवी प्रसन्न हुने धार्मिक मान्यता रहेको छ ।
बडादसैँका अवसरमा अर्घाखाँचीका विभिन्न स्थानमा निश्चित दिनमा सराये नाच्ने परम्परा छ । एकादशीको दिन सन्धिखर्क, द्वादशीका दिन शीतगङ्गा नगरपालिकाको ठाडा र भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट र भूमिकास्थान नगरपालिकाको ताराखसे, चतुर्दशीको दिन मालारानी गाउँपालिकाको रागामारे र सन्धिखर्कको कुर, कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर तथा अर्घा दरबारमा नाचिने परम्परा रहेको छ ।
दसैँमा विशेष रूपमा नाचिने सराये चैतेदसैँका अवसरमा पनि प्रदर्शन गरिन्छ । यसले वर्षौंदेखि पुस्तान्तरण हुँदै आएको अर्घाखाँचीको सांस्कृतिक सम्पदालाई निरन्तरता दिएको छ । सराये नाच केवल धार्मिक अनुष्ठान वा मनोरञ्जनमा सीमित छैन । यसले हिन्दू सांस्कृतिक परम्पराको संरक्षणसँगै विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको अर्घाखाँचीका सांसद हरिप्रसाद भुसालको भनाइ छ ।
महिला र पुरुष मात्र नभई विभिन्न जातजाति तथा समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर उत्साहपूर्वक सहभागी हुने भएकाले सराये सामाजिक एकताको प्रतीक पनि बनेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। सराये अर्घाखाँचीको नाच मात्र होइन, इतिहास, आस्था, वीरता, संस्कृति र सामाजिक सद्भावलाई एउटै लयमा जोड्ने मौलिक सम्पदा हो ।
आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेका बेला अर्घाखाँचीको सराये नाचले पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासतलाई जीवन्त राखेको छ । यसको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ ।