२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

Nada
२०८३ कार्तिक १८ गते १७:४९
Shares
नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली कांग्रेसले पार्टी नेतृत्वमाथि उठेका विभिन्न प्रश्न र आरोपहरूको सामना गर्न आफू तयार रहेको स्पष्ट पारेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वमाथि उठेका प्रश्नहरूको निष्पक्ष र विश्वसनीय ढङ्गले छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस कुनै पनि प्रश्नबाट भाग्ने पक्षमा नरहेको उल्लेख गर्दै छानबिन प्रक्रिया निष्पक्ष, कानुनसम्मत र विश्वासयोग्य हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनका क्रममा शर्माले प्रहरी हिरासतमा रहेका व्यक्तिले दिएको बयानको अडियो सार्वजनिक भएको विषयमा पनि आपत्ति जनाए । अनुसन्धानसँग सम्बन्धित गोप्य सामग्री यसरी बाहिर आउनुले सरकारको कार्यशैली र नियतमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।

उनले अनुसन्धानका क्रममा बाहिर ल्याइएका भनाइ र आरोपहरू प्रमाणका आधारमा पुष्टि हुनुपर्ने बताए । साथै, सरकारले योजनाबद्ध रूपमा सामग्री सार्वजनिक गरेर जनमानसमा भ्रम सिर्जना गर्न खोजेको आरोपसमेत लगाए ।

शर्माले सरकार र सत्तारूढ दलबीच नै एकरूपता नरहेको टिप्पणी गर्दै दुवै पक्षका अभिव्यक्तिमा विरोधाभास देखिएको बताए । सरकार पार्टीको निर्देशनअनुसार अघि बढेको दाबी गर्ने तर सत्तारूढ दलले निर्देशन नदिएको बताउने अवस्थाले अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।

उनले अपुष्ट तथा तथ्यहीन विषयलाई प्रचारमा ल्याएर राज्यका संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर