२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

आज भाइटीका, ११:०७ बजे उत्तम साइत

Nada
२०८३ कार्तिक २५ गते ०८:०६
Shares
आज भाइटीका, ११:०७ बजे उत्तम साइत

काठमाडौं : यमपञ्चकको अन्तिम दिन आज देशभर दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको पर्व भाइटीका मनाइँदैछ ।

कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन् ।

टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत परेको छ । यद्यपि, सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ ।

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै बाधा छैन । तर, राज्य सञ्चालकले भने शुभसाइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनी पूर्व, दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्छन् ।

शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको आराधना गरिन्छ ।

मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्टचिरञ्जीवीका रूपमा पूजा गर्ने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । साथै ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने चलन छ ।

बालगोपालेश्वर मन्दिर खुला दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका लगाउने प्रचलन छ । काठमाडौं महानगरपालिकाका अनुसार भक्तजनका लागि आवश्यक तयारी पूरा भएको छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन गरी टीका लगाउने पुरानो परम्परा छ । नेवार समुदायले भाइटीकालाई ‘किजापूजा’ का रूपमा मनाउँछन् । कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन् ।

भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर