
दोहा, कतार : म्याग्दीमा आएको बाढीपहिरोबाट प्रभावित तीन परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र मोना कतार बहुउद्देश्यीय अक्षयकोषले संयुक्त रूपमा ४५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बाढीबाट घरमा क्षति पुगेका मालिका गाउँपालिका–३, डाँडागाउँ औलका दुई परिवार र भोटेकोसीमा आएको बाढीमा परी अवस्था अज्ञात रहेका मालिका गाउँपालिका–४, छापाका भूपेन्द्र रेग्मीको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
मोना कतारले मालिका–३ का चिरन पुनको परिवारलाई २५ हजार र देव पुनको परिवारलाई पाँच हजार रुपैयाँ सहयोग गरेको छ । चिरन पुन मोना कतारका पूर्वसदस्यसमेत हुन् । उनको घरमा बाढीले बढी क्षति पुर्याएको थियो भने देव पुनको घरमा तुलनात्मक रूपमा कम क्षति पुगेको थियो ।
त्यस्तै, भोटेकोसीको बाढीमा परी अवस्था अज्ञात रहेका भूपेन्द्र रेग्मीकी ४५ वर्षीया आमा नरमाया रेग्मी एक्लै रहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि अक्षयकोषले उनको परिवारलाई सहयोग गरेको हो ।
मोना कतार खेलकुद विभागका सहसंयोजक कृष्ण पटेलले पीडित परिवारकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए । सहयोग प्राप्त गरेपछि पुनको परिवारले आफ्नो छोराले कर्मभूमि कतारमा गरेको सत्कर्मको फल जन्मभूमिमा यसरी प्राप्त होला भन्ने कल्पनासमेत नगरेको प्रतिक्रिया दिएको पटेलले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
विदेशमा रहेका म्याग्देलीहरू घरमै आएर अप्रत्याशित रूपमा सहयोग गर्दा आफूहरू खुसी र भावुक भएको पीडित परिवारको भनाइ थियो । मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले संस्था कतारमा मात्र सीमित नभई जन्मभूमि म्याग्दीका हरेक दुःखसुखमा साथ दिँदै आएको बताए ।
कतारमा रहेका तथा स्वदेश फर्किएका म्याग्देलीलाई आवश्यक परेको समयमा सहयोग गर्ने अभियानमा संस्था निरन्तर सक्रिय रहेको उनको भनाइ थियो ।
यसैबीच, मोना कतारले म्याग्दीका बाढीपीडितका लागि सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियान बन्द गरेको छ । संकलित बाँकी रकम छिट्टै मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गर्ने तयारी भइरहेको अभियानका संयोजक तथा मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कंडेलले जानकारी दिए ।
मोना कतारको संरक्षकत्वमा स्थापित बहुउद्देश्यीय अक्षयकोषले पनि संस्थागत उद्देश्यअनुसार विपत्तिमा परेका म्याग्देलीलाई सहयोग गर्दै आएको छ । कतारमा आबद्ध रहेका वा नरहेका तथा कतारमै रहेका वा स्वदेश फर्किएका म्याग्देलीलाई दुःखसुखमा साथ दिने उद्देश्यले कोषले मानवीय सहयोगका गतिविधि अघि बढाएको अध्यक्ष विक्रम कार्कीले बताए ।
संस्था भर्खरै स्थापना भएर विस्तारको चरणमा रहे पनि म्याग्दीका विपन्न तथा पीडितहरूको साथमा उभिने प्रयास गरिरहेको उनले बताए । म्याग्दीका साथै जिल्लाबाहिरका विभिन्न स्थानमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले संस्थाको आर्थिक तथा सांगठनिक अवस्था सुदृढ हुँदै जाँदा मानवीय सेवाका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।