२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

Nada
२०८३ मंसिर ३ गते ०९:४२
Shares
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । 

आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो । 

सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । आयोगले सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा २०८३ मंसिर २ गते निर्णय गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो ।

पद रिक्त हुनेमा मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन् ।

मधेश प्रदेशअन्तर्गत सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार महतो छन् ।

यस्तै, पर्साको कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।

कोशी प्रदेशअन्तर्गत खोटाङका आठ जना, भोजपुर, उदयपुर र सुनसरीका एक-एक जना तथा इलामका दुई जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ ।

सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

यस्तैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित स्थानीय तहका निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर