–ज्योतिलाल वन
“सत्य होइन, कथा खोज्छ मान्छे” ठिकै भन्छन् हरारी युवल नोआ हरारी । त्यसैले त, देव–देवी, राक्षस, भूत, पिचास आदिमा आधारित मिथकहरू मात्र हैनन्, परिकल्पनामा आधारित इतिहास र समाजशास्त्रहरू पनि कथात्मक छन् । यस्ता मिथक र कथाहरूले अधिकांश मानव मनमस्तिष्कलाई यति धेरै सम्मोहित बनाएको छ कि यिनले मिथक र कथालाई सत्य ठान्ने मात्र हैन, सत्यलाई झुट ठान्छन् र सत्य बताउनेलाई पापिष्ठ र फटाहा ठान्छन् । विभेद र अमानवीय वाङ्मयहरूको बखानयुक्त प्रवचन गर्नुलाई गौरवको विषय मान्न सकिँदैन ।
पङ्क्तिकारले वैदिक वाङ्मयहरूमा रहेका अन्य सकारात्मक पक्षहरूप्रति सम्मान गर्दै तीभित्र समावेश यस्ता अमानवीय पक्षहरूको मात्र विरोध गर्ने गरेको छ । वेदले शूद्रलाई परमेश्वरको पाइतालाबाट उत्पन्न भएको भनी मानवमा सबैभन्दा तल्लो तहमा गणना गर्यो । वेदान्तपछिका हिन्दु वाङ्मयहरूले शूद्रलाई उपल्ला तीन वर्णको सेवक, अछुत र मानवमध्येको सबैभन्दा नीच मानवमा परिभाषित गरे ।
स्मृतिकालीन स्मृतिहरू खासगरी मनुस्मृतिले शूद्रलाई ‘वेद सुने कानमा तातो झिर रोपिदिनु, वेद पढे जिब्रो काटिदिनु, घमन्डमा आएर द्विजलाई धर्मोपदेश गरेमा राजाले उम्लिरहेको तेल शूद्रको मुख र कानमा हालिदिनु’ भन्ने विधि विधान बनाए । अहिले कृष्ण दमाईले तीनै चरम विभेदकारी र अमानवीय वाङ्मयहरूको बखानयुक्त प्रवचन गर्नुलाई गौरवको विषय कसरी मान्नु र ?
शूद्रका सम्बन्धमा मनुस्मृतिको अष्टम अध्यायमा भनिएको छ, “यदि शूद्रले द्विजातिहरूलाई अत्यन्त कठोर वा दुष्ट वाणीमा आक्षेप लगायो भने उसको जिब्रो काटिदिनुपर्छ किनकि त्यो शूद्र नीचबाट उत्पन्न भएको हो ।” यस्तै अर्को पृष्ठमा भनिएको छ, “नाम र जाति काढेर यदि शूद्रले द्विजलाई द्रोहपूर्वक कठोर वचन भनेमा आगामा हालेर रातो पारेको दश अङ्गुल लामो फलामको फाली उसको मुखमा हालिदिनु ।” त्यति मात्र होइन, “यदि शूद्रले घमन्डमा आएर द्विजलाई धर्मोपदेश गर्यो भने राजाले उम्लिरहेको तेल शूद्रको मुख र कानमा हालिदिनु” भन्नेसम्मका कुराहरू मनुस्मृतिमा लेखिएको छ ।
वैश्य र शूद्रबाट उनीहरूको कर्म गराउनु, राजाले वैश्यबाट व्यापार, व्याजको जीविका, कृषि, पशुपालन र शूद्र जातिबाट द्विजातिहरूको सेवा गराउनु भन्ने कुरा मनुस्मृतिमा थपिएको छ । जहाँ “क्षत्रिय र वैश्यले यदि आफ्नो काम (वृत्ति)बाट आफ्नो भरण–पोषण गर्न सकेन भने ब्राह्मणले कृपापूर्वक उनीहरूबाट आफ्नो काम गराएर भरण–पोषण गर्नु”, भन्ने वाक्यांश पनि थपिएको छ ।
शूद्रबाट दासता गराउनु, “शूद्र तु कारयेद्दासयं क्रीतमक्रीतमेव वा दास्यायेव हि सृष्टोऽसौ ब्राह्मणस्य स्वयंभुवा” जस्ता कुरा हामी मनुस्मृतिमा पाउँछौँ । जहाँ दलितलाई यतिसम्म भनिएको छ कि अन्य जातिले उसलाई इच्छाअनुसार प्रयोग गर्न पाउनुमा कुनै अन्याय हुँदैन । “किनेर ल्याएको होस् वा तलब दिएर राखेको होस्, शूद्रबाट त सेवा कार्य नै गराउनु, किनकि ब्रह्माले ब्राह्मणको सेवाका लागि नै शूद्रलाई रचेका हुन्”, मनुस्मृतिमा भनिएको छ ।
“न स्वामिनानिसृष्टोऽपि शुद्रो दास्याद्विमुच्यते, निसर्गजं हि तत्तस्य कस्तस्मात्त दपोहति अर्थात् शूद्रलाई स्वामीले छाडिदिए पनि दासत्वबाट मुक्त हुन सक्दैन, दासपनको कार्य गर्नु त उसको स्वाभाविक कर्म नै हो, उसलाई दासत्वबाट कसले छुटाउन सक्छ, कसैले सक्दैन ।”, यस्ता चरम विभेदकारी र विभाजनकारी भनाइहरू मनुस्मृतिमा छन् । जसलाई शिरोधार्य गरेर समानताको कुरा गर्नु सही हुन सक्दैन । जबसम्म यस्ता कुरालाई हामी समाजबाट नामेट पार्न सक्दैनौ, तबसम्म त्यसको प्रभाव रहिरहने छ ।