२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

दलीय राजनीति र विश्वविद्यालय

ADV
२०८१ भदौ १८ गते ०६:२५
दलीय राजनीति र विश्वविद्यालय

–डा. दिबाकर वशिष्ठ

विश्वविद्यालयप्रति विद्यार्थी आकर्षण बढाउने हो भने राजनीतिक दलहरूले दलीय भागबन्डा अन्त्य गर्नु पर्दछ । योग्यता, दक्षता, क्षमता, विषय विज्ञताको आधारमा विश्वविद्यालयहरूको विभिन्न पदमा नियुक्ति गर्ने परिपाटीको विकास भएमा गुणस्तरीय शिक्षाको विकास भएमा विदेश अध्ययन गर्न जानेको लर्कोमा कमी आउने छ । विद्यार्थी र विश्वविद्यालय पदाधिकारी वा क्याम्पस प्रमुख एवम् अन्य कर्मचारीको बिचमा मित्रवत् व्यवहारले मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने हुँदा यसतर्फ कसैको ध्यान गएको देखिएन बरु तालाबन्दी, थुनछेक, धरपकड, लडाइँ, झगडा नभएको दिन पाउन कठिन छ भन्नेहरू मनग्य छन् । विश्वविद्यालयले ज्ञान उत्पादन गर्ने हो कि त्रास सिर्जना गर्ने हो भन्ने चर्चा यत्रतत्र सुनिन थालेको छ । दुदराजदेखि शिक्षा लिन आएका विद्यार्थीको भविष्य के होला भन्ने तर्फ सरोकारवालाको चासो जानु जरुरी छ । कुनै पनि पदाधिकारी वा उपकुलपति कुनै न कुनै पार्टीको छत्रछाँयामा रहनु पर्ने परिपाटीले भविष्यमा विश्वविद्यालयको हविगत के होला भनेर प्रश्न गर्ने बेला आएको छ । 

नेपालमा जति पनि दल छन्, केही बाहेक अधिकांशको आ–आफ्नै पक्षमा विद्यार्थी संगठन रहेको देखिन्छ । विद्यार्थी संगठन हुनु राम्रो हो, यो एक मात्र आधिकारिक हुनु पर्दछ तर, पार्टी पिच्छे च्याउ जस्तै उम्रेका संगठनको बलमिचाइँले गर्दा शैक्षिक वातावरण बिग्रेको देखिन्छ । सबैको चाहना वर्षौँदेखि थियो विश्व विद्यालयको शैक्षिक वातावरण राम्रो होस्, पूर्णकालीन प्राध्यापक अन्य कलेजमा क्लिनिकको रूपमा काम गर्न नजाउन, विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाइयोस्, विद्यार्थीको लागि चाहिने पुस्तकालय प्रविधिमैत्री होस् र चौबिसै घण्टा खुलोस् लगायत थियो तर, पछिल्लो समय विद्यार्थीले नै आफ्नो गुरुहरूलाई कुटपिट गर्ने, तालाबन्दी गर्नेलगायतको विवादास्पद अवस्था किन आयो भन्नेतर्फ विश्वविद्यालयका पदाधिकारीले गम्भीर भई यस सम्बन्धमा खोज अनुसन्धान गर्नुपर्ने वेला आएको छ । राजनीतिक शक्ति र पाखुराको बलमा पद हत्याउन विधि स्थापित भयो भने आगामी दिनमा विश्वविद्यालयमा विद्यार्थी खोज्न टर्च बाल्नु पर्ने एकातर्फ देखिने अवस्था छ भने अर्कोतर्फ विश्वविद्यालयको वरियता अन्तर्राष्ट्रिय क्षेत्रमा दिनानुदिन खस्केको देख्न सकिन्छ । 

देशको सबैभन्दा जेठो र लोकप्रिय त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था भएन गरिदिनु पर्‍यो भनेर शिक्षा मन्त्रीले नै हार गुहार गर्नुले कतै आफ्नै दलका विद्यार्थी संगठनहरू आफैलाई घाँडो त भएन भन्ने प्रश्न गर्नेहरू पनि मनग्य देखिन्छन् । एकातर्फ दण्डहीनता मौलाउँदै जाने, अर्कोतर्फ राजनीतिक हस्तक्षेप जारी रहने हो भने कुनै दिन विश्वविद्यालयको भवन र कर्मचारी रहने तर, विद्यार्थी नरहने अवस्था नआउला भन्न सकिँदैन । अहिले पनि विद्यार्थी अभावमा त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालय समेत प्रभावित भइरहेको अवस्था छ । विश्व विद्यालयको प्रमुख समस्या भनेको सुशासन र छिटोछरितो सेवा एवम् शैक्षिक गुणस्तर नै हो भन्नेहरूको बाहुल्यता छ, त्यसो त अरू सयौँ समस्याहरू यथावत् नै होलान् जसको समाधान हालको नेतृत्वले गर्ला भन्ने आस र भरोसा धेरैमा थियो तर, हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुने छाँट देखिँदैछ ।

विद्यार्थी भनेको भगवान हुन जसलाई विश्व विद्यालयको ग्राहकको रूपमा हेर्नु पर्दछ के सधैँ बेथिति कायम रहेमा विद्यार्थी रुष्ट भई आन्दोलन गर्नुको विकल्प हुन्छ र ? विश्व विद्यालयको वि.स. २०७७ को तथ्यांकलाई आधार मान्ने हो भने कुल विश्व विद्यालय ११, आङ्गिक कलेजहरूको सङ्ख्या चिकित्सा सहित करिब १४४१ देखिन्छ भने करिब ४ लाख ५० हजार विद्यार्थी अध्ययनरत देखिन्छन् तर हाल सर्वेक्षण गर्ने हो भने के यो संख्यामा विद्यार्थी होलान् र भन्नेहरूको कमी छैन । 
प्रधानमन्त्री र मन्त्रीहरूले समेत त्रिविवि सुधारको लागि उपकुलपतिलगायतका अन्य पदहरूमा समेत निष्पक्ष छनोट गर्नुपर्ने कुरामा जोडतोडले लागेका थिए तर, पनि नेपालका राजनेताहरू जनपक्षिय कुरा बोल्ने सस्तो लोकप्रियता एक छिनको लागि हासिल गर्ने तर, कार्यान्वयन गर्दा परम्परावादी सोच अर्थात् हाम्रो जति राम्रो भन्ने आधारमा नै नियुक्ति गर्ने सोच रहेसम्म सुधारको कल्पना गर्न सकिँदैन । बौद्धिक पलायन रोक्न नसकिएको, विद्यार्थी विदेश पढ्न जानेको लर्को लागेको, शैक्षिक क्यालेन्डर बनाई कार्य नगरेको, गुणस्तरीय शिक्षा नभएको, व्यावसायिक शिक्षामा जोड नभएको हुँदा विश्व विद्यालय किन चाहियो र भन्ने आवाज दिन प्रतिदिन उठ्नुले आम शिक्षा प्रेमीलाई चिन्तित बनाएको भएता पनि केही पक्षहरू जस्तै क्यालेन्डर लागु गर्नेलगायतमा भने सुधारको संकेत देखिएको छ । मेरो व्यक्ति आए विश्वविद्यालय सुधार हुन्छ अन्य आए हुँदैन भन्नेहरू पनि देखिन्छन् । विश्वविद्यालयको समग्र प्रणालीमा सुधार हुनु पर्दछ भन्नेहरूको सङ्ख्या पनि मनग्य देखिन्छ । समग्रमा हेर्दा, कुनै पनि विश्वविद्यालयको सफलता त्यहाँ कार्यरत कर्मचारी, प्राध्यापक र विद्यार्थीको एकताले मात्र सम्भव छ, त्यस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप बन्द गरी मेरो होइन कि हाम्रो भन्ने सोचको आधारमा निष्पक्ष र स्वतन्त्र व्यक्ति (जो दलको कार्यकर्ता होइन)लाई छनोट गर्न सकेमा सुधार र सफलता भन्ने कुरा टाढा छैन । विश्व विद्यालयको प्रणालीगत सुधारको लागि कुनै एक्लै व्यक्तिबाट सम्भव हुँदैन तर, उपकुलपतिको नेतृत्वमा आउने व्यक्तिले ।

प्रशासनिक पद रेक्टर, त्रिविवि सेवा आयोग, विद्यार्थी संगठनहरू, प्राध्यापक, कर्मचारीलगायतलाई एकीकृत गरी आफ्नो प्रगतिशील सोच र लक्ष्य एवम् योजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालिनरूपमा विभाजन गरी प्रविधिमा जोड दिँदै दृढ इच्छा शक्तिका साथ कार्यान्वयनमा जान सक्यो भने मात्र विश्वविद्यालयको सुधार हुनेछ भन्नेमा कसैको दुई मत नहोला । 

आज विश्वविद्यालयमा कसैको दबाब र प्रभावले काम गर्ने व्यक्तिभन्दा पनि निष्पक्ष र दक्ष व्यक्तिको खाँचो छ । भागबन्डाले विश्वविद्यालय थिलो–थिलो बनाएको छ । तसर्थ, विश्वविद्यालयको खास समस्या के हो ? विद्यार्थीको आकर्षण किन घटेको ? उपकुलपति कस्तो व्यक्ति हुनुपर्ने भन्ने विषयमा समाजका बौद्धिक वर्गमा चर्चा हुनु स्वाभाविक मानिन्छ । नेपाली र विश्व बजारले कुन विषय र दक्षता खोजेको छ ? परीक्षा प्रणालीमा किन सुधार हुँदैन ? नतिजा किन ढिला ? दलप्रति झुकाव भएको व्यक्ति नै किन ? खुला प्रतिस्पर्धामा निष्पक्षता हुने कि नहुने ? दक्ष प्राध्यापक र कर्मचारीमा नैरास्यता किन ? राइट म्यान राइट प्लेसको अवधारणा किन लागु हुँदैन ? विश्वविद्यालय र कलेजहरू किन रित्तिएका ? विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुन किन नसकेको ? विश्व र्याङ्किङ्ग किन पछि पर्दै गएको ? विश्वविद्यालयको प्रचार प्रसार किन नभएको ? विदेशी सम्बन्धनका कलेज किन विस्तार भएको र त्यहाँ विद्यार्थी सङ्ख्या किन बढेको ? त्रिविविलगायत अन्य विश्वविद्यालयप्रति विश्वास बढाउन के गर्ने ? विश्वविद्यालयमा हुने बारम्बारको तालाबन्दी, आन्दोलन र तोडफोडलाई रोक्न के गर्ने ? अधिकार भने खोज्ने तर, कर्तव्यको पालना नगर्ने कर्मचारी तथा शिक्षकलाई के–कस्तो दण्ड दिने ? भन्ने सम्बन्धमा बौद्धिक वर्ग र शिक्षा मन्त्रालयबिच गोलमेच सम्मेलनको जरुरी भइसकेको छ । 

उपकुलपतिलगायत विश्वविद्यालयका पदाधिकारीहरूको कार्य विश्वविद्यालयको समग्र छवि सुधार गर्नतर्फ लाग्नु अहिलेको आवश्यकता हो । तलब तथा सुविधालाई परिमार्जन गर्ने, सेवा आयोग र उपकुलपतिबिचमा समन्वय स्थापित गर्ने, राजनीतिक आस र त्रासलाई हटाउनु पर्ने, बेथिति र विसङ्गतिलाई हटाउनु पर्ने, विद्यार्थी एवम् कर्मचारी मैत्री नीति नियमको निर्धारण र सहभागितामूलक व्यवस्थापनको अवधारणा अघि सार्ने विषय सबैभन्दा महत्वपूर्ण देखिन्छ ।

विश्वविद्यालयमा हाजिर गरेर निजी कलेजमा पनि कक्षा लिई तलब भत्ता बुझ्ने जस्ता कार्यलाई दण्डनीय बनाउन आवश्यक छ । यसैगरी, सेवा आयोगलाई पारदर्शी र निष्पक्ष बनाउने र तदनुरूप कर्मचारी एवम् प्राध्यापकको नियुक्तिको व्यवस्था गर्नेतर्फ लाग्न ढिला गर्न हुँदैन । उपकुलपति पदको गरिमालाई बढाउन राजनीतिक भागबन्डाको परिवेशमा फस्ने अवस्था रोकिनुपर्छ । विद्यार्थी सङ्ख्या र उनीहरूको शैक्षिक गुणस्तर बढाउन तत्काल योजना बनाउने, सोध र अनुसन्धानमा प्राध्यापकहरूलाई खटाउने, समकक्षता निर्धारण एवम् त्रिविविका सबै प्रशासनिक कार्यहरू बिना झन्झट छिटो छरिता सम्पादन हुने व्यवस्था मिलाउने जस्ता कार्य तत्कालै अघि बढाउन आवश्यक छ । 

त्रिविविमा सोध ग्रन्थ अर्थात् थेसिसको गुणस्तर कायम गराउने, पाठ्यक्रममा समयानुकूल परिवर्तन गरी विद्यार्थीले अध्ययन गर्न विदेश जान नपर्ने गरी परिमार्जन गर्ने, विदेशी विद्यार्थीलाई आकर्षण गर्ने योजना बनाउन आवश्यक छ । जसका लागि विभिन्न पदमा रहनु भएका शिक्षकको कार्य सम्पादन मूल्याङ्कन, वृत्ति विकास, उत्प्रेरणा जस्ता कुरामा तत्काल नीति परिमार्जन गरी कार्यान्वयन गर्ने, विश्वविद्यालय र आङ्गिक क्याम्पसमा मुस्कानसहितको सेवालाई जोडतोडका साथ अघि बढाउने, विद्यार्थी विश्वविद्यालयको भरपर्दो ग्राहक भएको हुँदा उनीहरूसँग मैत्रीपूर्ण व्यवहार गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिने जस्ता कुरामा दृढतापूर्वक उभिनु पर्छ । आज विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण गर्नु पनि टड्कारो आवश्यकता देखिन्छ । विश्वविद्यालयका उपकुलपति, सेवा आयोग, रेक्टर, रजिस्ट्रार, परीक्षा नियन्त्रक र अन्य विभागीय प्रमुखहरूको बिचमा साप्ताहिक अन्तरक्रियाको व्यवस्था गरी विश्वविद्यालयको नीति निर्धारण गर्ने, शिक्षाविद्हरूसँगको अन्तरक्रिया, सरकार र अन्य स्टेक होल्डरसँगको छलफल, स्वदेशमै रोजगार विस्तार गर्न कस्तो जनशक्ति उत्पादन गर्ने र कसरी रोजगारीको सुनिश्चितता गर्ने जस्ता सवालमा नियमित बहस गर्न सकेमा मात्र व्रेनड्रेन र विद्यार्थीको विदेश पलायनलाई रोक्न सकिन्छ भन्ने कुरामा कसैको विमति नरहला । 

(डा. वशिष्ठ नेशनल ओपन कलेजका पूर्व प्राचार्य हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise