–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सत्य युगमा नेपालको नाम सत्यपुर, त्रेतामा तपोवन, द्वापर युगमा मुक्तिपुर हुँदै हाल कलियुगमा यसको नाम नेपाल रहेको छ । न्यायले नागरिकको रक्षा हुने अर्थमा न्यायेन पाल्यते इति नेपालः भन्ने अर्थ लगाई यो देशको नाम नेपाल रहेको हो । विभिन्न पुराण एवम् वंशावलीको अध्ययन गर्दा नेपाल खासगरी काठमाडौँ उपत्यकाको विशद् चर्चा भएको देखिन्छ । भाद्र शुक्ल पक्षका पछिल्ला तीन दिनहरू इन्द्रध्वजोत्थान, अनन्त चतुर्दशी, कुमारी यात्रा आदिले प्रसिद्धि पाएको छ । हाम्रो आदिम स्रोत वेद हो । वेद मध्ये ऋग्वेदका अधिकांश ऋचाहरूले देवताका राजा इन्द्रका प्रशस्तिहरू गाएका छन् । असत्यका प्रतीक असुरहरूसँग इन्द्रले युद्ध गरेको र श्रीविष्णुले युद्ध जित्न ध्वजा दिएको, त्यो ध्वजाको नाम इन्द्र ध्वजा रहेको, इन्द्रले युद्ध जित्दा त्यही ध्वजा प्रयोग गरेको विजयी भएको र उत्सवको रूपमा चलन चल्तीमा रहेको इन्द्रध्वजोत्सव अहिलेसम्म काठमाडौँमा पर्वकै रूपमा चल्दै आएको छ ।
वर्षाका देवताका रूपमा पनि हेरिने इन्द्रको प्रशंसा गर्दै जसले इन्द्रध्वजोत्सव मनाउँछन्, त्यहाँ त्यो क्षेत्रमा वर्षा राम्रै हुने, अनाज पर्याप्त हुने, कृषि, गोरक्ष हुने, महामारी नहुने, अनिकाल नपर्ने भन्दै कहीँ कतैबाट शत्रु भय पनि नहुने भनी प्राचीनकालदेखि नै काठमाडौँमा इन्द्र उत्सव गरिँदै आएको चर्चा विष्णुधर्मोत्तर ग्रन्थमा भेटिन्छ । प्रताप मल्लको शिलालेख हेर्दा पनि सो कुराको पुष्टि हुन्छ भने इन्द्रध्वजोत्सव पर्वलाई नै इन्द्रजात्राको रूप दिइएको मान्न सकिन्छ । भाद्र शुक्ल द्वादशीदेखि नै यो जात्राको सुरु हुन्छ । लिङ्गो ठड्याउने जात्राको नामले परिचित यसका लागि काभ्रेको सल्लाघारीबाट सात दिन अघि नै न्यूनतम ३३ र अधिकतम ६३ फिटसम्मको सोझो रुख काटेर ल्याइन्छ । लिङ्गो काट्नुअघि पशुवलि दिइने र पहिलो दिन त्यो रुखलाई भक्तपुरको थिमी र अर्को दिन काठमाडौँको भोटाहिटीमा राखी द्वादशीका दिन भने हनुमान ढोकामा लगिन्छ रातो कपडाले बेर्दै शृङ्गार, घण्टा, चमर राख्दै हर्ष बढाइँ गर्दै बाजा गाजाका साथ त्यहाँ विधिपूर्वक लिङ्गो ठड्याइन्छ । यता रातमा भने इन्द्रचोकमा रहेका आकाश भैरवलाई भव्य सजाएर राखिएको मूर्तिलाई झिलिमिली बत्ती र राम्रो सजावटका साथ ल्याएर त्यहीँ राखिन्छ ।
को हुन् आकाश भैरव ?
धेरै पहिले काठमाडौँमा किराँती राजा यलम्बरले राजकाज गर्दै थिए । द्वापर युगमा कौरव र पाण्डव सेना बिच महाभारतको युद्ध भयो, १८ दिनसम्म । महाभारतमा श्रीकृष्णले युद्ध जित्न काठमाडौँको किरातेश्वर, कैलाशक्षेत्रमा आई श्रीपशुपतिनाथलाई खुसी गराई पाशुपत अश्त्र लिन अर्जुनलाई भनेका थिए र उनले लगे पनि । छिमेकमा युद्ध हुँदा यहाँका यलम्बर पनि चूप बस्न सकेनन्, दैवी शक्ति पनि रहेकाले जुन पक्ष कमजोर हुन्छ सो पक्षको साथ दिन्छु भनी उनले घोषणा गरे । महाभारतमा पाण्डवलाई विजय गराउनु थियो । श्रीकृष्णले पाण्डव पक्षलाई साथ दिएका दिए । राजा यलम्बर भने कौरवतिर लागेको थाहा भयो । विपक्षीसँग लागेको भन्दै श्रीकृष्णले सुदर्शन चक्र प्रहार गरी यलम्बरको हत्या गरिदिए । शिर उछिट्टिएर आकाशतिर गयो र युद्ध हेरि नै रह्यो । युद्ध सकियो, यलम्बरको शिरभाग काठमाडौंमै झ¥यो आकाशबाट झरेको बलियो मूर्ति भैरवको रूपमा, काठमाडौंबासीले उनको शिरभागलाई पूजा गरे, आकाशभैरवको मूर्ति भनी स्थापना गरे, अद्यापि उनको पूजा हुँदैछ, भव्य मन्दिर पनि छ, इन्द्रचोकैमा !
आसुरी शक्तिको अन्त्य र दैवी शक्तिको उदयस्वरूप मनाइने इन्द्र जात्रालाई अहिलेसम्म राष्ट्रिय पर्वको रूपमा हेर्ने चलन छ । शाह बंशीय राजाहरू त्यहाँ आमन्त्रित हुन्थे र इन्द्रजात्रामा, कुमारी, आकाश भैरव, बटुक भैरवको दर्शन गर्थे । हाल पनि राष्ट्र प्रमुखसमेतको उपस्थितिमा भनौँ सरकारी स्तरबाटै यो पर्व मनाउने गरिएको छ । काठमाडौंका अन्तिम मल्ल राजा इन्द्रजात्रा महोत्सवमा लागेकै बेला पारी गोरखाका पृथ्वीनारायण शाहले हनुमान ढोकालाई तीन तिरबाट घेरा हाली कब्जा गरेका हुन् । पृथ्वी नारायणले यो जात्रा परम्परालाई भने निरन्तरता दिए । इन्द्रजात्रामा कुमारी घरमा रहेकी कुमारीलाई पनि झकिझकाउ पारेर हनुमान ढोकामै राखिन्छ । अघिल्लो दिन त्रयोदशीदेखि भव्यरूपमा सुरु हुने यो जात्रा भोलिपल्ट चतुर्दशीका दिन उत्कर्षमा पुग्छ, बडो रमाइलो हुन्छ रथ तान्ने घुमाउने गरिन्छ । जीवित देवीलाई कुमारी मान्ने बौद्ध परम्परा पनि हो, यसबाट पहिलेदेखि नै नेपालमा हिन्दु, बौद्धमार्गीहरूको सामीप्यताको पुष्टि हुन्छ । कुमारी भने शाक्य कुलबाट छनौट गरिन्छ । गणेश, भैरवको मूर्ति कलात्मक रथमा राखी जात्रा मनाइन्छ, यो क्रम तीन दिनसम्म चलिरहन्छ पछिल्लो दिन प्रसाद वितरण भई जात्रा बिसर्जन हुन्छ ।
को हुन् कुमारी ?
कुमारीलाई जिउँदो देवीका रूपमा मानिन्छ । पहिलेका राजाहरू धार्मिक थिए र दैवी शक्तिसँग बस् उठ् गर्न सक्थे भनिन्छ । भक्तपुरमा राजा थिए जगज्योतिमल्ल, उनी त्रैलोक्य मल्लका छोरा हुन् । भक्तपुरकी प्रसिद्ध देवी हुन् तुलजा भवानी । अहिले पनि तुलजाको भव्य मन्दिर छ हरेक दशैँमा विशेष पूजा हुन्छ, जमरा प्रसाद लाउने चलन शाहबंशीय राजाहरूले कायमै राखे । जगज्योति मल्लसँग खुसी भएकी तुलजा भवानी स्त्रीरूप लिएर पासा खेल्न आउने गर्थिन् । अलौकिक शक्ति जस्तो लागेर मानिसहरूले बढी निन्दो चर्चो गर्न थालेछन्, त्यो कुरा उनलाई थाहा भएछ र उनले अब यसरी पाशा खेल्न नआउने र मलाई तिमीले नदेख्ने, देख्ने इच्छा भए कुनै शुद्र छोरी ल्याई पूजा गर्नू, म उनैसँग रहेकी हुन्छु भनी सपनामा भनिछन् । राजकुमार दिक्क त भए तर, तुलजाकै रूप प्रत्यक्ष देखिने भनेपछि कुमारी पूजा प्रथाको शुरुवात गरिदिएछन् । अहिले पनि हरेक देवी मन्दिरहरूमा अष्टमातृका भनौँ माहेश्वरी, ब्रह्मायणी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महालक्ष्मी, चामुण्डाका मूर्तिहरू देखिन्छन्, यी कुमारीकै प्रतिमूर्ति हुन् ।
एक अर्को जन विश्वासअनुसार एक मल्ल राजासँग हीराको एउटा यन्त्र थियो, राजाले त्यो यन्त्रको भव्य पूजा गर्ने गर्थै । त्यो यन्त्र ध्वनिकै भरमा देवी देवतासँग प्रत्यक्ष कुराकानी गर्थे । त्यो यन्त्र विशेष किसिमको थियो र त्यसलाई कुनै स्त्रीलाई नदेखाउनु भनिएको रहेछ । राजाले दरबारका सबैलाई त्यो यन्त्र नहेर्नु भनेका रहेछन् । राजाकी छोरीले उत्सुकताले त्यो यन्त्र हेरिछन्, त्यसै दिनदेखि राजा देवीसँग वार्ता गर्न नसक्ने भएछन् । राजालाई शोक परेको देखेर देवीले सपनामा भनिछन् अबदेखि कुनै शाक्यकुलकी कन्यालाई भक्तिपूर्वक कुमारी मानेर पूजा गर म त्यही कुमारीकै रूपमा भइरहनेछु । राजाले सपनामा भनिएअनुसार गरे, कुमारीको रथ जात्राको चलन पनि चलाए, मल्लकालीन समयको कुरा हो यो !
बसन्तपुरस्थित कुमारी घरको निर्माणको श्रेय पाउने र कुमारी रथ जात्रा सुरु गराउनेमा पर्दछन् जयप्रकाश मल्ल ! वि.सं. १८०३ देखि चार वर्ष उनी गद्दीबाट हटाइएपछि उनले कुमारीको दर्शन पाए, गुमेको गद्दी पनि पाए । गद्दी पाएको लामो समय व्यतीत हुँदा पनि कुमारीप्रति उनले केही काम गर्न सकेनछन् । उनको श्रद्धा बुझ्न एक मानिसमा प्रवेश गरी कुमारी दरबार गइछन् । राजाले चिनेनन्, गएकालाई मार्न लगाएछन् । सपनामा कुमारीले भनिछन्, म बेखुसी भएँ, तिमीले चिनेनौ, अब तिम्रो राज्य खोसिन्छ । कुमारीको रथ, घर, जात्रा सबै उनले चलाए तर केही समयपछि इन्द्रजात्राकै दिन जयप्रकाश मल्लको हार भयो । पृथ्वीनारायण शाहले काठमाडौँ हात लगाए । यो जात्राको चलन अहिले पनि छ । पहिलो दिनको जात्रालाई कोनेपा भनिन्छ, गद्दी बैठकबाट रथ निकालिन्छ जैसिदेवल, लगन, भीमसेनस्थान हुँदै रथ हनुमानढोका फर्काइन्छ । दोस्रो दिनलाई थनेपा भनिन्छ, गद्दी बैठकबाट रथ निकाली नरदेवी, बाँगेमुडा, असन, इन्द्रचोक हुँदै फर्काइन्छ । तेस्रो दिनलाई नानीचा जात्रा भनिन्छ, राजाकी एक रानीको नाम नानीचा भएकीले उनका माइतीबाट पनि रथ जात्रा गर्ने प्रस्तावअनुसार यो जात्रा निकाल्न थालिएछ । तेस्रो दिनमा कुमारी जात्रा विसर्जित हुन्छ । राजा जयप्रकाशले कुमारीलाई खुसी बनाउन कुमारी घर निर्माण, धेरै पशुबलिको चलन चलाए तर, उनको गद्दी रहन भने सकेन ।