२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

प्रेरणाका स्रोत विशाल

ADV
अस्मिता बम
२०८१ भदौ २७ गते ०६:५०
प्रेरणाका स्रोत विशाल

काठमाडौं : अगाडि मान्छे देख्दा चिडचिडाहट, एक्लोपन प्यारो, हरेक रात अनिदो, खानाको सट्टा लागुऔषध, छटपटी, आफैंदेखि आजित र समाजदेखि त्रसित..., विशाल भट्टराईको आठ वर्ष पहिलेको दैनिकी यस्तै थियो । कक्षा ६ बाटै चुरोट खान थालेका विशाललाई थाहा पनि थिएन आफू लागुऔषधको अम्मली हुन्छु भनेर । 

रमाइलो र आफू अरुको अगाडि ‘हिरो’ बन्न तान्न थालेकाे चुरोटको लतमा पुगेका विशाल गाँजा हुँदै ड्रग्ससम्म पुगे । करिब ११ वर्ष दुर्व्यसनीमै रहे । 

हाल दुर्व्यसनीबाट मुक्त भएका विशाल सम्झिन्छन्, ‘सानैबाट झगडा गर्दै हिड्ने, अरुको अगाडि स्मार्ट बन्न खोज्ने, चुरोट खाएपछि हिरो नै सोचिने अनि यस्तैबाट बानी पर्ने हो ।’

झापा घर भएका भट्टराई विद्यालयको पढाइमा राम्रै भएपनि आफ्नोभन्दा माथिल्लो कक्षाका छात्रहरुको संगतका कारण दुर्व्यसनीमा फसेको बताउँछन् । 

‘स्मार्ट बन्न खोज्ने मात्र होइन, संगत पनि ठूला–बडाकै । राम्रोभन्दा पनि नराम्रो गरेँ भने सबैको नजर मैमाथि हुन्छु भन्ने मानसिकता । यस्तैमा स्कुलका सिनियर दाइहरुकै संगतमा लागेर आठ कक्षा पढ्दाबाटै गाँजा पनि खान थालेको थिएँ’, उनले भने । 

एसएलसी दिँदासम्म गाँजाको लत नभएपनि त्यसपछि भने बानी नै परेको उनी बताउँछन् । ‘दशसम्म पढ्दा अलिअलि गाँजा खाइन्थ्यो । गाँजा खान थालेपछि आफ्नो अवस्था झन्–झन् विग्रदै गयो । त्यसपछि त नखाइ बस्नै नसकिने अवस्थामा पुगिहाले, लुकेरै खाने, कसैले देख्छ कि, थाहा पाउँछ कि भन्ने भन्ने डर उस्तै’, विगत सम्झिँदै विशालले भने । 

यस्तो अवस्था बनिसक्दा पनि घरमा कसैलाई थाहा नभएको उनले बताए । पढाइको बहानामै घरबाट निस्किएर समूह नै बनाएर गाँजा तानेको पनि उनलाई हिजो जस्तै लाग्छ । 

उनी भन्छन्, ‘पढ्ने बेलामा पढाइको बहाना, काम गर्न थालेपछि कामको, जसरी हुन्छ समय निकाल्ने खाइहाल्ने । नखाइ केही गर्नै नसकिने र काममा पनि ध्यान केन्द्रित नहुने ।’

पच्चिस वर्षको उमेरतिर कामका लागि इलाम जानु पर्ने भएदेखि दुर्व्यसनीले ठूलो रुप लिएको पनि उनी बताउँछन् । उनी भन्छन्, ‘घर झापा कामको लागि इलाम जानुपर्ने, घरबाट खाँदिन भनेर कसम खाएर निस्केपनि बिर्तामोड क्रस गरेपछि इलाम जानुपर्ने मान्छे सिधै काँकडभिट्टाको पानी ट्याङ्की हुँदै इन्डियाको नाका पुग्थेँ र ड्रग्स तान्न थाल्थेँ ।’

दुर्व्यसनीमा फसिसकेकाहरुका तीन प्रकारका मात्रै इच्छा हुने गरेको बताउँदै उनले भने, ‘दुर्व्यसनीको बेला शारीरिक, मानसिक र वातावरणीय गरी तीन प्रकारका क्रेभिङ हुन्छन् ।’ 

शारीरिकमा लागुऔषध सेवन गर्न नपाए सुत्नै नसकिने, जीउ दुख्ने, छटपटी हुने, पसिना आउने, सिगान बग्ने र ज्वरो आउने जस्ता लक्षण देखिने उनले बताए । साथै, मानसिकमा लागुऔषधको याद आउने, अरुले त्यसकै बारेमा कुरा गरेको सुन्दा पनि खाउँ–खाउँ लाग्ने र वातावरणीयमा कहीँ–कतै देखे वा अरुले खाएको देख्दा पनि खान मन लाग्ने जस्ता लक्षणहरु हुने गरेको उनको भनाइ थियो । त्यस बेला उनका पनि यी तीन वटै इच्छा थिए ।

यसपश्चात् शारीरिकरुपमा पनि लक्षण देखिन थालेकाले सबैले दुर्व्यसनीमा फसेको थाहा पाएको उनको भनाइ थियो । उनले भने, ‘चौबिस/पच्चिस वर्षको हुँदासम्म चुरोट र गाँजामै सीमित थिए । त्यसपछि विभिन्न किसिमका केमिकल प्रयोग गर्न थाले, रक्सी पनि खाने, ब्राउन सुगर तान्न थाले अनि उठ्नै नसक्ने अवस्थामा पुगे, शरीर दुब्लो, अनुहार पनि कालो ।’

आफू यो अवस्थाबाट करिब दुई वर्ष गुज्रिएको उनी बताउँछन् । सो समयमा आफ्नो बुबाबाट पाएको साथले आफू विगत छ वर्षदेखि दुर्व्यसनमा फसेकाहरुको पुनर्स्थापनाका लागि सञ्चालनमा रहेको ‘नार्कोनन नेपाल’ नामक संस्थामा कार्यरत रहेको पनि उनले बताए । 

‘घरमा बुबा, आमा, दाइ र भाइ । मेरो अवस्था देखेर सबै तनाबमा । घरमै सुधार्न सकिन्छ कि भनेर सम्झाउनुहुन्थ्यो । तर म नसा गर्न नपाएर छटपटिन्थे, रिसाउँथे, झगडा गर्थेँ । सबैसँगको सम्बन्ध पनि लगभग बिग्रि सक्याथ्यो । बुबाले भने कसरी हुन्छ सुधार्नै पर्छ भनेर दुर्व्यसनीबाट मुक्त हुने कुराहरुको खोजी गर्नुहुन्थ्यो’, पश्चातापपूर्ण बोलीमा विशालले भने । 

यसैक्रममा उनका बुबाले काठमाडौंको बूढानीलकण्ठस्थित हात्तिगौंडामा रहेको नार्कोननमा ल्याएर आफूलाई भर्ना गरेको उनी बताउँछन् । नार्कोननमा भर्ना भएको दुई वर्ष पछि आफू पूर्ण रुपमा दुर्व्यसनी मुक्त भएको उनले बताए । ‘शारीरिक रुपमा त दुई महिनामै दुर्व्यसनी मुक्त भइसकेको थिए । तर मानसिक रुपमा ठिक भए म भन्ने महसुस हुन दुई वर्ष लाग्यो’, उनले खुसी साटे । 

दुर्व्यसनीको अवस्थाबाट बाहिर निस्किएपछि नार्कोननले अन्य दुर्व्यसनीमा फसेकाहरुको अवस्था सुधारका लागि लिन पठाउने गरेको पनि उनको भनाइ छ । ‘दुई वर्ष जति पुग्दै थियो । गुरुहरुसँग (थेरापिस्टहरु) एउटा भाइलाई लिन धरान गाथ्यौं । भाइलाई लिएर आउँदा ऊ बसेको कोठामा ब्राउन सुगर रैछ । अरु बेला गुरुबाहरुले नै समाउनुहुन्थ्यो त्यस्तो चिजहरु । त्यो दिन मैले आफै टिपे र खल्तिमा हाले । तर धरानबाट भक्तपुर पुग्दासम्म मेरो खल्तीमा ब्राउन सुगर छ भन्ने याद पनि भएन । त्यसपछि याद आयो र मैले झिकेर गुरुबालाई दिए । त्यो दिनको बेलुका फिल गरेँ, साच्चै दुर्व्यसनीबाट मुक्त भएछु भन्ने’, आफ्नो पृष्ठभूमि सुनाए उनले ।

विशाल अहिले नार्कोननमै रहेर दुर्व्यसनीमा फसेकाहरुलाई उपचार गराउनुका साथै दुर्व्यसनीको विषयमा जनचेतना पनि फैलाइरहेका छन् । 

यस्तैमा दुर्व्यसनी खराब बानीबाट शुरु हुने भएकाले यसलाई आफूमा लागू नगर्न सबैमा उनको आग्रह पनि छ । साथै हालको परिवेशमा नसाजन्य चिजबस्तुहरुको किनबेच सरल रुपमा भइरहेकाले र सामाजिक सञ्जालहरुका कारण पनि लागुऔषधको दुष्प्रचार भइरहेकाले सानै उमेरमा कुलतमा फस्नेहरुको संख्या बढिरहेको उनको भनाइ छ । यसलाई रोक्न विद्यालय स्तरमा नै दुर्व्यसनीका पाठ्यक्रमहरु समावेश गराइनुपर्नेमा र अभिभावकहरुले पनि बढीभन्दा बढी समय आफ्ना नानीबाबुहरुलाई दिनुपर्नेमा उनको जोड छ । 

नार्कोनन नेपालका कार्यकारी निर्देशक बसन्त राज कुँवर दुर्व्यसनीलाई विश्वका अधिकांश व्यक्तिहरुले रोगको उपमा दिएकोप्रति आपत्ति जनाउँदै भन्छन्, ‘कतिपयले ड्रग्स लिनेहरुलाई थुन्नु पर्छ, मार्नु पर्छ, सुध्रिन्नन् ड्रग्स खान दिनुपर्छ, मानसिक रोगी हुन्, आफूलाई नि हानी गर्छन् अरुलाई पनि भनेका छन् । तर नार्कोननले यसलाई रोग नभनी खराब बानीको रुपमा लिएर दुर्व्यसनीमा फसेकाहरुलाई सुधार गर्ने गर्छ ।’ 

दुर्व्यसनीको चक्र लामो भयो भने त्यसलाई सुधार गर्न नसकिने पनि उनको भनाइ थियो । त्यस्तो अवस्था आए स्वास्थ्य बिग्रिने, औसतमा दश वर्षमा मृत्यु, पढाइ, करियर र पारिवारिक जीवन सकिनुका साथै सामाजिक मर्यादा समेत समाप्त हुने उनले औंल्याए । त्यसकारण त्यस्तो हुन नदिन दुर्व्यसनीमा फसेकाहरुलाई ल्याई शुरुमा बानीमा नियन्त्रण गर्न सिकाउने, त्यसपश्चात् शरीरमा रहेको नसाजन्य वस्तु निकालि आफूलाई सन्तुलनमा राख्न सिकाउने र विस्तारै जीवनको औचित्यबारे सम्झाएर, अध्यापन गराएर सुधार गरिने गरेको उनले बताए । 

साथै लागुऔषधको व्यापार वैधानिक, नियन्त्रित र अवैधानिक गरी तीन तरिकाबाट हुने गरेको बताउँदै कुँवरले भने, ‘वैधानिकरुपमा बेच्दा पैसा त कमाइने भो तर प्रतिस्पर्धा हुने भयो । नियन्त्रितमा डाक्टरले लेखेपछि खानेमा अलि बढी पैसा जाने भो तर अवैधानिकमा जति पैसा भनेपनि भयो । त्यसकारण यसका व्यापारीहरुले कुन उमेर समूहका व्यक्तिहरुलाई कुलतमा फसाउन सजिलो छ भनेर खोजीनीति गर्छन् । गाँजा र चरेसका लागि आठदेखि चौध उमेरकाहरुलाई र रक्सी २४ वर्षभन्दा माथिकाहरुलाई टारगेट गर्छन् ।

यस्तै उनले नार्कोनन दुर्व्यसनीको सुधार र पुनर्स्थापना गर्ने विश्वविद्यालय रहेको बताउँदै भने, ‘यता तीन थरी मान्छे आउँछन्, एउटा दुर्व्यसनीको विषयमा विज्ञ हुन चाहने, दोस्रोमा दुर्व्यसनी नियन्त्रण गर्न सिकेर सुधार केन्द्र खोल्छु भन्ने र अर्का आफूलाई सुधार्न चाहने ।’

ADVADV

सम्बन्धित खबर

Advertise