२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

देशको गौरव र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति हो : राष्ट्रपति पौडेल

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १२:५२
देशको गौरव र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति हो : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवम् रैथाने ज्ञान परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उनले भने । 

उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । “भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवम् कलात्मक अभिव्यक्ति हो, साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौं युगसम्म जीवित राख्ने काम पनि गर्छ”, राष्ट्रपति पौडेलले भने । 

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उनको भनाइ थियो । “साहित्यको यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको महत्वपूर्ण भूमिका रहेको हुन्छ”, राष्ट्रपति पौडेलले भने ।  

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उनको भनाइ थियो । 

“मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुंगा सावित हुनेछ”, राष्ट्रपति पौडेलले भने । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise