रौतहट : प्रधानाध्यापकको सरूवाको विषयलाई लिएर रौतहटको देवाहीगोनाही नगरपालिकामा अवस्था तनावग्रस्त बनेको छ । करिब ३ घण्टासम्म नगरपालिका तनावपूर्ण बनेको हो । नगरप्रमुुख प्रेमलाल साहकोविरूद्व विद्यार्थीहरू आक्रोशित बनेका थिए । देवाहीका मेयर साहले आफ्ना मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको हो ।
नगरपालिकाको वडा नम्बर ९ स्थित रहेको श्री जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई अन्य विद्यालयमा सरूवा गरेपछि उनीहरू आक्रोशित बनेका हुन् ।
प्रअ प्रसादलाई श्री सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै उक्त सरुवा रोक्नुपर्ने विद्यार्थीहरुको माग छ । विद्यार्थीहरूले देवाही गोनाही नगरपालिका कार्यालय अगाडि टाएर बालेर विरोध प्रदर्शन गरेका थिए ।
मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशित हुँदै नगरप्रमुखविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियोे । नगरपालिका अगाडि ठूलो संख्यामा उपस्थित भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । विद्यार्थीहरू उग्र हुन थालेपछि देवाहीगोनाहीका नगर प्रमुख साह एक कदम पछाडि हटेका छन् । उनले नगर शिक्षा समितिको बैठक समेत स्थगित गराएका छन् ।