२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

कहिले खुल्छ मलेसियाको रोजगारी ?, मलेसिया सरकारको जवाफ कुर्दै नेपाली दूतावास

ADV
२०८१ असोज ११ गते ०६:३०
कहिले खुल्छ मलेसियाको रोजगारी ?, मलेसिया सरकारको जवाफ कुर्दै नेपाली दूतावास

काठमाडौं : वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी कहिलेदेखि खुल्छ ? गत मे ३१ तारिकदेखि मलेसियाले नेपालसहित सबै स्रोत मुलुकबाट कामदार लैजान रोकेपछि उक्त मुलुकको रोजगारीबारे नेपाली कामदार तथा उनीहरुलाई पठाउने म्यानपावर कम्पनीबीच तीव्र चासो छ ।

मलेसियाले यसबीचमा कपाल काट्ने ‘बारबर’, सुनका गहना बनाउने कामदार गोल्डस्मिथ, प्लान्टटेशन र एग्रीकल्चर क्षेत्रमा केही विदेशी कामदार खुला गरेको थियो । तर मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा सहजीकरण नगरेका कारण ती क्षेत्रमा नेपाली कामदार जान पाएनन् । दूतावासले यसअघि बन्द गर्दा मलेसियाली पक्षले लिखित जानकारी गराएको र हाल नयाँ एप्रुभलबारे जानकारी नदिएका कारणले खुला गरिएको चार क्षेत्रमा मागपत्र प्रमाणीकरण नगरेको बताउने गरेको छ । 

मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर भोला गुरागाईककले दूतावास मागपत्र प्रमाणीकरणबारे मलेलिया सरकारको पत्रको प्रतीक्षामा रहेको बताए । बिहीबार बिहान मलेसियामा कहिलेदेखि मागपत्र प्रमाणीकरण हुन्छ ? भन्ने मध्यान्हको जिज्ञाशामा काउन्सिलर गुरागाईककले दूताबसले केडिएनमा यसबारे पत्र लेखेको र दूताबास पत्रको जबाफको प्रतीक्षामा रहेको जानकारी दिए । उनले चार पॉच वटा मागपत्रको फाइल दूताबासमा आएको भए पनि “ एप्रुभ” नभएको बताए । 

तर मलेसियाको रोजगारबारेका जानकार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष कुमुद खनालले मलेसियाले गत मे महिनामा विदेशी कामदार लिन बन्द गर्दा नेपाली दूतावासलाई पत्र नदिएको र अब खुला गर्दा पनि उसले पत्र नदिने भएका कारण रोजगारदाताले प्रमाणीकरणका लागि पेस गरेका मागपत्र प्रमाणीकरण गर्न शुरुवात गर्नु नै बुद्धिमानी हुने बताए ।

मलेसियामा इन्डोनेशिया र बंगलादेशी कामदार नेपाली कामदारका प्रतिस्पर्धी मानिन्छन् । नेपालबाट नगए मलेसियाका रोजगारदाताले विकल्पमा बंगलादेशी कामदार लैजाने गरेका छन् । केही महिनाअघि बंगलादेशमा भएको राजनीतिक उथलपुथलपछि मलेसियाका रोजगारदाताले बंगलादेशबाट तत्कालै कामदार लैजान नचाहेको बताइएको छ । तर नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा चासो र तत्परता नदेखाए मलेसिया बंगलादेश जान ढिलाइ नगर्ने कतिपयको बुझाइ छ ।

मलेसिया खुलेको अवस्थामा मागपत्रका लागि हुने अनुचित लगानी नेपालको प्रमुख चिन्ताको विषय हो । विगतमा एउटा डिमाण्डका लागि ५५ सय रिंगेटसम्म कमिसन बुझाउने गरिएको विषय छताछुल्ल भएको थियो ।

लोकतान्त्रिक एशोसिएसाका पूर्वअध्यक्ष खनालले  एनआरएनएमा क्रियाशील केही वैदेशिक रोजगार व्यवसायीले मागपत्रका लागि ठूलो रकम लगानी गर्ने गरेको भन्दै यसपटक विगतको अनुचित अभ्यास दोहोरिन नहुनेमा जोड दिए । उनले भने, ‘यसपटक विगतको जस्तो मागपत्र हात पार्न अनुचित लगानीमा हानाथाप नगर्ने हो भने मलेसियाका रोजगारदाताले इम्प्लोइमेन्ट पे मोडलमा हवाई टिकट, म्यानपावर कम्पनीको सेवा शुल्क र अन्य खर्च व्यहोर्नुपर्ने कुरामा कन्भिन्स छन् । यसमा यसपटक नेपाली व्यवसायी जसरी पनि अडिनुपर्ने छ ।’

मलेसियामा उत्पादन, सुरक्षा गार्ड, सेवामुलक क्षेत्र, कृषि क्षेत्र, निर्माण र बागवानी क्षेत्रमा ३ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन् । नयाँ एप्रुभल शुरुवात भएमा यी क्षेत्रमा नै नेपाली कामदारको माग आउने अपेक्षा गरिएको छ । मलेसियामा कुल कामदारको झन्डै १५ प्रतिशत विदेशी कामदार छन् । मलेसियाले सन् २००१ देखि नै नेपाललाई श्रमिक आपूर्तिको स्रोत मुलुक सूचीकरण गरेको हो । मलेसियामा रोजगारीको माग बन्द हुँदा वार्षिक दुई लाख नेपालीले रोजगारी गुमाएका छन् । त्यसले नेपाल आउने ठूलो परिणामको रेमिट्यान्स गुमिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise