–क्षमा शर्मा
दक्षिण एसियाली मुलुकहरूमा घरेलु हिंसा महिलाहरूको एक गम्भीर समस्या हो । भारतको राष्ट्रिय अपराध तथ्यांक (एनसीआरबी)अनुसार महिलामाथि सबैभन्दा बढी अपराध दिल्लीमा हुन्छ । त्यहाँ प्रतिलाख महिलामा १४४ दशमलव ४ घटना देखिन्छन् जबकि पश्चिम बंगालमा यो तथ्यांक सबैभन्दा कम ७१ दशमलव ८ मात्र छ ।
भारतको संविधानलाई केलाउँदा, संविधानले महिलालाई समान अधिकार दिएको भए पनि व्यवहारमा पुरूषहरूले मात्र होइन, समाजले नै महिलालाई समान रूपमा हेरेको पाइँदैन । केही वर्षअघि एउटा समाचार पत्रिकामा आएको रिपोर्टअनुसार, श्रीमान् मात्रै होइन, उनीहरूको सासूसम्मले पनि कुटपिट गर्नुलाई स्वाभाविक मान्ने गरेको देखिएको थियो । कतिपय महिलाहरूले आफूले समयमै खाना नदिएमा, मनपर्ने खाना नबनाएमा, मुख चलाएमा श्रीमानले कुट्नु जायज ठानेको बताएका थिए ।
घरेलु हिंसाबाट प्रायः महिलाहरू प्रभावित हुन्छन् र गरिब वर्गका महिला अझ बढी पीडित हुन्छन् । महिलामाथिको हिंसाको प्रमुख कारणको लत हो । धेरैजसो महिला जीविकोपार्जनका लागि काम गर्छन् तर कमाएको पैसा श्रीमानले जबरजस्ती लिएर रक्सीमा खर्च गर्छन् । सामान्य झगडामा पनि पिटाइ हुनु आमकुरा बनेको छ ।
भारतमा मात्रै होइन, अमेरिकामा २२ प्रतिशत महिलाहरूले आफ्ना पति वा पार्टनरबाट घरेलु हिंसा भोगेका छन् । तीमध्ये ४० प्रतिशतले कहिल्यै उजुरी गर्दैनन् । बेलायतमा प्रत्येक चारमध्ये एक महिला घरेलु हिंसाको सिकार छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार, ७१ वटा देशहरूको अध्ययनमा इथियोपिया महिलामाथिको हिंसामा सबैभन्दा अगाडि छ । भारतमा सन् २०१९ देखि २०२१ सम्म २८ दशमलव ५ प्रतिशत महिलाले शारीरिक, १३ दशमलव १ प्रतिशतले मानसिक र ५ दशमलव ७ प्रतिशतले यौन हिंसा भोगेका थिए ।
यी तथ्यांकले स्पष्ट देखाउँछन् कि विकसित, विकासोन्मुख वा गरिब मुलुक जुनसुकै भए पनि महिलामाथि हिंसा सर्वव्यापी छ । हामी सोच्थ्यौं— शिक्षा र प्रविधिको विकाससँगै महिलाको स्थिति सुध्रिन्छ तर अमेरिकादेखि भारतसम्म हिंसा अझै हटेको छैन ।
झन् दुःखद कुरा के भने, हिंसालाई समाजले मौन समर्थन दिँदै आएको छ । अतीतमा महिलालाई सहनशीलता र त्यागको मूर्तिका रूपमा चित्रण गर्ने फिल्महरू बनेका छन् । पुस्तकहरूमा पनि महिला नियन्त्रणका लागि हिंसालाई स्वीकार गरिएको छ ।
अब हामी २१औं शताब्दीमा छौं । प्रविधिले जति विकासलाई गति दिएको छ, त्यति नै नयाँ प्रकारका हिंसाका स्वरूप पनि जन्मिएका छन् । डिजिटल संसारमा ‘डिजिटल रेप’जस्ता अपराधका घटना बढेका छन् ।
अहिलेको युगमा कृत्रिम बुद्धिमत्ता (एआई) निकै प्रचलनमा छ । पछिल्लो समय पुरुषहरूले एआई प्रेमिका (गर्लफ्रेन्ड) किन्न थालेका छन्, विशेषगरी ती पुरुषहरूका लागि जो एक्लोपनबाट पीडित छन् । तर गम्भीर विषय यो हो कि ती प्रयोगकर्ता यिनै काल्पनिक पात्रहरूमाथि पनि मानसिक, यौन र शारीरिक हिंसा गरिरहेका छन् । केही प्रयोगकर्ताले भन्छन्— हामी जान्न चाहन्छौं, एआईलाई रिस उठ्छ कि उठ्दैन ?
कसैले सोध्यो— यदि मैले उसलाई भनें कि तिमी कुनै कामकी होइनौ भने के हुन्छ ? अर्कोले भन्यो– एक महिलालाई लगातार अपमान गर्दा कस्तो अनुभूति हुन्छ भनेर जान्न चाहन्छु ।
यदि भविष्यमा एआईले यस्ता व्यवहारको प्रतिक्रिया दिन थाल्यो भने के हुन्छ ? विज्ञहरू भन्छन्– यस्ता अभ्यासहरूले प्रयोगकर्ताको वास्तविक जीवनसमेत असरमा पार्छ । यस्ता मानिसहरूले जब साँच्चिकै सम्बन्ध बनाउनेछन्, त्यतिबेला पनि हिंसात्मक व्यवहार दोहोर्याउन सक्छन् ।
प्रश्न उठ्छ— मानिसभित्र यत्रो आक्रोश र हिंसाको प्रवृत्ति कहाँबाट आउँछ ?
अमर उज्यालाबाट