–चेतनाथ कणेल ‘हरित’
आजभन्दा २३ वर्षअघि अर्थात् २०५८ सालको यसै फेरोमा नेपालकै ऐतिहासिक एक पुस्तक प्रकाशित भयो । नेपाल सहभागिमूलक कार्य समूह (नेपान)ले ‘बुढ्यौली आवाज’ नामक पुस्तकको प्रकाशन गरेको थियोे । पुस्तकमा नेपालका पूर्वमेचीदेखि पश्चिममहाकालीसम्मका विभिन्न जातीय तथा भौगोलिक प्रतिनिधित्व गर्ने करिब सात हजार जनाको आवाज समेटिएका थिए । गाउँगाउँ पुगेर सहभागितात्मक ढंगबाट स्थानीय वृद्धवृद्धा तथा परिवार र समाजका अन्य व्यक्तिसँग बृहत् छलफल, भलाकुसारी तथा कुराकानीका आधारमा ‘नेपान’ तथा ‘हेल्पएज नामक’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहकार्यमा ‘बुढ्यौली आवाज’ निकाल्ने काम सम्पन्न भएको थियो ।
उक्त अनुसन्धानात्मक पुस्तक प्रकाशनपश्चात् नै नेपालमा बुढ्यौली आवाजहरू थप मुखरित भएका थिए । नेपालका गण्यमान्य व्यक्ति स्व. हुतराम वैद्य, विकासकर्मी हुकुमबहादुर सिंह तथा मानबहादुर थापा, यो पंक्तिकार, दशरथ मोक्तान तथा डा. युवराज लुइँटेलको विशेष पहल र नेतृत्वमा उक्त सहभागिमूलक अनुसन्धान गरिएको थियो । अनुसन्धान सञ्चालन गर्ने टोलीमा कम्तीमा ५० जनाको सक्रिय सहभागिता रहेको थियो । उक्त ऐतिहासिक र बृहत् कार्यले नै नेपालमा ‘ज्येष्ठ नागरिक’को हो र बुढ्यौली भनेको के हो भन्ने कुरा स्पष्ट व्याख्या हुनुपर्ने, ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने, बुढ्यौली जीवनलाई सहज बनाउनका लागि सरकारी, गैरसरकारी तथा निजी प्रयासलाई एकीकृत गरी कार्य गर्नुपर्नेलगायत ३५ बुँदा सिफारिस गरेको थियो । ती सिफारिसका आधारमा नै नेपालको ज्येष्ठ नागरिक अधिकार सुनिश्चितताको मार्ग अघि बढेको थियो । ज्येष्ठ नागरिकका सवालमा सरकारलाई अघि बढ्न सहज भएको थियो । २०६३ सालमा पहिलोपल्ट ज्येष्ठ नागरिक ऐन बन्नु र २०६५ सालमा ज्येष्ठ नागरिक नियमावली बन्नु ती अभियानमुखी कर्मका परिणाम थिए भन्न हिच्किचाउनु पर्दैन ।
झन्डै अढाइ दशक बितिसकेको छ । नेपालमा ज्येष्ठ नागरिकका मामलामा धेरै काम भएका छन् । ज्येष्ठ नागरिकहरू संगठित भएका छन्, ज्येष्ठ नागरिक महासंघ नै बनेको छ, ज्येष्ठ नागरिक ऐन २०६३ को पनि संशोधन र परिमार्जन भएको छ । ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा होइन घर र समाजमा नै पालनपोषण, हेरचाह र सम्मानित जीवन जिउने वातावरण सिर्जना गरिनुपर्ने नयाँ सोच, मर्म र भावनाको पनि दिनानुदिन विस्तार भइरहेको छ । तर, गर्नुपर्ने काम धेरै छन् । केही उपलब्धि हुँदैमा चुप लागेर बस्ने अवस्था छैन । २०५८ सालतिर नेपालमा ६० वर्ष नाघेका व्यक्तिको जनसंख्या करिब छ प्रतिशतमात्र थियो भने २०८१ सम्म आइपुग्दा त्यो संख्या १० प्रतिशत पुगेको छ । बुढ्यौली उमेरको जनसंख्या अनुपात वर्षेनि बढ्दैछ । विश्वभर नै यो प्रवृत्ति कायम छ । हामीले जापानका अनेक कथा सुन्ने गरेका छौँ । त्यहाँ ज्येष्ठ नागरिकको जनसंख्या झन्डै २५ प्रतिशत पुगेको बताइन्छ ।
नेपालमा पनि भोलिका दिनमा त्यो अवस्था नआउला भन्न सकिन्न । किनकि नयाँ पुस्तामा ढिलो विवाह गर्ने चलन बढेको छ, छोराछोरी जन्माउने क्रम ह्वात्तै घटेको छ । जीवनशैली महँगो बन्दै गएको छ । शिक्षा, स्वास्थ्योपचार, खानपान, लत्ताकपडा, घर निर्माण आदि कार्यमा थेग्नै नसकिने गरी मूल्य वृद्धि हुँदै जाँदा नयाँ पुस्तालाई जीवन धान्न पनि कठिन बन्दै गएको छ । जीवन थप चुनौतीपूर्ण र प्रतिस्पर्धी भएसँगै हरेक दम्पतीले एकभन्दा बढी बच्चा जन्माउन सोच्नैपर्ने अवस्था आएको छ । आम्दानी बढाउनका लागि लाखौँ युवा विदेश पलायन हुनुका पछाडि, गाउँगाउँ र बस्तीबस्तीबाट कल्कलाउँदा युवाहरू शहर पस्नुुका पछाडि माथि उल्लिखित चुनौती तथा प्रतिस्पर्धी जीवनको होडले काम गरिरहेको छ ।
शिक्षा, स्वास्थ्य र आधारभूत सेवालाई सर्वसुलभ र सर्वपहुँचको लक्ष्य पूरा गर्नेमा सरकारी प्रयास अझ पनि सफल हुन सकिरहेको छैन । पछिल्लो समयका विपद्जन्य नियमित घटना र दुर्घटनाहरूले सरकारी स्रोत–साधन पनि विपद् व्यवस्थापनमा खर्च गर्नुपर्दा विकासमूलक प्रयासमा थप चुनौती थपिएको यथार्थ छ । अबका दिनमा जलवायुजन्य तथा मौसमी घटना र दुर्घटनाहरू बढ्दै जाने नै हुन् । यसले गर्दा हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले नै सबै कुरा पन्छाएर नै विपद् र जोखिमसँग जुध्ने सामथ्र्य पनि बढाउनुपर्ने अवस्था छ । यी सबैको प्रभाव सबैभन्दा बढी ज्येष्ठ नागरिकमा पर्छ । ज्येष्ठ नागरिक र बालबालिकालाई विपद्जन्य घटनाहरूले पहिलो सिकार बनाउँछन् । चाहे भुइँचालो होस्, महामारी होस्, बाढी–पहिरो होस्, हावा–हुन्डरी होस्, आगलागी होस्, अत्यधिक गर्मी वा जाडो होस्, ती सबैको मार बुढ्यौली जीवन बिताइरहेका व्यक्तिहरूमा बढी पर्छ भन्ने कुरा विभिन्न अध्ययन तथा तथ्यांकहरूले पुष्टि गरिसकेका छन् ।
अझ त्यसमा पनि अपाङ्गता भएका ज्येष्ठ नागरिक, दलित, महिला, विपन्न तथा सहाराविहीन नागरिकलाई विपद् तथा महामारीले बढी गाँज्ने गरेको कुरा हामी सबैलाई थाहा छ । चुनौतीपूर्ण ज्येष्ठ जीवनलाई कसरी सहज र सम्मानजनक बनाउने भन्ने कुरा विश्वव्यापीरूपमा नै अहिलेको मूल चासो भएको छ । बुढ्यौली जीवन हेयको जीवन नबनोस् र बाँच्न मन नलाग्ने नबनोस् भनेर हरेक नागरिक सचेत, ऐक्यबद्ध र असल सहकर्मी एवं अभियानकर्मी बन्नुपर्ने अवस्था आएको छ । यसको अर्थ पनि व्यक्ति–व्यक्ति, समाज–समाज र राष्ट्र–राष्ट्रमा यस सवालमा सचेतना, पहल, चासो, चिन्तन र नतिजामुखी कर्म बढून् र विश्वभरका वृद्धजनले सुखी, समृद्ध, स्वस्थ, सुस्याहारयुक्त र सम्मानीत जीवन बाँचिरहेको अनुभूति लिएर बाँच्न पाऊन् भन्ने नै हो ।