२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

विपद् र संवेदनहीन नेतृत्व

ADV
२०८१ असोज १७ गते ०६:१५
विपद् र संवेदनहीन नेतृत्व

–खगेन्द्र पौडेल

दुई दिनको वर्षाले काठमाडौँ उपत्यकासहित देशका थुप्रै भागमा ठुलो क्षति बनायो । वर्षापछि आएको बाढी, पहिरो र डुबानले भौतिक क्षति मात्रै बनाएन, मानवीय क्षति पनि बनायो । यति ठुलो क्षति किन र कसरी भयो ? उपत्यकाभित्रै कसरी मान्छे बग्ने, डुब्ने अवस्था बन्यो ? उपत्यकाबाट दुई किमी दुरीमा रहेको झ्याप्लेखोलाको पहिरोलाई ४८ घण्टापछि मात्रै सरकारले कसरी थाहा पाउने अवस्था बन्यो ? यो समग्रमा सरकारको लाचारी थियो । सरकारको कमजोरी थियो । सरकारको गैरजिम्मेवारीपन थियो ।

एकातिर पूर्वसूचित गरिँदा गरिँदै सरकार तयारीमा चुक्यो भने अर्कोतिर घटनापश्चात उद्धारमा पनि उसैगरी चुक्यो । यद्यपि, यसमा नेतृत्वकर्ता निकै संवेदनहीन भएर प्रस्तुत भए । प्रधानमन्त्री स्वयम् देशमा ठुलो क्षति भइरहँदा वैदेशिक भ्रमणमा व्यस्त रहे भने कार्यबहाक र गृहको जिम्मेवारीमा रहेकाहरू जिम्मेवार बनेनन् ।  

विडम्बनाको विषय मान्नुपर्छ, विपतको चरम अवस्थामा पनि प्रधानमन्त्रीको स्वदेश फिर्ती निकै असामान्य रह्यो । खराब मौसम र सडक अवरुद्ध हुँदा विमानस्थलमा बढेको यात्रुहरूको भीडलाई बेवास्ता गर्दै आधा घण्टा बढी विमानस्थल बन्द गरेर उनलाई स्वागत गरियो । उनको आगमनलाई भव्य बनाउन ‘नोटाम’ नै जारी गराइयो । नोटाम भिभिआइपीहरूको उडान हुँदा विमानस्थलमा अन्य आगमन रोक्न गरिने व्यवस्था हो । सोही परिपाटीअनुसार नै उनको आगमनमा विमानस्थल बन्द गराइएको थियो । जसको प्रभाव कस्तो रह्यो भन्ने कुरा सामाजिक सञ्जालमा हेरे पुग्छ । सँगै उनको स्वागत निकै असामान्य देखियो । देश शोकमय भएको बेला शीर्ष पदाधिकारी फुल गुच्छा लिएर हर्षित मुद्रामा स्वागतमा लामबद्ध भए । 

सँगै विमानस्थलको पत्रकार सम्मेलन पनि हाँसी मजाकपूर्ण मात्रै रह्यो । प्रधानमन्त्री स्वयंमा संवेदनशीलता देखिएन । उनले संवेदनहीन प्रश्नको जवाफ मात्रै दिएनन्, आलोचक विरुद्ध आफूलाई दरिलो रूपमा प्रस्तुत गरे । प्रधानमन्त्री ओलीको आगमनपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहत तथा उद्धारको काममा सरकारले अपेक्षाकृतरुपमा काम गरेको निष्कर्ष निकाल्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गर्नेसहित विपद् कोषमा रकम निकासा गर्नेदेखि केही निर्णय ग¥यो । विपतलाई गम्भीर शैलीमा लिएर, कुनै खास योजना बनाउनतर्फ बैठक केन्द्रित बनेको पाइएन । चौतर्फी आलोचनापछि केही रियलाइजेसन देखिएपनि, त्यो रियलाइजेसन देखावटी मात्र थियो भन्दा फरक पर्दैन । कारण सिंहदरबारको अर्को पत्रकार सम्मेलन हो । जहाँ प्रधानमन्त्रीले बेसरोकारका थुप्रै विषयलाई विरोधी तथा विपक्षीविरुद्ध खनिएका थिए । 

भारी वर्षा हुनु पूर्व नै सरकारकै मौसम विभागले अलर्ट जारी गरेको थियो । विभागले केही दिनअघिदेखि नै सावधानी अपनाउन भनेको थियो । यद्यपि, त्यसतर्फ खास कसैको ध्यान गएन । मौसम विभागले अलर्ट जारी गर्दागर्दै उपत्यकाभित्रै सावधानी अपनाउने काम भएन । यद्यपि, आफ्ना कमजोरी लुकाउन र चौतर्फी आलोचनाबाट बच्न प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र प्रहरी प्रमुखहरूको सरुवा गर्ने काम सरकारबाट भयो । गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गृह मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा अर्को पठाउने निर्णय गरेको थियो भने, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी)लाई पनि जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तान्दै उनको सट्टा अर्कोलाई जिम्मेवारीमा खटाइएको थियो । यसैगरी काभ्रेका सिडिओलाई पनि फिर्ता गरेर सट्टामा अर्कोलाई पठाइएको थियो । विपदमा सन्तोषजनक काम गर्न नसकेको भन्दै मातहतका अधिकारीलाई कारबाही गरिँदा नेतृत्वको हिसाबले कुनै पछुतो मानेको कत्ति देखिएन । 

भनिन्छ, आफन्त दुःखमा चिनिन्छ । हो, सरकारको हैसियत पनि अहिलेको विपद्मा देखियो । यसले सरकार दुई तिहाइ जनमतको बलियो भएर मात्रै होइन, जनताको पक्षमा काम गर्ने संवेदनशील चाहिन्छ भन्ने पनि देखायो । यो समग्रमा सरकारको पूर्ण असफलता हो भन्नेमा दुईमत छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise