२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

वैज्ञानिक शिक्षा प्रणालीको प्रारूप

ADV
२०८१ असोज १७ गते ०६:२०
वैज्ञानिक शिक्षा प्रणालीको प्रारूप

–राजन तिमिल्सिना

आज हामी तीव्रतापूर्वक बदलिरहेको विश्वको स्वरूप, नाटकीय रूपमा घटिरहेका असाधारण घटनाहरूको बिचमा बसिरहेका मात्र छैनौँ की बरु तिनीहरूबाट बढी भन्दा बढी प्रभावित पनि भइरहेका छौँ । समकालीन विश्वमा वैज्ञानिक–प्राविधिक विकासले युग सापेक्ष, व्यवहारिक र जीवनोपयोगी शिक्षामार्फत विश्वको स्वरूप, संस्कृति र मानव जातिको जीवन व्यवहार नै बदलिदिएको छ ।

वैज्ञानिक, प्राविधिक र व्यवहारिक शिक्षा भनेको श्रम शिक्षा हो । श्रम शिक्षा बिना भौतिक जगत र मानव समाजको गतिलाई सही ढङ्गले समात्न सकिँदैन । श्रम शिक्षा भनेको आवश्यक सीप र दक्षतासहितको व्यवहारिक र प्राविधिक शिक्षा हो । आज हामी अमूर्त रूपमा वैज्ञानिक शिक्षा प्रणालीको कुरा गरिरहेका छौँ, त्यसलाई मूर्त र ठोसरूपमा परिभाषित गर्नु अहिलेको आवश्यक हो, जसले जीवनोपयोगी शिक्षाको माध्यमबाट भौतिक जगत र मानव जीवनका जटिलतम प्रश्नहरूको सही जवाफ दिन सकोस् । श्रम शिक्षाले अव्यवहारिक शिक्षा प्रणालीलाई बदलेर भौतिक जगत, मानव जीवन र सामाजिक परिघटनाहरूलाई सही ढङ्गले दिशानिर्देश गर्न मद्दत गर्दछ ।

श्रम शिक्षा यस्तो शिक्षा पद्धति हो, जसले वैज्ञानिक सिद्धान्तहरू, विधिहरू र सोचाइको विकासमा विशेष जोड दिन्छ । यो प्रणालीको मुख्य उद्देश्य विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान, तर्कसंगत सोच, र समस्याहरूको समाधानका लागि विश्लेषणात्मक र प्रयोगात्मक क्षमता अभिवृद्धि गर्नु हो । यसप्रकारको शिक्षाबाट आफूले के–कस्तो उत्पादन वा सेवा दिने भन्ने कुराको सुनिश्चित हुन्छ र यसबाट कुनै प्रकारको शैक्षिक बेरोजगार बन्नु पर्दैन । 

विश्वमा वैज्ञानिक, प्राविधिक तथा व्यवहारिक शिक्षा प्रणालीको विकाससँगै मानवीय चेतना, सूचना प्रणाली, उत्पादन प्रणाली, सामाजिक ढाँचा आदिमा पुराना मूल्य–मान्यताहरू क्रमभङ्ग हुँदै नयाँ मूल्य मान्यता र अवधारणाहरू स्थापित भइरहेका छन् । विज्ञान–प्राविधिक क्रान्तिले सिङ्गै विश्वलाई एउटा सानो गाउँमा परिणत गर्दै भूमण्डलीकरणको मध्यमद्वारा श्रम, सिप, प्रविधि र चेतनालाई क्रमशः सीमारहित बनाएको छ ।

विज्ञान–प्राविधिक क्रान्तिले नयाँ–नयाँ आविष्कार गर्दै मानव जीवनलाई सकारात्मक रूपमा प्रभावित गरिरहेको छ, साथै केही अपवादहरू नकारात्मकरूपमा पनि देखा परेका छन् । २०औँ शताब्दीमा भौतिक विज्ञानको क्षेत्रमा भएको समुच्चय तथा महानतम् आविष्कार भनेको क्वान्टम सिद्धान्तको आविष्कार नै मुख्य हो । क्वान्टम सिद्धान्तको आविष्कारले शिक्षा र दर्शनको क्षेत्रमा मूलभूत परिवर्तन नै ल्याइदिएको छ । कम्प्युटर, माक्रो–इलोक्टोनिक, सूचना प्रविधि, यन्त्र विज्ञान, परमाणु विज्ञान, विद्युतचालित यन्त्र, सेन्सर प्रविधि, अटोमेशन, रोर्वट जस्ता प्रविधिको विकासले परम्परागत शिक्षा प्रणालीलाई ठुलो चुनौती थपिदिएको छ । 

शिक्षाको महत्व र विकासका साथै यसका नविनतम् आयामहरूका विषयमा नयाँ–नयाँ खोज र अनुसन्धानहरूको खाँचो छ । नेपालको शिक्षा प्रणाली अत्यन्तै पुरातन वादी सोच, मूल्य, मान्यता र अवधारणामा कैद छ । यसले शिक्षाका नविनतम् मार्ग पहिल्याउन नसक्दा शिक्षार्थीहरूको बौद्धिक विकासलाई बन्ध्याकरण गरिरहेको छ । 

वर्तमानको जीवनोपयोगी र वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणालीको विकासले मात्र नेपाल र नेपाली समाजको भविष्यको नयाँ मार्गचित्र कोर्न सक्छ । भौतिक जगतका हरेक वस्तुहरू, घटनाहरू, पदार्थहरू र सामाजिक क्रियाकलापहरू गतिशील र परिवर्तनशील छन् । यसका शाश्वत नियम र गति बुझ्न नसक्दा शिक्षा क्षेत्रले अग्रगामी फड्को मार्न सकिरहेको छैन ।

नेपालको शिक्षा क्षेत्रमा राज्यको ठुलो लगानी हुँदाहुँदै पनि यसले अपेक्षित परिणाम दिन सकेको छैन । के हामी यो अवस्थाको जवाफ नखोज्ने ? राज्य यन्त्रको पुरानो मेकानिज्म नयाँ सोच, मूल्य मान्यता र प्राविधिक ज्ञानद्वारा अपडेट छैन । देशमा अझै पनि परम्परावादी र गुरुकुल शिक्षा प्रणाली कायमै रहेको छ । शिक्षण विधिमा पनि नयाँ आयाम थपिएको छैन र पाठ्यक्रमहरूमा शाब्दिक फेरबदल मात्रै छ, व्यवहारिक र युग सापेक्ष छैन । जसको कारण शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा सीमित भइरहेका छन् । देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि शिक्षा, यन्त्र विज्ञान, बहु प्राविधिक शिक्षा, सैन्य शिक्षा आदिलाई प्राथमिक तहदेखि नै अनिवार्य गर्नु पर्दछ । शिक्षालाई सैद्धान्तिक कक्षामा मात्र कैद नगरी अनिवार्य प्रयोगात्मक विधि लागू गरिनुपर्छ । 

शिक्षालयहरूले राज्यलाई आवश्यक जनशक्ति निर्माण गर्नुभन्दा पनि राज्यलाई नै बोझ हुने जनशक्ति उत्पादन गरिरहेका छन् । देशमा दक्ष जनशक्तिको अभावले कयौँ कलकारखाना, उद्योग र सेवा क्षेत्रमा विदेशी कामदारहरू कार्यरत छन् भने श्रम शिक्षाको अभावको कारण नेपालका लाखौँ युवाहरू बेरोजगार भई कामको खोजीमा देश, विदेशमा भौँतारी रहेका छन् । अवैज्ञानिक र अव्यवहारिक शिक्षा प्रणालीको कारण शिक्षित जनशक्तिभन्दा अशिक्षित युवाहरू व्यवहारिक ज्ञानको कारण बरु रोजगारीमा फिट भइरहेको तथ्यहरूले देखाइरहेको छ । 

शिक्षालय भनेको नयाँ–नयाँ आविष्कारको प्रयोगशाला र वैज्ञानिकहरू उत्पादन गर्ने महाविश्वविद्यालयको रूपमा अघि बढाउनु पर्दछ । शिक्षा केवल बुझ्नको लागि मात्रै हुनु हुँदैन, शिक्षा जीवन र जगतलाई बदल्ने हुनुपर्छ । जीवनको ऊर्जाशील समय शिक्षा आर्जनमा व्यतित् गरी ठुलो धनराशि खर्च गर्दा समेत बेरोजगार हुनुको पीडा आम शैक्षिक जनशक्तिले भोग्दै आएका छन् । पुरातन वादी शैक्षिक प्रणालीलाई श्रम शिक्षाको माध्यमद्वारा समूल रूपान्तरण र पूर्नसंरचना गरेर मात्र वर्तमानका शैक्षिक अन्तर्विरोधहरू हल गर्न सकिन्छ । 

श्रम शिक्षा प्रणालीमा विद्यार्थीलाई अनुसन्धान र प्रयोगहरूमा संलग्न गरिन्छ । उनीहरूले प्रयोगशालामा व्यवहारिक अनुभव प्राप्त गर्छन्, जसले वैज्ञानिक अवधारणालाई राम्रोसँग बुझ्न मद्दत गर्छ । यो प्रणालीमा शिक्षण विधि तथ्यमा आधारित हुन्छ । शिक्षकहरूले वैज्ञानिक प्रमाणहरू प्रस्तुत गरेर विद्यार्थीलाई ज्ञान प्रदान गर्छन् ।

श्रम शिक्षा प्रणालीले विद्यार्थीलाई समस्याहरूको समाधान गर्न सक्ने बनाउँछ । यसमा उनीहरूले वैज्ञानिक विधि प्रयोग गरेर समस्याहरूलाई विश्लेषण गर्छन् र निष्कर्ष निकाल्छन् । यो प्रणालीले विद्यार्थीलाई तर्क संगत सोच्न र प्रश्न गर्न उत्प्रेरित गर्छ । उनीहरूलाई केवल जानकारी ग्रहण गर्न मात्र नभई, आफूले प्राप्त गरेका जानकारीको परीक्षण र आलोचना गर्न प्रोत्साहित गरिन्छ ।

श्रम शिक्षा प्रणालीमा प्रविधिको ठुलो भूमिका हुन्छ । कम्प्युटर, डिजिटल उपकरणहरू र इन्टरनेटको प्रयोग गरेर विद्यार्थीहरूले वैज्ञानिक ज्ञानलाई व्यावहारिक रूपमा उपयोग गर्न सिक्छन् । यो प्रणालीले विद्यार्थीहरूलाई नवीकरण, नवप्रवर्तन र अनुसन्धानतर्फ प्रेरित गर्छ, जसले उनीहरूको दिगो विकासमा मद्दत पुर्‍याउँछ ।

नेपालमा आज जुन शिक्षा प्रणाली र शिक्षण विधि प्रयोग गरिएको छ, यसले नेपाली समाजलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्न सकेको छैन । शिक्षालयहरू शिक्षार्थीहरूको मनोविज्ञानअनुसारको शिक्षा दिन असमर्थ भएका छन् । बालबालिकाहरूको रुचिअनुसारको शिक्षा दिनुको साटो घोकन्ते र लादिएको शिक्षा प्रणालीले नयाँ र सिर्जनशील जनशक्ति उत्पादन गर्न सक्दैन । शिक्षालाई विविधीकरण गर्दै बालबालिकाको मनोविज्ञान र रुचिअनुसार शारीरिक, प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनु पर्दछ ।

शिक्षा सर्वसाधारण र घरनीयाहरूको लागि फरक–फरक छ । शिक्षालाई जनवादीकरण गर्नुपर्छ । जनवादी शिक्षा भनेको जनताको शिक्षामा पहुँच, सहभागिता र समावेशितालाई प्राथमिकता दिने शैक्षिक प्रणाली हो । यसको मुख्य उद्देश्य समाजका सबै वर्गका मानिसहरूलाई समान शिक्षा उपलब्ध गराउनु, सामाजिक न्यायलाई प्रोत्साहन गर्नु र व्यक्ति, समाज तथा राष्ट्रको समग्र विकासमा टेवा पुर्‍याउनु हो । जनवादी शिक्षा विशेषगरी असमानता, विभेद र उत्पीडनको विरुद्ध उभिने र सबैलाई शिक्षाको समान अधिकार सुनिश्चित गर्ने शिक्षा प्रणाली हो ।

जनवादी शिक्षामा सबैलाई, चाहे उनीहरूको सामाजिक, आर्थिक, जातीय वा लैङ्गिक अवस्थिति जे होस्, समान र गुणस्तरीय शिक्षा प्रदान गर्नु, विद्यार्थीहरूलाई मात्र सिकाइको विषयवस्तु ग्रहण गर्ने नभई, तिनीहरूलाई शिक्षण र सिकाई प्रक्रियामा सक्रिय सहभागिता गराउनु हो । यस्तो शिक्षा प्रणालीले समाजमा रहेका असमानता र अन्यायहरूलाई सम्बोधन गरी सबैलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हो । 

विभिन्न भाषिक र सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्ने शिक्षण विधि अपनाउनु, जसले उनीहरूको भाषिक, संस्कृति र पहिचानलाई संरक्षण गर्न मद्दत गरोस् । जनवादी शिक्षाले व्यवहारिक ज्ञानलाई जोड दिन्छ, जसले विद्यार्थीहरूको दैनिक जीवन र समाजको आवश्यकतामा आधारित शिक्षा प्रदान गर्छ ।

शिक्षण र सिकाइ प्रक्रियामा शिक्षक र विद्यार्थीबिच संवादमूलक र सहकार्यात्मक वातावरण सिर्जना हुन्छ । विद्यार्थीहरूलाई केवल ज्ञानको उपभोक्ता होइन, सर्जकका रूपमा हेरिन्छ । विद्यार्थीहरूको समूहमा छलफल, परियोजना कार्य र सामूहिक गतिविधिमा जोड दिइन्छ, जसले उनीहरूमा सामूहिक भावना र समन्वयको विकास गर्छ । शिक्षण सामग्री स्थानीय सन्दर्भ, संस्कृति र वास्तविकतासँग मेल खाने गरी तयार गरिन्छ, जसले विद्यार्थीहरूको रोजाई र आवश्यकतालाई सम्बोधन गर्छ ।

विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखेर समाजका विभिन्न पक्षहरूलाई आलोचनात्मक रूपमा सोच्न र प्रश्न गर्न प्रेरित गरिन्छ । यसले औपचारिक र अनौपचारिक दुवै प्रकारका शिक्षण विधिहरूलाई समावेश गर्छ, जसमार्फत समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिन्छ । समग्रमा, जनवादी शिक्षाले मानिसहरूलाई समाजको परिवर्तन र सुधारका लागि तयार पार्दै समतामूलक र न्यायपूर्ण समाजको निर्माण गर्ने उद्देश्य राख्छ ।

अन्त्यमा, शिक्षा क्षेत्रको साथै विश्वमा विज्ञान–प्राविधिक क्रान्तिमा भएको विकासको अध्ययनबाट हामी के निष्कर्षमा पुग्दछौँ भने श्रम र व्यवहारबाट कटेको शिक्षा प्रणालीले न त जीवन र जगतको गतिलाई बुझ्न सक्छ, न त्यसलाई बदल्न नै सक्छ । जसको कारण न त समाज र सामाजिक क्रियाकलाप बदलिएको छ, न मानिसको जीवन व्यवहार नै बदलिएको छ । शिक्षालाई ज्ञानको सीमाभित्र कैद गर्ने होइन की यसलाई युग सापेक्ष र गतिशील प्रयोगको रूपमा विकास गरिनुपर्छ । शिक्षालाई जनवादीकरण नगरी समाजको पिँधमा रहेका जनताको जीवनस्तर माथि उठाउन सकिँदैन ।

ADVADV

सम्बन्धित खबर

Advertise