काठमाडौं : नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले ललितपुर जिल्लाको नख्खु क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । 'जनताको पीडामा सँगसँगै एमाले' भन्ने अभियानअन्तर्गत बाढी प्रभावित क्षेत्रमा बिहीबारबाट सरसफाइ अभियान चलाइएको हो ।
अभियानमा रामजी सापकोटा नेतृत्वको स्वयंसेवकहरुले बिहीबार र शुक्रबार बाढी प्रभावित ललितपुरको नख्खु क्षेत्रमा सरसफाइ गरेका छन् ।
ललितपुर महानगरपालिका वडा न १८ को आदिनाथ टोल मार्ग बागमती नख्खु दोभानमा सरसफाइ गरिएको हो । २ वटा समूह बनाएर सरसफाइ कार्य जारी राखिएको युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज तथा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए ।
पार्टी केन्द्रको निर्देशनबमोजिम जिल्ला अध्यक्ष रामजी सापकोटाको नेतृत्वमा स्वयंसेवक टोली खटाइएको पौडेलले बताए । टोलीमा एमाले केन्द्रीय सदस्य रमेश पौडेल, उपत्यका प्रदेश अध्यक्ष प्रेम पराजुली र युवा नेता अभिषेक गुप्तालगायत ललितपुर इलाका कमिटीका युवा विद्यार्थीहरू सहभागी थिए ।
स्वयंसेवक टोलीले घरधनीहरूको अनुरोधमा बाढीले पुरिएका सामानहरू निकाल्ने, घर सफा गर्ने र घरका भग्नावशेषहरू हटाउने काम गरेको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण सो क्षेत्र बाढी आएको थियो ।