२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

परिवर्तनको शक्तिशाली सूचक

ADV
मदनकुमार श्रेष्ठ
२०८१ असोज २१ गते ०५:००
परिवर्तनको शक्तिशाली सूचक

संसारको कम विकसित देशहरुको सूचीमा नेपाल पर्ने भएकाले अक्सर नेपालीमा लघुताभास छ । संयुक्त राष्ट्रसंघले तयार पारेको कम विकसित ४५ देशहरुको सूचीमा एसियाका नेपाल सहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, म्यानमार, टिमोर, लाओस र यमन पर्छ । 

तर छिमेकी चीन र भारतसँगै एसियाकै जापान, दक्षिण कोरिया, कतार, हङकङ, सिंगापुर, ब्रुनाई, साउदी अरव जस्ता देशहरु संसारमै धनी छन् । कतिपय नेपालीले धनी देशलाई देखेका छन्, हेरेर फर्किएका छन् । 

लाहुरे संस्कृतिको पृष्ठभूमि रहेको नेपालीहरु संसारभर फैलिएका छन् । छिमेकी देश भारत र चीन संसारकै ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा विकसित भइरहेका छन् । यी सबै देखेका नेपालीले कम विकसित देशहरुको सूचीमा आफ्नो मुलुक पाउँदा लघुताभासको कारण खुल्छ । 

तर हामीले बाँचेको निकट इतिहासको अर्को पाटो हेर्दा भने गौरवको अनुभूति हुन्छ । त्यो गौरवगाथा सर्वोच्च शिखर सगरमाथा अथवा गौतम बुद्धका कारणले मात्र नभइ बितेको केही दशकमा आएको परिवर्तनबाट समेत महसुस गर्न सकिन्छ । 

थालनि शिक्षामा आएको परिवर्तनबाट ग¥यौं । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । विकसित देशहरुको तुलनामा यो नतिजा सन्तोषजनक होइन । तर सन् १९५० मा नेपालको साक्षरता दर २ प्रतिशत थियो भन्ने सम्झँदा यो उपलब्धि चानचुने होइन । 

शिक्षामा जस्तै देखिने परिवर्तन नेपालीहरुको आर्थिक अवस्थामा आएको छ । २०१६ सालमा ४४.२ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि थिए । अहिले २० प्रतिशत नागरिक गरिबीको दलदलमा छन् । यो असाध्यै ठूलै संख्या हो, तर परिवर्तन पनि सत्य हो । 

सन् २०२३ मा नेपालीको औसत आम्दानी १०९१.९० अमेरिकी डलर पुगेको छ । सन् २००० लाई फर्केर हेर्दा नेपालीको औसत आम्दानी २२४ अमेरिकी डलर थियो । 

अहिले नेपालीको औसत आयु ७१.९७ वर्ष पुगेको छ । ८ दशक अगाडि नेपालीको औसत आयु यसको आधा अर्थात् ३५.६२ वर्ष मात्र थियो । 

यी तथ्यहरुलाई पनि माथ गर्ने सूचक भने सडक सञ्जाल र प्रविधिमा आएको परिवर्तन हो । नेपालका सातै प्रदेशका ७५ जिल्लामा सडक विस्तार भएको छ । ७५३ वटै स्थानीय सरकारले सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई प्राथिमकतामा राखेको छ । 

अनि सडकलाई पनि उछिन्नेगरी आएको परिवर्तन हो– बिजुलीको पहुँच । चकित पार्नेगरी बिजुलीको विस्तार हुँदा समग्र समाज देखिनेगरी परिवर्तनतिर धकेलिएको छ । किनकि बिजुलीको उज्यालो मात्रै विस्तार भइरहेको छैन, बिजुलीसँगै सिंगो जीवन प्रणालीमै परिवर्तन आइरहेको छ । 

बिजुलीको पहुँचले बिहानदेखि रातिसम्म, बालबालिकादेखि बृद्धबृद्धासम्म, अनौपचारिकतादेखि औपचारिकतासम्म, गाउँदेखि शहरसम्म आमनागरिकको जीवन प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । 

त्यो खुशी, अनि आज 

नेपालको कुनै भूगोलबाट संसारका जुनसुकै स्थानमा रहेका आफन्तसँग चाहेका बेला सम्पर्कमा रहन सक्ने सुविधा हामीलाई बिजुली, इन्टरनेट र दुरसञ्चारले दिएको छ । 

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार ९०.६ प्रतिशत नेपाली प्रत्यक्ष÷अप्रत्यक्ष रुपले इन्टरनेटको सुविधामा छन् । मोबाइल फोन नभएको घर भेट्न मुस्किल छ । ९८ प्रतिशत घरपरिवारसँग मोबाइल फोन रहेको एक अध्ययनले देखाउँछ । ९३ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ । 

यी तीन वटा सुविधा हुँदा बच्चाले खेल्ने खेलदेखि फुर्सद कटाउने आमासम्मको जीवनशैली फेरिएको छ । तरकारी किन्दा कागजी नोटको साटो क्यूआर कोर्डमार्फत् पैसा ट्रान्सफर गर्ने प्रचलन बढ्दो छ । इन्धनको साटो बिजुली बसको प्रयोग बढिरहेको छ । संसारका विकसित मानिसले जस्तै नेपालीले पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे विमर्श गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत् समाज चल्न थालेको छ, ब्यापार र समाजसेवा हुन थालेको छ । 

यसरी समग्र जीवन प्रणालीमै परिवर्तन ल्याउने मूल आधार भने बिजुली नै हो । र नेपालमा बिजुली उत्पादनको इतिहास रोचक छ । 

पहिलोपटक बिजुली बल्दा तत्कालीन नेपाली शासकले सार्वजनिक बिदाकै घोषणा गरेका थिए । ती शासक थिए, चन्द्र शमशेर जबरा । 

वि.सं. १९६४ साल चैतमा चन्द्र शमशेर जबराले बेलायत भ्रमण गरेका थिए । त्यहाँ उनले बिजुलीको चमत्कार देखे । त्यो चमत्कारबारे चासो राखे । 

ब्रिटिस शासकसँग आफ्नो देशमा पनि त्यस्तै चमत्कार गर्ने प्रस्ताव गरे । ब्रिटिस सेनामा नेपाली भर्ती हुँदै आएको इतिहासका कारण ब्रिटिस शासकले चन्द्र शमशेरलाई सहयोगको बचनबद्धता गरे । 

स्वदेश फर्किएपछि चन्द्रशमशेरले आफ्ना भाइ भारदारहरुमा बिजुली उत्पादन कार्यको जिम्मेवारी बाँडफाँड गरे । ब्रिटिसले उपकरण दिएपनि नेपाल ल्याउन सजिलो थिएन । हालको फर्पिङमा बिजुली निर्माण सुरु गरियो । बीरगञ्जबाट काठमाडौंमा बिजुलीको सामान ल्याउन झण्डै ६ महिना लाग्यो । 

विभिन्न तथ्यहरुका अनुसार ५०० वाटको बिजुली उत्पादन गर्न ९५ हजार कामदार खटिएका थिए । अन्ततः १९६९ साल जेठ ९ गते पहिलोपटक बिजुली बल्यो । यो खुशियालीमा राजधानीमा २ दिन सरकारी बिदा दिइयो भने जुवा खेल्न फुकुवा गरियो । 

यसपछि थप बिजुली उत्पादन गर्न २० वर्ष बढी कुर्नु परेको थियो । १९९२ सालमा सुन्दरीजलमा ६५० किलोवाट बिजुली उत्पादन गरियो, यो दोस्रो बिजुली थियो ।

जबकी नेपालमा बिजुली उत्पादनको क्षमता ८३ हजार मेगावाट क्षमता छ । प्राविधिक रुपले पनि ४३ हजार मेगावाट उत्पादन हुन सक्ने अध्यययनहरुले देखाएका छन् । 

अझ जलप्रवाही आयोजनाहरुबाट उत्पादन हुन सक्ने ७२ हजार मेगावाट जोड्ने हो भने नेपालमा एक लाख २० हजार मेगावाट बिजुली उत्पादन हुन सक्छ । तर एकात्मक र निरंकुश जहानियाँ राज्य प्रणालीका कारण लामो समय बिजुली उत्पादन बढेन । 

शासकलाई पुग्ने बिजुली उत्पादन भएकै थियो, जनताको घरमा हुने अध्यारोलाई मतलब गरिएन । तर राणाशासनको अन्त्य र पञ्चायत पनि ढलेपछि बिजुली उत्पादनमा तीव्रता आयो । 

२०५६ सालतिर प्रशारण लाइनको अभावमा बिजुली उपयोगको सन्तुलन नै बिग्रेला जस्तो भएको थियो । तर फेरि पनि मुलुकको राजनीतिक परिस्थिति प्रतिकुल रहँदा लोडसेडिङको मार खेप्नुपर्‍यो । 

२०६० सालदेखि २०७२ सालसम्म नेपालमा १६ घण्टासम्म लोडसेडिङ भयो । विस्तारका हिसाबले ५८ प्रतिशत भूगोलमा विद्युतीकरण भएपनि चर्को लोडसेडिङ र बिजुली आयातको नोक्सानी खेप्नु पर्‍यो । 

तर २०७५ सालदेखि नेपालले उल्टै बिजुली निर्यात गर्न थाल्यो । अहिले वार्षिक १८ अर्बको बिजुली निर्यात हुन्छ । आर्थिक वर्ष २०८१ ÷ ०८२ को पछिल्लो तथ्य अनुसार नेपालमा ३ हजार १५७ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।  

कुनै प्रतिकुलता नआए आगामी पाँच वर्षभित्रै ४ हजार मेगावाट बढी विद्युत उत्पादन हुनेछ । अहिले हामी देशका प्रधानमन्त्रीले भारतसँग बिजुली बेच्ने सम्झौता गर्दा उपलब्धि मान्नुपर्ने ठाउँ पुगेका छौं । 

२०८० को जेठमा भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग दश हजार मेगावाट बिजुली बेच्ने सम्झौता गरेका छन् । यो सम्झौतालाई उपलब्धि मानिनुमा आगामी सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने नेपालको लक्ष्य हो । 

यर्थात् देखिनेगरी समाजमा भइरहेको परिवर्तनको मानक बिजुली बनिरहेको छ । अझ माथि नै हामीले चर्चा गरिसक्यो कि बिजुलीको विकासले नेपाली चेतनाको विस्तार मात्र गरेको छैन, भविष्यको सम्भावना पनि देखाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise