२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

आफैंभित्र अलमलिएको क्रान्तिकारी आन्दोलन

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
आफैंभित्र अलमलिएको क्रान्तिकारी आन्दोलन

–लेखराज रेग्मी

नेपालको राजनीतिमा धेरै किसिमका समाजवादी व्याख्या हुने गरेको छ, सायद दुनियाँमा समाजवादको शास्त्रीय मान्यता नै फरक भएर पनि होला । त्यसका धेरै ‘ककटेल भेराइटीहरू’ तयार गरिएका छन् । त्यस्तै नक्कली छोडेर पनि नेपालमा तीन थरी क्रान्तिकारी छन् । नेपालले सामन्तवाद विरुद्ध व्यवहारिक लडाइँ गणना लायक ढंगले राणाशासनको उदयसँगै थालेको थियो । शास्त्रीय ढंगले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी गठनपूर्व सचेतन र गुप्त राजनीतिक गतिविधिसँगै सुरु भएको पाइन्छ । उपनिवेशवादविरुद्ध सशक्त नेपाल साम्राज्यको स्थापनाका प्रयत्नसँगै उठेको आन्दोलन जंगबहादुरको उदयसँगै अवसरवादी धारामा परिणत भएको, पृष्ठभागमा दरबारिया षड्यन्त्रले यसको बिजारोपण गरेको पाइन्छ । यही समयदेखि हाम्रो देशभक्तिपूर्ण आन्दोलनमा अवसरवादी धारा आजसम्म पनि छद्म र प्रकटरूपमा सांस्कृतिक दिवालियापनसहित विद्यमान छ । विभिन्न सन्धि सम्झौतामा देखिएको विभाजन पनि यही शासकीय सांस्कृतिक विरासतमा अन्तरघुलित नवउदारवादका कारण नै देखापरिरहेको मान्न सकिन्छ । यसरी देशभक्तिपूर्ण आन्दोलनमा पनि क्रान्तिकारी सांस्कृतिक धारा प्रबल हुन आवश्यक छ ।

तर सबै पार्टीहरूमा विरासतको अवसरवादी सांस्कृतिक प्रभाव कुनै न कुनै रूपमा अभिव्यक्त भैरहेको पाइन्छ । सामन्तवाद, साम्राज्यवाद नेपाली जनजीवन प्रभावित गरिरहने अर्थराजनीतिक र सांस्कृतिक सत्ता र प्रवृत्ति दुवै हो । यसका विरुद्ध देखिने स्वतन्त्र स्वाभिमान र आत्मनिर्भर राज्यको माग समानान्तर जनमतको रूपमा विद्यमान छ । यसकारण विभिन्न अवसरवादी तत्त्वहरू राजनैतिक तथा आर्थिकरूपमा त्यस्ता नाराहरूको सामान्यीकरण गर्न ढाँटछलकै रूपमा सही स्वीकार गर्न बाध्य छन् । यसैकारण उनीहरू पाखण्डकै रूपमा क्रान्तिकारी बन्न बाध्य छन् । यसलाई ठिक ढंगले नपर्गेलिकन नेपाल र नेपाली समाजको अग्रगामी दिशामा रूपान्तरण सम्भव छैन ।

विद्यमान अवस्थामा देखिएको यस्तो प्रवृत्ति नेपालका विभिन्न क्रियाशील राजनैतिक, सामाजिक, संघसंगठनहरूमा प्रवेश गर्ने कुण्डली मार्ने स्पष्ट वैचारिक तथा राजनीतिक सवालमा भाँडभैलो मच्चाउने इमानदार तप्कालाई कमजोर पार्ने नेतृत्वलाई घेराबन्दीमा राख्ने र संगठन कब्जा गर्ने रणनीतिमा लागिरहेका हुन्छन् । यी खराब तत्वलाई छोडेर नीति प्रतिवद्धता र प्रतिनिधित्वका आधारमा नेपालका क्रान्तिकारी शक्तिहरूको समीक्षा हुनु आवश्यक छ ।

हालको नेपाल देशीय सीमाभित्र सामन्तवादको विकासका उच्चतम् स्वरूपहरू केही थोरै केन्द्रहरूमा मात्र देखिन्छ, जहाँ स्वभाविक ढंगले आत्मनिर्भर अर्थतन्त्रको विकासको प्रकृयामा सामाजिक व्यापारिक प्रवृत्ति विकास हुँदै गरेको तथा औद्योगिक विकास र सांस्कृतिक उन्नयनका अवस्था सँगै यसको व्यवस्थापन र नियमनका प्रकृया सुरु भएका तथा आधुनिक राज्यको जग बस्न थालेका पनि देखिन्छ । पश्चिममा दार्चुला डोटी र अछामको बिचमा केही काली पारिका क्षेत्र सही एउटा केन्द्र बन्न थालेको यसको आन्तरिक प्रतिस्पर्धासँगै जुम्ला र कुमाउसँगको टकराव देखिन्छ । मध्यक्षेत्रमा सिंजा, पाल्पा र गुल्मी तथा गण्डक क्षेत्रमा गोरखा नुवाकोट र कोशी क्षेत्रमा पनि पहाडी राज्य निर्माण कामका परिस्थिति विकास भैरहेको पाइन्छ तर, नेपालको आर्थिक सामाजिक र सांस्कृतिक आधारमा काठमाडौं उपत्यकाको विकास सबैभन्दा अगाडि बढेको पाइन्छ । जहाँ–जहाँ सामन्ती राज्यव्यवस्था बन्दै र विकास हुँदै थियो त्यहाँ स्वाभाविकरूपमा आर्थिक केन्द्रहरू, कुटिर उद्योग, व्यापार तथा धार्मिक सांस्कृतिक केन्द्रसँगसँगै विकास भैरहेका थिए र पर्यापर्यटकीय चहल–पहल बढिरहेको थियो । जनसंख्या, खेती, खानी, पानी आदी पूर्वाधार र शासकीय बन्दोबस्ती यस्ता विकासका आधार थिए । 

पृथ्वीनारायण शाहको पहाडी साम्राज्य विस्तारले दक्षिणको भौगोलिक राजनैतिक हस्तक्षेपलाई नियन्त्रण गर्‍यो भने उपत्यका बाहेकका राजनीतिक केन्द्रहरूमा प्रत्यक्ष शासकीय उपस्थितिका अभावमा आफ्ना सांस्कृतिक आर्थिक राजनैतिक सत्ता र राज्य निर्माणका कामसँगै विकासका आधार कमजोर हुन थाले । दरबारिया खिचलोका कारण सन्तुलित विकासको नीति बन्न सकेन र सबैतिरका शासकीय एकाइहरूमा दोहन तथा स्थानान्तरणको प्रकृया बढ्न थाल्यो । यसरी उन्नत र केन्द्रिकृत शासनका बावजुद पुरानो र पछौटे प्रणालीप्रतिको मोहको संस्कृति विकास भयो । आजको अवस्थामा देखिने इलाकावाद, नातावाद, नश्लवाद र राज्य भूगोल तथा जनताप्रतिको गैरजिम्मेवार प्रवृत्ति यही अधकल्चोपनका कारण र परिणाम हुन । यसको समसामयिक राजनीतिमा परेको प्रभाव नै गैरजिम्मेवार भ्रष्ट र चाटुकार चरित्रको हालिमुहाली हो । यसलाई जगदेखि नै परिवर्तन नगरी हुने उपरिसंरचनाको हेरफेरले देशलाई बलियो बनाउँदैन र पटक–पटक फरफ–फरक ढंगले पश्चगामी सोच र चिन्तनले टाउको उठाइरहन्छ ।

बाह्य चेतनाको प्रभावमा आएका राजनैतिक नेतृत्वहरूमा आन्तरिकरूपमा विद्यमान दब्बु अवसरवादी र पछौटे सांस्कृतिक वैचारिक प्रभावका कारण उनीहरूको क्रान्तिकारी चेत धूमिल पर्ने गरेको पाइन्छ । नेपाली बाम प्रजातान्त्रिक आन्दोलनमा ठूलो संख्यामा राजनीतिकर्मी बुद्धिजीवीहरू यही किसिमका छन् । पछौटे सामन्ती राज्यव्यवस्थाका विरुद्ध उन्नत प्रजातान्त्रिक पद्धतिको लागि संघर्षको अगुवाइको भूमिकाका कारण यिनीहरू क्रान्तिकारी हुन् तर, विरासतकै सांस्कृतिक चिन्तन र आचरणका प्रभावका कारण तिनीहरू निर्णायक क्रान्तिकारी चरित्र बहन गर्न असमर्थ छन् । यसरी बौद्धिकरूपले क्रान्तिकारी तर, आचरण र व्यवहारमा पुरातनपन्थी हुनु यो तप्काको अभिशाप नै हो । 

औसतमा किसान परिवारमा जन्मेका आफ्नै उत्पादनका साधनमा भर परेको आर्थिक, सामाजिक, सांस्कृतिक जीवन व्यतीत गरिरहेका थोरै धेरै कृषिमा आधुनिकीकरण बारे जानेबुझेका पठित युवाहरूमा उत्पादकत्व वृद्धि र जीवनस्तरमा प्रगति चाहने जिम्मेवार र जनउत्तरदायी आधुनिक राज्यको आवश्यकता बोध गरेका अर्धसामन्ती तथा नोकरशाही पुँजीवादी शासकीय प्रवृत्ति तथा बजार अर्थतन्त्रमा बाह्य पकड बढ्दै गरेको महसुस गरेका, आफ्नो आर्थिक सामाजिक जीवन पद्धति धरापमा पर्दै गरेको महसुस गरेका तथा आधुनिक र जिम्मेवार राज्य प्रणालीमा पर्याप्त अवसर मिल्ने सम्भावना आकलन गर्ने युवा पिँढी सचेत हस्तक्षेपद्वारा परिवर्तनलाई सम्भव बनाउन सकिने आँकलनसहित परिवर्तनको बाधक मानिएको राज्यव्यवस्था र राजनैतिक प्रणाली परिवर्तन गर्न न्यौछावर हुन्छ । यसै तप्काबाट राजनैतिक नेतृत्व पनि जन्मिने गर्दछ । यो ऊर्जाशील क्रान्तिकारी राजनीति शक्तिको स्रोत हो । यसै वर्गआधार र चेतन प्रवृत्तिबाट पछौटे वा आधुनिक राज्यले प्रशासनिक, सुरक्षा तथा नीति व्यवस्थापनमा जनशक्ति प्राप्त गर्ने हो । यसरी बढी प्रतिस्पर्धात्मक तर, कम जोखिमयुक्त यो विकल्प पनि उनीहरूका लागि खुला हुन्छ । थोरै मात्र पूर्वाधार र साधनस्रोत व्यवस्थापन गर्न सक्दा वैकल्पिक आर्थिक उन्नति प्राप्त गर्न सम्भव पनि देखिन्छ र कुशल व्यवस्थापन र कडा मेहनत गर्दा सकारात्मक परिणाम र वर्ग रूपान्तरण गर्न सफल केही नमुना मानिसहरू यसै तप्काबाट आएका उदाहरणहरू छन् ।

यसरी यी दुवैथरी क्रान्तिकारी चेतना सोच र कृयाशिलतासहित समाजमा व्यक्तित्व बनाउन सफल क्रान्तिकारी युवाहरूको जमातले सहज ढंगले क्रान्तिकारी राजनीतिमा आफ्नो स्थान बनाउने गर्दछन् । युवा विश्वेश्वर, पुष्पलाल मदन भण्डारी, प्रचण्डहरू समसामयिक राजनीतिमा उच्चतम् स्थान प्राप्त गर्न सफल छन् । आर्थिक सामाजिक परिवर्तनको लागि तात्कालिक समयको पिँधको वर्ग नउठी र सचेत संगठित सहभागिता नजनाई राजनैतिक सामाजिक परिवर्तन सम्भव छैन । त्यसैले सबै राजनैतिक शक्तिहरू यही वर्गलाई आधार बनाएर राजनीति गर्दछन् । यो वर्गबाट राजनैतिक नेतृत्वमा आक्कल झुक्कल मानिसहरू पुग्दछन्, जब पुग्दछन् उनीहरूले धेरै अवसरहरू पाउँछन् तर, उनीहरूको वर्ग फेरिन्छ, जुन वर्गको राजनीतिमा ती व्यक्ति प्रवेश गर्छन् त्यसैको जिम्मेवार नेता बन्दै उनको आर्थिक सामाजिक हैसियतमा फरक आउन थाल्छ र उनीहरू विरासतप्रति जवाफदेही रहँदैनन् । 

कार्ल मार्क्सबाट वर्ग विश्लेषण गर्दा आर्थिक–सामाजिक आधारलाई मापक बनाउँछन् र आधुनिक औद्योगिक मजदुर वर्गलाई समाजको सबैभन्दा पिँधको र सबैभन्दा नयाँ र अन्तिम वर्गको रूपमा परिचय गराउँछन् र यो वर्गले आफ्नै अगुवाइमा क्रान्ति गर्दा राज्य वर्ग र व्यक्तिगत स्वामित्व नै अन्त्य हुने, समाज नै सम्पत्तिको मालिक बन्ने र सबै विभेद समाप्त हुने कुरा गर्दछन् र यही वर्ग नै सबैभन्दा क्रान्तिकारी रहेको घोषणा गर्दछन् । तर, त्यसको लागि उभित्रको एउटा तब्का दार्शनिक, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिकरूपले हरावलको हैसियतमा विकास गर्नुपर्छ र यसले एउटा अन्तरिम अवधिभर अधिनायकवाद अभ्यास गर्नुपर्छ । यही नै सबैभन्दा क्रान्तिकारी र सबैभन्दा ताकतवर अन्तिम शासक बन्ने सौभाग्य प्राप्त राजनैतिक शक्ति बन्दछ ।

आज पहिलो र दोस्रो श्रेणीका क्रान्तिकारीहरूले अन्तिम क्रान्तिकारी शक्ति आफै भएको डिङ हाँकिरहेको पाइन्छ । सायद, त्यो पनि एकहदसम्म एउटा छोटो अवधिको लागि सम्भव होला तर, सम्पूर्ण विरासतबाट मुक्त नभै कुनै पनि हालतमा सम्भव छैन । त्यसैले हामीले सर्वप्रथम आफ्ना क्रान्तिकारीताका सीमा अनुभूत गरौँ, दोश्रो आफ्ना सीमा र कमजोरी मेटाउन प्रयत्न गरौँ, आफूलाई सक्दो रूपान्तरण गर्दै जाऔँ र तेश्रो सिंगो नयाँ र क्रान्तिकारी वर्ग पहिचान गरौं, आफूलाई सम्पूर्णरूपमा त्यसको अनुकुल बनाउन इमानदार प्रयास गरौँ । नेपाली कम्युनिष्ट आन्दोलनमा जातीय आधारमा पीँधबाट शीर्ष स्थानमा पुग्न सफल रूपलाल विश्वकर्मा, मजदुर वर्गबाट मजदुर वर्गको पार्टीको शीर्ष स्थानमा पुग्न सफल निर्मल लामा, सम्पन्न वर्गबाट श्रमिक वर्गको जीवन अनुभूत गर्ने आफैं रूपान्तरणका उदाहरण बनेका स्वनाम साथी र रूपचन्द्र विष्ट, यिनीहरूलाई सार्थक ढंगले बुझौँ, कमिकमजोरीसहित अनुभूत गरौँ र सार्थक शिक्षा ग्रहण गरौँ । मार्क्स वादको वर्गीय तथा निवर्गीय शिक्षासहित क्रान्तिकारी आन्दोलन र भूमिकामा आफूलाई अभिप्रेरित गरौँ ।

ADVADV

सम्बन्धित खबर

Advertise