–छबि सापकोटा
नेपाल भान्छा परम्पराबाट डिजिटलमा मोडिँदै गएको छ । यसको प्रमुख भूमिका भान्छामा विद्युतीय उकरणको प्रवेशले देखाएको छ । भान्छामा फ्रिज, माइक्रोओभन, मिक्स्चर, पानी तताउने जगदेखि विद्युतीय चुलोले विद्युतको खपत बढाइरहेको छ । घरमा सबैभन्दा धेरै विद्युतको खपत गर्ने स्थल बनेको छ भान्छा ।
मोडुलर किचनको अवधारणले समेत भान्छालाई डिजिटलतर्फ लैजान मद्दत गरेको छ । भान्सामा प्रयोग हुने उपकरणहरूले विद्युत आवश्यकतालाई बढाइरहेका छन् । पछिल्लो समय भान्छामा विद्युतीय (इन्डक्सन) चुलोले भान्छालाई इलेक्ट्रिक युगमा प्रवेश गराएको छ । पेट्रोलियम पदार्थ, बढ्दो मूल्यवृद्धि र विद्युतमा आत्मनिर्भर बनेको नेपालमा पछिल्लो एक दशकमा विद्युतीय उपकरणमध्ये इन्डक्सन चुलोमा प्रयोग ह्वात्तै बढिरहेको छ ।
प्रविधिमा आएको परिवर्तन र विद्युत उत्पादनमा भइरहेको प्रगतिसँगै विद्युतीय चुलोको खपत दिनानुदिन बढ्दो छ । विशेषगरी सहरी बस्तीहरूमा विद्युतीय चुलोको प्रयोगमा उछाल आएको छ । सरकारले प्रशासनिक क्षेत्र सिंहदरबारमा ग्यासलाई विस्थापित गर्न इन्डक्सन चुलोको प्रयोग गर्ने नीति अघि सारेको छ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको रूपमा सिंहदरबारमा समेत विद्युतीय चुलोको प्रयोग गरिएको हो । एलपी ग्यासको विकल्पमा इन्डक्सन सुरुवातले हाम्रो भान्छालाई सस्तो बनाएको समेत छ । खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठुलो धनराशि बाहिरिएको छ ।
तर, अहिले बिस्तारै स्वदेशमै उत्पादन बढिरहेको विद्युतलाई विकल्पको रूपमा इन्डक्सन चुलो बनिरहेको छ । सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोगमा सहुलियत दिनका लागि इन्डक्सन खरिदमा छुटसमेत दिएको थियो । अब स्वदेशमै विद्युत खपत बढाउनका लागि महसुलमा समेत छुट लिएर अगाडी बढ्ने हो भने पेट्रोलियम पदार्थ आयातलाई कम गर्दै विस्थापित गर्न समेत सक्ने देखिन्छ । विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्पको रूपमा देशभर अभियानको रूपमा जान सक्ने हो भने घर–घरमा विद्युतीय चुलो प्रवेश हुनेछ । वि.सं. २०७२ सालको नाकाबन्दीको समयदेखि नै नेपालीको भान्सामा विद्युतीय चुलो प्रवेश बाध्यात्मक अवस्थामा प्रवेश गरेको थियो तर, पछिल्लो एक दशकमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने भएकोले समेत उपभोक्तामा विद्युतीय चुलोप्रतिको आकर्षण बढ्न गएको छ ।
२५ वर्षअघि वि.सं. २०५६ सालमा पाँच जनाका परिवारले मट्टितेलमा खाना बनाउँदा दुई सय ७९, ग्यासमा खाना पकाउँदा चार सय ३० र विद्युतीय चुलोमा पकाउँदा छ सय ८० रुपैयाँ पर्ने गथ्र्याे । त्यति बेला इन्धन सस्तो थियो भने विद्युत महँगो थियो । त्यसैले भान्छामा विद्युतीय उपकरणको प्रयोग निकै कम गरिथ्यो । तर, यो २५ वर्षको अन्तरालमा आजको दिनमा हेर्ने हो भने मट्टितेलमा पाँच जनाको परिवारलाई एक महिना खाना बनाउँदा तीन हजार, ग्यासमा दुई हजार र विद्युतीय चुलोमा खाना बनायो भने मात्र नौ सय मात्र पर्ने एक अध्ययनले देखाएको छ । यसले के देखाउँछ भने अब भान्छालाई सस्तो बनाउने र पेट्रोलियम पदार्थले गराएको व्यापार घाटालाई कम गर्नका लागि विद्युतीय चुलोलाई भरपर्दो रूपमा अगाडी बढाउनै पर्छ ।
गत वर्ष ५३ अर्बको एलपीजि ग्यास आयात भएको छ । यसलाई विस्थापन गर्नका लागि विद्युतीय चुलोको प्रमुख भूमिका देखिन्छ । नेपालमा ९८ प्रतिशत विद्युतको पहुँच पुगेको छ । आगामी आर्थिक वर्ष शत प्रतिशत पुर्याउने लक्ष्य प्राधिकरणको छ । ग्यासको तुलनामा ५० प्रतिशतभन्दा सस्तो र नेपालको ऊर्जालाई स्वदेशमै खपत बढाउनका लागि पनि इन्डक्सन चुलो कडी बनिरहेको छ ।
विज्ञहरूको भनाइलाई आधार मान्दा नेपाल आयल निगमले ग्यासमा दिएको सहुलियत बन्द गर्ने हो भने आयातित ग्यासको मूल्य अझै बढ्छ र जनता आफै विद्युतीय चुलोको प्रयोग बढाउँछन् । तर सरकारले विद्युतको क्षमता बढाइदिनुपर्छ । अहिले जसरी सहरी भान्छामा विद्युतीय चुलोको प्रवेश भएको छ, यसलाई गाउँबस्तीसम्म पुर्याउने अभियानको रूपमा अगाडी बढाउने हो भने नेपालको समृद्धिको यात्राको सुरुवातमा अग्रपत्तिंमा विद्युतीय भान्छा बन्न सक्छ ।
पाँच वर्षमा विद्युतीय चुलो आयात
आर्थिक वर्ष २०७६/७७ मा १० हजार ४३५ थान विद्युतीय चुलो आयात
आर्थिक वर्ष २०७७/७८ मा कुल १ लाख ५५ हजार ५९० थान विद्युतीय चुलो आयात
आर्थिक वर्ष २०७८/७९ मा कुल १ लाख ६७ हजार १७९ थान विद्युतीय चुलो आयात
आर्थिक वर्ष २०७९/८० मा २ लाख ६ हजार ६८७ थान विद्युतीय चुलो आयात
आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७० हजार २४५ थान विद्युतीय चुलो आयात
जसरी अहिले नेपाली भान्सामा विद्युतीय उपकरणले काम गर्न सहज बनाएको छ, त्यति नै विद्युतको प्रति व्यक्ति खपतसमेत बढाएको छ । विद्युतको सहजताले विद्युतीय उपकरणको आवश्यकता अपरिहार्य बनेको छ । भान्छा विद्युत उपकरण नदेख्ने हो भने किन प्रयोग नगरेको भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । यस्तै, अझै पनि देशका ग्रामीण भेगसम्मको विद्युतीय उपकरण चलाउनका लागि विद्युत सस्तो र भरपर्दो छ भन्ने मात्र सन्देश जाने हो भने विद्युत खपतको थलो बन्न सक्छ भान्छाघर । अहिले घरायसी प्रयोजनमा प्रयोग हुने एलपीजी ग्याँस महँगो र विद्युत् नियमित हुन थालेपछि उपभोक्ताले विद्युतीय चुलोको प्रयोग बढाउन थालेका हुन् । विद्युतीय चुलो आयात र खाना पकाइने प्रयोजनका लागि विद्युतीय ऊर्जा खपतसमेत बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नेपालका लागि वरदान साबित हुँदै गएको विद्युतीय उपकरण देश र जनताको लागि समेत अवसर हो ।
विद्युतीय चुलोको उपयोग बढाएर राज्यको ढुकुटी बलियो बनाउने की पेट्रोलियम पदार्थको आयातलाई बढाएर व्यापार घाटा बढाउने ? प्रश्न गम्भीर छ । बर्सेनि भान्छामा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयातलाई घटाउँदै लगेमा छिट्टै बाह्य व्यापार घाटासमेत रोक्न सकिन्छ ।