२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

चाडपर्वलाई बेथितिमुक्त बनाउने सवाल

ADV
२०८१ असोज २३ गते ०६:१५
चाडपर्वलाई बेथितिमुक्त बनाउने सवाल

–खिमराज गिरी 

नेपालमा सबैभन्दा महत्वपूर्णरूपमा मनाइने चाडबाडहरूमा दशैं पनि एक हो । यसको महत्व धेरै पक्षहरूसँग सम्बन्धित छ । यो चाड सबै वर्ग, उमेर, समूह, उमेर तथा समुदायका मानिसहरूद्वारा भब्यरूपमा मनाइन्छ । दशैंलाई पारिवारिक पुनर्मिलन, आशीर्वाद लिनेदिने र विश्वासको चाडको रूपमा पनि लिइन्छ ।  

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व

दशैं विशेषगरी हिन्दुहरूको महान् चाडको रूपमा रहेको पाइन्छ तथापि, हाल अन्य धर्मावलम्बीहरूले पनि यसमा आस्था राख्दछन् । नेपालको कानुनी व्यवस्थामा पनि केही कुराहरू हिन्दु परम्परा र संस्कृतिलाई मान्यता दिएको पाइन्छ । यो पर्व विशेषगरी हिन्दुहरूको आस्थाकी देवी दुर्गाले दैत्य राजा महिषासुरमाथि देवी दुर्गाको विजय प्राप्त गरेको दिन र खराब कामप्रति विजयको प्रतीकको रूपमा मनाइँदै आइएको छ । यसले दैवी शक्तिको विजयलाई प्रतिनिधित्व गर्दछ । तसर्थ, ठुलो धार्मिक पर्वको रूपमा लिइन्छ यस पर्वलाई । 

सामाजिक सद्भाव तथा पारिवारिक मिलन

विभिन्न बाध्यताले लामो समयसम्म विदेसिएका आफन्तजन तथा परिवारका सदस्यहरू एकसाथ जमघट भई जीवनमा सुख दुःखको अनुभूति साटासाट गर्ने तथा विगतमा भएका घटनाक्रमहरूको समिक्षा गरी सुन्दर भविष्यको रूपरेखा तय गर्ने पर्वको रूपमा पनि हेरिन्छ । अर्कोतिर टोल छरछिमेक तथा समाजमा एक–आपसमा सानातिना कुराहरूले बाझिएको मन पनि यही पर्वले सामाजिक सद्भाव तथा मेलमिलापको वातावरण सिर्जना गरिदिन्छ । त्यस कारणले पनि यो पर्वको महत्व अधिक रहेको पाइन्छ । 

परम्परागत अनुष्ठान

दशैंमा घरायसी देवी देवताहरूको पूजा गर्ने, ठुलाबडा तथा मान्यजनहरूबाट आर्सीवाद लिने, देवीदेवतालाई बली चढाउनेलगायत विभिन्न अनुष्ठानहरू हुन्छन् । यस्ता चलनहरूले धार्मिक तथा सांस्कृतिक परम्परालाई कायम राख्न मद्दत गर्दछन् । हाम्रो जस्तो तेस्रो विश्वका मुलुकहरू विदेशी पश्चिमी सांस्कृतिक साम्राज्यवादको मनोभावनामा बिलाउन खोजेको भनिएता पनि हाम्रो समाजले अझै पनि आफ्नै विविध सांस्कृतिक मान्यतालाई भने त्यागेको छैन । अष्टमी र नवमीको दिनमा देवी देवताको लागि हिन्दु मठमन्दिरमा पशुबली चढाउने तथा घरघरमा पनि बली चढाउने चलन रहेको छ । यसलाई भवानी दुर्गालाई सम्मान गरेको र पशुलाई पनि पापबाट छुटकारा दिई मुक्ति प्राप्त गर्ने दिनको रूपमा रहेको भन्ने मान्यता छ ।

आकर्षक माहौल

दशैंको मुख्य आकर्षकमध्येको एक फूलपातीको दिन पनि हो, जुन सातौँ दिनमा पर्दछ । यस दिन गोरखाबाट काठमाडौँ हनुमान ढोकामा पवित्र फुलपाती, धुपधिप तथा नैवेद्य भित्र्याउने चलन छ । जुन नेपालको लागि एक ऐतिहासिक परम्परा हो । आठौँ, नवौँ दिनलाई महाअष्टमी र महानवमी भनिन्छ । उक्त पर्वले वरिपरिको आकाशमा रंंगिन चङ्गाहरू उडाउने, घर–आँगन सफा सुग्घर राख्ने तथा खर्चको जोहो गर्ने, नयाँ कपडाहरू प्रयोग गर्ने, जताततै विभिन्न सांस्कृतिक परम्पराअनुसार नृत्य तथा विभिन्न साङ्गीतिक मोडहरू सिर्जना गर्ने आदि कारणले पनि यसको महत्व निकै देखिन्छ । जसले गर्दा, नेपालको सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गरेको महसुस हुन्छ । 

यस पर्वमा हरेक घरघरमा मीठा–मीठा खानाका स्वादिष्ट परिकारहरू बनाइन्छ र परिवारजनमा एक किसिमको सौहाद्रताको वातावरण पैदा भएको पाइन्छ । दशमीको दिन टाढा टाढाबाट आफन्तजनको जमघट भई आफूभन्दा मान्यजनको हातबाट टिका ग्रहण गरिन्छ । जुन आशीर्वादले वर्षभरी आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ । यसको साथै, यो पर्वले नेपालको कृषि क्षेत्रलाई पनि विशेषरूपमा समेटिएको पाइन्छ । किनकि नेपालको अर्थतन्त्रलाई कृषिको महत्वको रूपमा स्वीकार गरेको छ यो पर्वले । यसरी नेपालमा मनाइने हिन्दुहरूको महान् चाड दशैंले एकातिर हर्षोल्लास र मनोरञ्जन प्रदान गरेको छ भने अर्कोतिर दीन दुःखीहरूको घरआगनको कथा व्यथालाई भने थप बढाएको पाइन्छ ।

वास्तवमा नेपाल एक कृषिप्रधान देश हो र यहाँका अधिकांश मानिसहरूको आयआर्जनको मुख्य स्रोत भनेको कृषि र प्रायः विदेशको कमाई नै हो । देशको अर्थतन्त्र रेमिट्यान्सले नै धानिएको छ भन्ने तथ्य गत वर्षको तुलनामा यो वर्षको रेमिट्यान्स करिब १७ प्रतिशतले बढेको तथ्याँकबाट पनि पुष्टि हुन आउँछ । स्वदेशमा न त रोजगारको व्यवस्था छ, न त कुनै व्यापार तथा व्यवसाय गर्ने वातावरण नै । भएका उद्योग धन्दा तथा व्यापार व्यवसायहरू प्रायः विदेशीको पकडमा छन् । सानातिना उद्योगधन्दाहरू आर्थिक मन्दीका कारण उत्पादनशील नभई उत्पादनहीन अवस्थामा पुगेका छन् । कृषि क्षेत्र अझै पनि परम्परागत खेती प्रणालीमा आधारित छ । सरकारी जागिरको हकमा हजार जनामा दुई जना लोटेरी परेजस्तो कल्पनामा सीमित मात्र हो चाहे जतिसुकै एकेडेमिक भए पनि । तसर्थ, यहाँका प्रायः जनता अझै पनि गरिबीका रेखामुनी जीवन जिउन बाध्य छन् । 

फेरि एकातिर पश्चिमाहरूको सांस्कृतिक प्रभावले नेपालीहरूलाई अनेकौं नयाँ–नयाँ फेसन तथा प्रविधिले लोभ्याएको छ अर्कोतिर परिवारमा एक जना कमाउने, सात जना रमाउने वातावरण भएपछि आर्थिक भार त्यसै पनि पर्ने नै भयो । समाजको भड्किलो प्रवृत्तिले गरिब जनताको लागि दशैं, दशैं नभई पनि दशा हुने स्थिति सिर्जना हुन्छ । किनकि एक छिमेकीको भड्किलो संस्कारले अर्को छिमेकीको मन पनि कटक्कै हुन्छ र समाजमा देखाउनकै लागि भए पनि ऋण खोजेर चाडवाड मनाउन बाध्य हुन्छन् । अझ तिज पर्व मनाउँदा एक महिनादेखि नै दर खाने नाममा अनेकौं महँगा महँगा लुगा तथा गहनामा सजिएर सान तथा रवाफ देखाउन पर्ने हाम्रो जस्तो पिछडिएको समाजमा हरेक चाडवाडले खुसी, मिलन तथा सद्भावको वातावरण सिर्जना गरे पनि अर्कोतिर दुःखको चपेटामा जेलिएको थाहै हुँदैन । 

तसर्थ, ऋण खोजी–खोजी अर्काको खुसीको लागि मनाउनुभन्दा यस्ता पर्वहरूलाई मितव्ययीरूपमा, समाजलाई पनि नभड्काउने तरिकाले आफ्नो गच्छेअनुसार मनाउन सकियो भने पारिवारिक सद्भाव बढ्नुको साथै, ऋणको भारबाट पनि मुक्त हुन सकिन्छ । अन्यथा, चाडवाडको नाममा एकातिर खुसी छाए पनि सो पर्व सकिएको भोलिपल्ट निदारमा हात लगाउनुको विकल्प हुने छैन । यसमा सरकार तथा सरोकारवाला सबै जना चाडवाडको नाममा भएका र हुने गरेका यस्ता विकृति र विसङ्गति विरुद्ध सजग हुनु जरुरी छ । यो रमाइलो मात्र नभएर देशको सांस्कृतिक समृद्धि र आध्यात्मिक गहिराइको सम्झना पनि हो । सबै जना सधैँभरी हाँसी खुसी रहने मान्यताको रूपमा पनि यसलाई लिन सकियोस् । शुभकामना !

ADVADV

सम्बन्धित खबर

Advertise