२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

डिजिटल दक्षिणा

ADV
२०८१ असोज २३ गते ०६:२०
डिजिटल दक्षिणा

–सन्दिप वि.क

हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ घर आँगनमा भित्रिसकेको छ । दसैँमा परम्परादेखि नै ठुलाबडाले टिका, जमरा लगाउँदै आशिष् दिनुका साथै गक्षअनुसार दक्षिणा दिने परम्परा पनि चलिआएको छ । जसको प्रभाव ठुला पर्वहरू आउँछन्, तब हाम्रा बैंकहरूमा नयाँ नोट साट्नेहरूको भिड लाग्ने गर्दछ । चाडपर्वमा नयाँ नोटको माग हुनुको मुख्य कारण पनि आफन्तजनहरूलाई दक्षिणा दिन, बालबच्चालाई नयाँ नोट दिएर खुसी पार्न हो । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा, नेपालमा वर्षेनि करिब चार सय मिलियन नयाँ नोट प्रिन्टिङमा खर्च हुने गरेको छ । त्यसैगरी करिब ४० देखि ५० बिलियन बराबर नोट नष्ट गरिँदै आएको छ । 

सर्वसाधारणहरूको लापरबाहीले गर्दा नै नोट काटिने, च्यातिने, रङ लाग्ने र झुत्रो हुने हुँदा नष्ट गर्नुपर्ने बाध्यता रहिआएको । यदि सर्वसाधारणले उक्त नोटहरूको जतन गर्ने हो भने नोट प्रकाशनमा वर्षेनि हुने करिब चार सय मिलियन रकम बचत हुने जानकारहरू बताउँछन् । सोही कुरालाई मध्यनजर गर्दै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्नुको सट्टा सुकिला नोट नै सटही गरेको छ । तर, सुकिला नोटमा नयाँ नोटको जस्तो उत्साह देखिएको छैन । 

आज विश्व नै डिजिटलतर्फ उन्मुख भइरहेको बेला हामीले मनाउने चाडपर्वहरूलाई पनि समयानुकूल डिजिटलतर्फ लैजान आवश्यक देखिन्छ ।

आफन्तजनहरूप्रति गरिने दक्षिणा डिजिटल युक्त बनाइ त्यसको आधुनिकीकरण गर्नु अपरिहार्य छ । देशको ठूलो रकम नोट प्रिन्टमा खर्च हुने हुँदा नयाँ नोटको मागलाई घटाइ डिजिटल दक्षिणा गर्न सकिन्छ । पछिल्लो केही वर्षयता ‘डिजिटल दक्षिणा’का विषयमा चर्चा र बहस हुँदै आएको छ । नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनुपर्छ भन्ने तर्क विज्ञहरूको छ ।

विगतका वर्षहरूमा कोरोना भाइरस (कोभिड–१९)को महामारीको बेला डिजिटल कारोबारले खुब चर्चा पाएको थियो । यही चर्चाका बिच केही बैंकहरूले चाडपर्वलाई जोडेर डिजिटल दक्षिणाको फ्रेम वर्क बनाएका हुन् । बैंकले दसैँमा डिजिटल दक्षिणा दिनेहरूलाई आकर्षक उपहार नै दिने गरी योजना सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको नीति पनि डिजिटल दक्षिणालाई प्रवर्द्धन गर्ने खालको छ । यसर्थ, दसैँमा नोटबाट होइन, डिजिटलबाट दिने परिपाटीलाई अगाडि बढाइनुपर्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या दिनप्रतिदिन बढेको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो महिना तीन लाख १२ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या थपिएको छ । सार्वजनिक तथ्यांकअनुसार भुक्तानी साधनहरू मध्येको एक मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या साउन मसान्तसम्म दुई करोड ४९ लाख ६१ हजार १६५ पुगेको हो । अघिल्लो महिना २०८१ असार मसान्तसम्म यस्तो संख्या दुई करोड ४६ लाख ४८ हजार ८४६ रहेको थियो । 

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल तीन खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको थियो । २०८१ असारमा यस्तो कारोबार तीन खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भएको थियो । समीक्षा अवधिमा दुई करोड ४२ लाख ५७ हजार विभिन्न भुक्तानी वालेट प्रयोगकर्ताहरूमार्फत जम्मा ४३ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो असार पहिलो वालेटमार्फत ३८ अर्ब १४ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । यसैगरी, समीक्षा अवधिमा आरटीजीएस सिस्टममार्फत १०८ खर्ब तीन अर्ब दुई करोड रुपैयाँ कारोबार भएकोमा कनेक्ट आइपीएसमार्फत पाँच खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, इन्टरनेट बैंकिङमार्फत २२ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, समीक्षा अवधिमा डेबिट (एटीएम) कार्डमार्फत ९१ अर्ब ९३ करोड रुपैयाँ कारोबार हुँदा क्रेडिट कार्डमार्फत जम्मा दुई अर्ब रुपैयाँको कारोबार भएको थियो । यसरी पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढिरहेको बेला हामीले दिने दक्षिणा वा अन्य भुक्तानीहरू डिजिटल माध्यमबाट नै सुरुवात गर्न आवश्यक छ । प्रत्येक व्यक्तिले क्युआर साथमै लियौँ र भुक्तानी गर्दा वा प्राप्त गर्दा त्यसको प्रयोग गरौँ । खुद्रा पैसाको झन्झट पनि नहुने, कारोबार गर्न साथ बैंकको ब्याज सुरु हुने, चोरी हुनबाट बच्ने तथा पैसा जम्मा गर्नकै लागि झोला लिएर हिँड्न नपर्ने भरपर्दो र विश्वासिलो तथा सजिलो माध्यम डिजिटल कारोबार भएकाले यो सम्पूर्णको लागि महत्वपूर्ण छ । त्यसैले यो वर्ष सम्पूर्ण प्रयोगकर्ताबाट नै डिजिटल दक्षिणाको सुरुवात गरौँ र परम्परागत दक्षिणा शैलीलाई आधुनिकीकरण गर्दै खातामा नै रकमान्तर गरेर डिजिटल कारोबारलाई बढवा दियौँ । यसले पैसाको बचत, नोटको हिफाजत तथा छपाइ खर्च बच्ने हुन्छ । 

डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै, आर्थिक सुरक्षा पनि वृद्धि गर्नेछ । दसैँमा डिजिटल दक्षिणाको सुरुवात हुनु सबैका लागि राम्रो हो । कतिपय विज्ञको भनाइलाई लिने हो भने चाडपर्वमा नयाँ नोट सटही बन्द गरिनुपर्छ । यदि त्यसो गरिएमा मानिसहरू बाध्यकारीरुपमा पनि डिजिटल दक्षिणामा निर्भर पर्ने अवस्था हुन्छ । नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन् । जसलाई हेर्दा पनि डिजिटल कारोबारलाई बढवा दिनु हितकर हुन्छ । 

दक्षिणालाई डिजिटल बनाउँदा पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैंकलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाइ पनि हुँदैन । सानो इकाईका खुद्रा नोटहरू व्यवस्थापन गर्न पनि राष्ट्र बैंकलाई सकस हुँदै आएको छ । यसैले बैंक तथा वित्तीय संस्थाहरूको कतिपय शाखाहरूमा भल्टमा होइन भल्ट रुममै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन् । खुद्रा नोट व्यवस्थापन साँच्चै नै समस्याको रूपमा रहेको छ । जसको विकल्पको रुपमा पनि डिजिटल कारोबारलाई लिन सकिन्छ । आगामी दिन त्यो दिशातर्फ हामी सबै लाग्नुको पनि विकल्प छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise