२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

गोरक्ष हाट बजारको उद्घाटन, स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने लक्ष्य

ADV
लेखनाथ सिकारु
२०८१ असोज २२ गते २२:३५
गोरक्ष हाट बजारको उद्घाटन, स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने लक्ष्य

काठमाडौं : विश्व हिन्दु युवा संघ नेपालले शुरु गरेको गोरक्ष हाट बजारको विधिवत् उद्घाटन गरिएको छ । काठमाडौंको बत्तीस पुतलीस्थित प्रदर्शनी स्थलमा होम,यज्ञ गरी वैदिक विधि अनुसार गुरु गोरखनाथको उपस्थितिमा गोरक्ष हाटको उद्घाटन गराइएको हो ।

‘खोजी मौलिकताको अभियान समृद्धि’को भन्ने नाराका साथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्घाटन गरिएको बताइएको छ । 

अर्गानिक र नेपाली उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले हाट बजार शुरु गरिएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए । हाट बजार प्रत्येक हप्ताको शनिबार लाग्ने गरेको छ । बजारमा विभिन्न किसिमका नेपाली उत्पादन सामाग्री बिक्री कक्षमा राख्ने गरिएको छ । उक्त बजारमा नेपाली उत्पदन मात्रै बिक्री गरिने बताइएको छ । 

नेपालको आधारभूत तहमा रही गामघर शहर, तराई, पहाड हिमालका सबै भूगोलबाट देश र जनतासँग जोडिएका मौलिक उत्पादनहरू(स्वदेशी उत्पादन)को बिक्री  व्यवस्थापन गर्ने उद्देश्यले स्थापित गोरक्ष प्रालिले काठमाडौंको गौशालामा हाट बजारको शुरु गरेको हो । 

बजारमा गाँजाको तेल, तितेपातीको तेलसहित गाईको गोबरबाट बनेको धुप, गमला, गाँजाबाट बनेको अस्कोट, ब्याग, टोपी, जुत्तासहित अल्लो लगायत विभिन्न उत्पादनहरु पाइन्छन् । 

बिक्री कक्षमा  मार्सी चामल , जुम्लाको स्याउ, जौको पिठो, दाल,गेडागुडी, लोकल अचार आदि खरिद गर्न सकिन्छ । उपभोक्ताले हाटको दिन मात्रै नभइ अन्य दिन पनि गोरक्ष मार्टबाट सामान खरिद गर्न सक्ने ब्यवस्थापक पक्षले जानकारी गराएको छ ।

अर्गानिक बस्तु र नेपाली उत्पादन ,संस्कृति र परम्पराको उपभोग गराउने उद्देश्यले प्रेरित उक्त संस्थाले नेपाली उत्पादन उपभोग गर्नाले नेपाली पैसा बाहिर जानबाट रोकिन सहयोग पुग्ने र स्वास्थ राम्रो हुने विश्वास लिइएको छ । संस्थाले नेपाली कफी पिउन पाइने क्याफे सञ्चालन गरेको छ । साथै मिटिङ हल,विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा भोज भतेर गर्न सकिने गरी सेवा सञ्चालन गरेको अध्यक्ष शाहले जानकारी दिए ।

 युवा संघले  हिन्दु धर्मको संरक्षण एवम् सम्वद्र्धन गर्दै विश्व गुरु राष्ट्रका रुपमा नेपाललाई चिनाउने उद्देश्यका साथ स्थापना भएको यो संस्थाले आफ्ना गतिविधिहरुलाई अझ सशक्त ढंगले अगाडि बढाउँदै स्थानीय उत्पादनलाई समेत प्रवद्र्धन गर्दै देशमा भएको युवा पलायनलाई रोक्ने प्रयास गर्ने बताएको छ । 

ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्षभूमी नेपाललाई विश्वशान्तिको लागि पुनः विश्व गुरुराष्ट्रका रूपमा स्थापित गराउन विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ (ग) को सिद्धान्त गोरक्षनाथ, गाई, गाउँ, गाँजा (आर्युवेद) र ज्ञान (वेद) लाई आत्मसात् गरी राष्ट्र, राष्ट्रियता, मानवता र विश्वशान्तिको लागि आराध्यदेव पशुपतिनाथलाई साक्षी राखेर मन, वचन र कर्मले योगदान गर्ने अठोट संस्थाले लिएको उद्घाटनको अवसरमा अध्यक्ष शाहले बताए । 

गठित कार्य सम्पादन समितिको बैठकबाट विभिन्न विभागहरू गठन गर्ने समेत केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहले जानकारी गराएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise