२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

राजस्व संकलनमा अब्बल बन्दै ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज २३ गते १९:१६
राजस्व संकलनमा अब्बल बन्दै ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची

अर्घाखाँची : ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लामा आउने र जिल्लाबाट बाहिर जाने  सवारीसाधनको चापलाई ध्यानमा राखी यात्रु सहायता कक्षको स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क, शान्ति बगैंचा ठाडा दहमा यात्रु  सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले सञ्चालनमा ल्याएको ट्राफिक भायोलेसन रेकर्ड सिष्टम (टीभीआरएस) असार १ गतेदेखि शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निराज गौतमले मध्यान्हलाई जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख गौतमका अनुसार सेवाग्राहीलाई कागजपत्र फिर्ता लिन सहज र सरल होस् भन्ने अभिप्रायले उक्त सेवा विस्तार गरिएको हो । यसले सम्बन्धित क्षेत्रको ट्राफिक कार्यालयबाट नै कागजपत्र प्राप्त गर्ने हुँदा जिल्ला ट्राफिक कार्यालयमा आइ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने गौतमले जानकारी दिए ।

अर्घाखाँचीभित्र विभिन्न क्षेत्रमा ट्राफिक कारबाहीमा परेका सवारी धनी तथा सवारी चालकहरुलाई कारबाहीका लागि खिचिएका कागजपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी तथा जनसेवा क्षेत्रमा नियमानुसार तोकिएको जरिवाना भुक्तान गरेपश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ । उनले भने, ‘मापसे, लेन र रात्तो बत्ती कारबाहीमा परेका कागजपत्रहरू भने जिल्ला ट्राफिक कार्यलय अर्घाखाँचीमा सचेतना कक्षा पश्चात लिन सकिने व्यवस्था गरिएको छ ।’

ट्राफिक प्रहरीले सचेतनाका लागि विभिन्न विद्यालयमा गइ सचेतना कक्षाहरुसमेत सञ्चालन गर्दै आइरहेको छ । जिल्लाका विभिन्न एक दर्जन बढी विद्यालयमा कक्षा सञ्चालन गरिएको प्रमुख गौतमले जानकारी दिए ।

यस्तै ट्राफिक कार्यालय अर्घाखाँचीले चालु आर्थिक वर्ष २०८०/२०८१ देखि असोज १८ गतेसम्म यात्रुवाहक बस ६ सय ६८, मालवाहक ट्रक ७ सय ७५, जिप तथा कार २४ सय ६४, मोटरसाइकल २६ सय ४ र ट्याक्टर ४ सय ६९ र अन्य गाडी २ सय ९० वटालाई कारबाही गर्दा ४४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यलय प्रमुख गौतमले जानकारी दिए ।

असार १ गतेदेखि सवारी कारबाहीमा परी तिर्नुपर्ने जरिवाना रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता तथा ई–सेवा मार्फत सोझै तिर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise