अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सधैँ धार्मिक दान, आध्यात्मिक दान, ज्ञानको दानको महत्व वितरण गर्दै आएको पंक्तिकारले यो आलेखमा राजनैतिक दान र अभय दानको चर्चा गर्ने प्रयास गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुरले दसैँको दक्षिणाका रूपमा ११ रोपनी जग्गा नेकपा (एमाले)लाई दान दिएर राजनीतिलाई ठुलो गुन लगाएका छन् ।
माक्स, लेनिन, माओहरूले सायद दानलाई विश्वास गरेनन् र सुको पनि कसैको लिनु हुन्न भनेका थिए, कसैबाट केही लिनु भनेको सुशासन र अनुशासनलाई गम्भीर असर पार्छ भन्छन् अन्तर्राष्ट्रिय कम्युनिस्टहरू ।
हाम्रो देश धार्मिक र देव भूमि भएकाले भूपतिले भूदान गरेन भने पछिल्लो योनिमा उसले छाप्रोको बास पनि पाउँदैन भनेको छ, त्यसैले दिए उनले दान कसलाई के चासो, दान हुनेले गर्ने हुन् नहुनेले त फास्टिङ्ग गर्ने हो या भनौँ व्रत बस्ने हो या भनौँ अनशन, यसपालिको दसैँमा फास्टिङ्ग गर्ने धेरै भए, किनकि यहाँ हुने खाने मात्रै छैनन् हुँदा खाने पनि छन् ।
सायद राजा बलिझैं दानवीर देखिए वीरबहादुर । राजा बलिले सर्वत्र रजाइँ गर्दा देवताहरूले वामन देवता तयार पारेर बलिसँग भूमिलगायत सबै शक्ति फिर्ता लिएका थिए । दानको महत्व बताउँदै पण्डित नारायण पोखरेलले महिलाहरूका कानका सुन पनि खोसेका थिए, भर्खरै पशुपतिमा भएको रङ्गमञ्चमा पाँच हजार दान गर्न गएकी एक बूढीमाउबाट पाँच लाख खोसिएको प्रसङ्ग पनि चर्चामै आएको थियो ।
एक दशक लामो सशस्त्र युद्धमा धनी गरिब सबैसँग धनमाल खोसिएकै हो, १७ हजार जनता पनि खोसिएकै हुन्, टाउको खोसेरै १४ वर्ष जेल परेर विद्धान बनाउने देश पनि हाम्रै हो । खोसिएको विमान सुन्दरीजलमा संग्रहालय बनाएर राख्ने देश पनि त हाम्रै हो । तराईमा कति टाउका खोसिए हिसाब छैन, भर्खरैको दसैँमा एक अभियन्ताको टाउको गोकर्णमा खोस्न खोजिएको धन्न बालबाल बचेछन् ती । पंक्ति तयार गर्दा एनएमसिको आइसियुमा थिए, ती र पंक्तिकारलाई भन्दै थिए ठुलो दशाबाट बचियो धन्य परमात्मा, विचारक भने बालकोट समर्थक नै हुन् ।
एमालेले मदन नगर नामकरण गरेको थियो, मुख्यालय के–के भनेको थियो र उसका छ लाख करिब सदस्यको लेभी वा भनौँ एक हजार रकम उठाएको भए पनि आफ्नै जग्गा भवनको स्वामित्व महसुस गर्न सक्थ्यो । पुष्पलाल, मनमोहन, मदन भण्डारीहरूको आदर्श बिर्सेको एमालेले अब कीर्तिपुरको जग्गा र भवनमा व्यापारी मीनबहादुरको नाम र फोटो राख्नेछ, ताम्रपत्रसहितको चम्किलो प्रशंसा पत्र पनि दिनेछ ।
अन्य दलहरूले पनि यसको सिको पक्कै गरेका थिए, गर्नेछन्, अथवा भनौँ बिस्तारै पूरै देश दलहरूकै नाममा मालपोतले दर्ता गरिदिए झन्झट नै साफ हुन्छ, कतिपय देशहरूमा व्यक्तिगत नाममा जग्गा भवन हुँदैन पनि । धनीले दान लिन हुने, त्यो पहुँचमा नपुगेकाले दान लिन किन नहुने भन्न सक्छन् अरू दलहरूले । अझ भनौँ दल दर्ता हुनु भनेको अभयदान प्राप्त हुनु हो, बालेनले दल दर्ता नगरेकाले कति सकस छ उनलाई ? हर्क, हमाल, ढकालहरूलाई कति सकस छ ?
अझ नेपाली कांग्रेसलाई त्यस्ता दानवीरहरूको आवश्यकता पर्न सक्छ, कसैको भवन भूकम्पले लग्यो कसैको खोला बाढी र पहरोले खायो, यस अर्थमा भाटभटेनी जस्तो चम्केको व्यापारीले नदिए अरू कसले दिने दलहरूलाई, कुरो राम्रो हो । दलहरूले सत्ता लिए पछि करको भारी वृद्धि र अनियन्त्रित बजार जनताको ओठ मुख सबै सुकेको स्पष्टै छ र झन्डै आधा जनसंख्या विदेश पलायन भइसकेको र त्यसबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्र चलेको छ । त्यो पनि उधारोमा, दलहरूले चिल्ला गाडी चढेका छन् ।
यति, ओम्नी, ललिता, बाँसबारी, बालमन्दिर गोकर्ण रिसोर्ट, गिरिबन्धु टी नेपालीहरूको गायत्री मन्त्र भएको छ, नित्य जप्ने शुद्ध गायत्रीमन्त्र त धेरैले जप्न छोडिसकेका छन्, किनकि कम्युनिस्टले धर्मलाई अफिम मानेका छन् र देश कम्युनिष्टमय बनाइएको छ र आफूलाई प्रजातान्त्रिक भन्ने ठुलो दलले पनि कहिले ओलीसँग गला मिलाउँछ कहिले प्रचण्डसँग ।
कांग्रेसले बिपी, गणेशमान, कृष्णप्रसाद र देश एकीकरण गर्ने परम्परागत शक्तिसँग गला मिलाउन छोडेको छ । छाता र सुराहीलाई सम्पत्ति देख्नेसँग गला मिलाउन छोडेदेखि नै यसले टालटुले र ढुलमुले नीतिको अँगालो हालेको छ र देउवा कांग्रेस भनेको राणा कांग्रेस हो र श्रीमतीको शुभेच्छा र बालकोटको आशीर्वादले अहिले ऊ सत्तामा पुगेको छ र रवि, प्रचण्डहरूलाई पाखा लाउन सफल भएको छ । भुटानी शरणार्थीहरू, बालमन्दिर, बाँसबारी, बालुवाटारको जग्गा र जरा खोतल्न थालेपछि यो मौका दिनु भन्दा आफैंले सत्ता लिनु वाञ्छनीय देखेको छ उसले ।
राजनीतिलाई व्यापारीको साथ चाहिन्छ हाम्रो देशमा, त्यसैले बालेनको धरहरा पार्किङ निःशुल्क हुन्न, बालेनकै न्यूरोडको फूटपाथ बिस्तार हुन्न, बालेनकै प्रहरी पशुपतिको धर्मशालामा जाँदा रित्तो हात फर्कन्छन् र बालेन धर्मशाला खाली गराउन सुरक्षाको माग गर्छन्, थापाथलीका हुकुम्बासीबाट बालेनकै डोजरमाथि खुँडा खुकुरीको वर्षा हुन्छ, उनकै फोहोरका गाडीमा बन्चरे डाँडामा ढुंगामुडा हुन्छ, बालेन राजनीति नगरी मेयर बनेका हुन्, सुकर्मबाट राजनीतिमा उदाउन नदिने हाम्रो संस्कृति बनेको छ । मीनबहादुर जस्ता अरू दानवीरहरूबाट अब सबै दलहरूले सुन, चाँदी, जुहारत, भूमि, जग्गा, नगद सबै प्राप्त गर्न सकुन् शुभेच्छा !
भनिन्छ, लुट्ने संस्कृतिबाट फकाएर तान्ने संस्कृति विकास गर्नु राम्रो पक्ष हो । दसैँमै पनि त आफन्तहरूकै बिच दक्षिणा मिलाएर अर्थ सन्तुलित गर्न खोज्ने संस्कृति हो । बाढी पीडितहरूलाई लत्ता कपडा वा जाउलो दिने त विदेशमा रहेका नेपालीहरू छँदैछन्, ती मनकारी छन्, बाढी पीडितलाई दान दिए, कोरोना, भूकम्प पीडितलाई पनि दिए, दाताहरू छन् सबैतिर हाम्रा ।
घर मन्दिर हो । शास्त्रीय विधानले घरमा गरिएका पुण्य कुल, सन्तति र बितेका पितृहरूको लागि उद्धार योग्य हुन्छन् । परन्तु घरमा गरिएका दान, पुण्य, अनुष्ठान, यज्ञ आदिको फलभन्दा गौशालामा गरिएको फल १० गुणा बढी हुन्छ । गौशालाका साथमा जलाशय, नदी, तडाग, सागर रहेछ भने गौशालामा प्राप्त हुने पुण्यको १० गुणा बढी फल प्राप्ति हुन्छ । त्यसमाथि पनि बेलको रुख, तुलसी वृक्ष, पीपल वृक्षका निकट रहेछ भने दानको फलअघिको फलभन्दा १० गुणा बढी पुण्य प्राप्ति हुन्छ । त्यसमा देवालय रहेछ, पवित्र देवी देवताको मन्दिर रहेछ भने अघिको पुण्य १० गुणाले बढी फल प्राप्ति हुन्छ । तीर्थ भूमिमा, नदीका किनारामा तीर्थ भूमिको १० गुणा बढी, नदी किनारामा गरिएको पुण्यको १० गुणा फल बढी प्राप्त हुन्छ । वीरबहादुरलाई यो पुण्य प्राप्त होस् शुभ कामना छ । एउटा पुरेत राखेर संकल्प गरेरै दिनुस् अझै राम्रो हुन्छ ।
सत्य युगमा पुण्यको फल पूर्णरूपमा प्राप्ति हुन्थ्यो । दान, पुण्यको फल त्रेता युगमा तीन चौथाइ मात्र, द्वापर युगमा पुण्यको फल आधा मात्र हुन्थ्यो । अहिले कलि युग छ, पुण्यको फल एक चौथाइ मात्र प्राप्त हुन्छ । त्यसैले मीनबहादुरले लगानी गरेको उपलब्धि एक चौथाइ मात्र पाउने हुनाले व्यापारमा छलकपट गर्दा शत प्रतिशत नगर्न र एक चौथाइ मात्र गर्न सुझाव छ । संक्रान्तिमा गरेको पुण्य अन्य दिनमा गरेकोभन्दा १० गुणा बढी फल प्राप्ति हुन्छ । कर्कट संक्रान्तिमा गरिएको पुण्य मेष संक्रान्तिको भन्दा १० गुणा बढी, मकर संक्रान्तिमा गरेको पुण्य कर्कटमा गरेको भन्दा १० गुणा बढी फल दिने हुन्छ ।
त्यसैले हरेक संक्रान्ति, साल परिवर्तन, अयन परिवर्तनका दिन थोरै भए पनि दान पुण्य गर्ने गरिएको हो । चन्द्र ग्रहणमा गरिएको दान अघिको भन्दा १० गुणा बढी फल दिने हुन्छ । चन्द्र ग्रहणमा गरिएको दानभन्दा १० गुणाले बढी फल सूर्य ग्रहणमा गरिएको पुण्यले प्राप्त हुन्छ ।
त्यसैले मीनबहादुरजीले ग्रहणका बखत यो दान गरेको भए अझ बढी फल प्राप्त हुन्थ्यो, किनकि देशमा त ग्रहण लागेकै छ । उद्योगहरू मर्दै जाने र व्यापारहरू बाँच्दै जाने देश बनाएका हाम्रा आदरणीय दलहरूले नै हो, मौकामा चौका मारवाडीहरूले पनि हानेकै हुन्, दुर्गा प्रसाईँको भाषण नसुन्ने त को होलान् र, मारवाडीको दर्जा लिन सफल भएकोमा मीनबहादुरजीलाई थप शुभकामना छ ! पतनात् त्रायते इति पात्रं शास्त्रे प्रयुज्यते । दातुँश्च पातकात्त्राणात्पात्रंमित्यभिधीयते भनेको छ शास्त्रले ।।
कर्म गर्नु पात्रले, दान दिनु पात्रलाई, सुपात्रलाई गरिएको दान पुण्यले राम्रो गर्छ, यस अर्थमा कम्युनिस्टलाई दान दिनु भनेको सुकर्म हो बधाई छ ! चोखो मनले दिइएको दक्षिणाको फल शुद्ध द्रव्य हो, यस्तो दक्षिणाको फल अनन्तसम्म प्राप्त भइरहन्छ । दातालाई सन्तोष पनि गराउँछ । शुद्ध व्यापार, शुद्ध सेवा, शुद्ध आर्जनबाट भएको दानले अनन्तसम्म पुण्य दिन्छ नै ।
दक्षिणा राम्रो गएको छ, दललाई र यसपालि चियापान गर्नु पनि नपर्ने भएको छ, किनकि चियापान गराउने पनि त व्यापारी नै हुन्, एकपल्ट त बल्खु दरबारको चियापानमा यो पंक्तिकार पनि परेको थियो, त्यो चियाको स्वाद जिब्रोमा अझै छ र पटक–पटक चिया पिउनु परेको छैन, सामाजिक सञ्जाल हे¥यो कि गिरिबन्धु चियाकै बास्ना आइरहेको हुन्छ, त्यसैले पनि चियापान सधैँ गरिरहनु आवश्यक परेको छैन ।