लेखराज रेग्मी
कतिपय व्यक्तिहरू भन्ने गरेको पाइन्छ, “कम्युनिष्टहरूको एकता” पदावली सही हुँदैन । प्रचलित भाषा वलीमा एकताको अर्थ हुन्छ– दुई बस्तु पिण्ड वा बिचारमा सहकार्यको प्रतिबद्धता लागु गर्नु । हामीहरू विभिन्न कम्युनिस्ट ट्रेडमार्क उपयोग गरिरहेका छौँ । यसकारण हाम्रो एकताको अर्थमा यो कम्युनिस्ट एकता भनिदिन मिल्ने होला ।
तर, अन्तर्विरोध बारे चर्चा गर्दा विभिन्न प्रसङ्गमा माओले उदीयमान पक्षमा जोड दिएको पाइन्छ र पार्टीभित्र पनि सामाजिक अन्तर्विरोधको प्रभाव रहने कुरा गरेको पाइन्छ । कम्युनिस्ट पार्टीभित्र पनि वर्ग संघर्ष रहन्छ भनिएको छ । यसको मतलब हुन्छ– एउटै पार्टीभित्र हुने भित्री पार्टी संघर्ष भनेको वर्गसंघर्षको एउटा रूप हो भने एकता भनेको गौण हो र संघर्ष प्रमुख हो ।
हामीले एकता र संघर्षबारे समाजमा र पार्टीमा पनि गलत अभ्यास गरिरहेका छौँ । सर्वहारा अर्थात् संगठित औद्योगिक मजदुरलाई दैत्याकार मेसिन र निर्दयी मालिकहरूको व्यवहारले काममा र हितहरूको रक्षाको लागि एउटै साङ्लोमा बाँधिदिन्छ । हड्ताल होस् या उत्पादन सम्बन्ध उत्पादन संघर्षमा यो एउटा पक्ष हुन्छ, उनीहरू एकजुट हुन्छन् ।
सामूहिक हितबारे समान ढङ्गले सोच्ने, बुझ्ने र अभिव्यक्ति दिने हुन्छ । यस्तै समान सोच र स्वार्थ मालिकहरूमा पनि हुन्छ । जब मजदुर रहँदैन मालिक र मेसिनले मात्र कारखाना बन्दैन, चल्दैन । यो हो एकता । मजदुरहरू एकै ठाउँमा हुनु, सँगै काम गर्नु र संघर्षमा एकसाथ रहनु भनेको संगठित हुनु हो । यस्तै सबै कम्युनिस्ट विचार निर्देशित समान समझदारी, समान प्रतिबद्धता एक ठाउँमा जम्मा हुनु संगठित हुनु हो, एकता गर्नु होइन, हुन सक्दैन ।
तार्किक सहमति, भावनात्मक उत्तेजना र समाज परिवर्तनको हुटहुटीले धेरै मानिसहरूलाई कम्युनिस्ट पार्टी नजिक पु¥याउँछ र पार्टी सदस्यताका मापदण्ड पनि पूरा गर्छन्, प्रवेश गर्छन् । उनीहरूले बाहिर बसेर बुझेको कम्युनिस्ट र अभ्यासमा देखिने फरक र फेरिनुपर्ने सवालले अन्तर्विरोधको रूप लिन्छ र विकसित हुन थाल्छ । तर, यस्तो आकर्षण र समाहित हुने क्रियाको नाम पनि एकता होइन ।
स्थानीय परिवेश र क्रियाकलाका आधारमा एउटै देशमा पनि अलग–अलग कम्युनिस्ट सङ्गठनहरू बनेका हुन सक्छन् तर, अखिल राष्ट्रिय धारा निर्माण गर्न उनीहरू सहमत हुनु पनि एकता होइन, संगठित हुने प्रक्रियाको उन्नत चरणमा पुग्नु हो ।
यसलाई पनि एकता सम्बोधन गर्न सकिन्न । कम्युनिष्टहरूको एकता आ–आफ्नो वर्ग संघर्षको अगुवाइ गरिरहेका विभिन्न देशका कम्युनिस्ट सङ्गठनहरू मिलेर वैश्विक स्थितिको सामना गर्न साझा दुश्मनविरुद्ध संयुक्त वा तालमेलको संघर्ष गर्न सहमति र समन्वय केन्द्रको विकास चाहिँ एकता भन्न सकिन्छ । स्वतन्त्र वा स्वायत्त अस्तित्वहरूको एकजुटतालाई एकता भन्न सकिएला ।
यसरी बाम तथा कम्युनिस्ट पार्टीहरूको एकता त्यति दिनसम्म रहन्छ जबसम्म एकाकार भइँदैन । जब सम्पूर्ण रूपले एउटै बनिन्छ, यो सङ्गठन बन्छ र एकता समाप्त हुन्छ । जो अट्दैनन् बाहिर संगठित हुन्छन्, सहकार्य हुनसक्छ र नयाँ आधारमा नयाँ एकता सुरु हुन्छ । त्यहाँ एकता छ तर, कम्युनिस्ट सङ्गठन एउटा ट्रेडमार्क छ, वास्तविक सङ्गठन होइन, जब सङ्गठन बन्छ, एउटा कम्युनिस्ट आफ्नो अलग पहिचान खोज्दैन, खोज्नुपर्दैन । जो जसले एकता गर्दै हुनुहुन्छ, सबैलाई मेरो यही तर्जमा शुभकामना !