–प्राज्ञ शान्तिराम राई
लुइस फोन्सीको डिस्पासिटो स्पेनिस गीत नै विश्व बजारमा हालसम्म सर्वाधिक हेरिएको विश्व चर्चित गीत हो । विश्व चर्चाको शिखरमा रहेका असंख्य गीतहरूमा वीज खालिफाको सि यु अगेन, साइको ग्यांनम स्टाइल, साकिराको च्यान्टाजे, जस्टीन बिबरको बेबी, माइकल ज्याक्सनको थ्रीलर, ब्रायन यडम्सको एभ्रीथिं आइ डु आदि हुन् । हाल विश्व बजारको अर्थतन्त्रमै संगीतले व्यापक रूपमा सकारात्मक असरहरू पारिरहेका छन् ।
विश्व संगीतमा नेपाली संगीतको स्थान चाहिँ कतातिर होला त ? हामी यस विषयमा कम बहस गर्छौँ । किनकि हाम्रो पहुँच त्यहाँसम्म छैन । यद्यपि, नेपाली संगीतभित्रै चाहिँ नेपाली सङ्गीतले के–कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा असर पारेको छ त ? हामी यहीभित्र बसेर चाहिँ केही छलफल चलाउन सक्ने अवस्थामा छौँ ।
बहुलजाति, बहुलभाषि भएको नेपालमा लगभग बाह्रै महिना सांस्कृतिक उत्सवहरू पर्ने गर्दछन् । ती हरेक उत्सवहरू संगीतमय हुने गर्दछ । यस कारण पनि नेपालमा संगीतको बजार उर्वर छ । हरेक वर्ष दसौँ अर्ब रुपैयाँ बराबरको सांगीतिक कारोबार हुने गरेको छ । यस हिसाबले नेपाली संगीत ठुलो उद्योगको रूपमा अगाडी बढिरहेको छ ।
हिन्दु महिलाहरूले विशेषरूपमा मनाउने यो वर्षको तीज पर्वमा मात्रै ६० करोड रुपैयाँ बराबरको तीज गीत तयार गरियो । र, हरेक वर्ष नै यही भोलुममा तीज संगीतमा आर्थिक कारोबार हुने गर्दछ । रिता थापाले गाएको ‘ए आमा...’ तीज गीतले दुई करोड भ्यूज लिएर छोटो समयमै सर्वाधिक हेरिएको तीज गीतको रेकर्ड बनाउन सफल भएको छ भने विष्णु माझीको ‘मै छोरीले...’ पौने दुई करोड भ्यूज बटुलेर सर्वाधिक हेरिएका तीज गीतहरूको सूचीमा नाम लेखाउन सफल भएका छन् । त्यस्तै, शान्ति श्री परियार र अर्जुन सापकोटाका तीज गीतले पनि चर्चाको शिखर चुम्न सफल भए ।
तीज गीतले सांस्कृतिक उत्सवलाई मनोरञ्जन पूर्ण मात्रै बनाएको छैन यस भित्रका गीति कन्टेन्टहरू विवादित पनि बनिरहेका छन् । उच्छृंखल शब्दहरू र भड्किलो छाडा दृश्यहरू भनेर यदाकदा समाजभित्र विरोध भइरहेमनि अन्ततः विरोध गर्नेहरू नै यस्ता कन्टेन्टका असली उपभोक्ता रहेको ज्योति मगरको भनाइबाट पुष्टि हुन्छ ।
पछिल्लो समय दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्कापञ्जा ५’ को ‘ब्रेकअप सङ’ विवादमा तानिएको छ । त्यसो त चलचित्र चलाउन स्टनबाज नगरी नहुने हाम्रो समाजको मनोविज्ञानलाई दिपक दीपाले राम्ररी बुझेका छन् । तथापि, यो गीतले नेपाली गीत संगीतको छाला काढेको चाहिँ प्रस्टै छ । भोलि असाध्यै सस्ता, छाडा र भद्दा गीत नबन्ला भन्न सकिन्न । यसरी समाज बिथोल्ने, भड्काउने, टुटाउने, फुटाउने कुराको माध्यम गीत संगीतलाई नबनाएकै राम्रो हुन्थ्यो कि भनेर समाजमा टीका टिप्पणी हुन थालेको छ । तथापि, कथालाई सपोर्ट गर्ने मनोरञ्जनले भरिपूर्ण गीत नै बनेको हुनुपर्छ ।
चलचित्र चलाउन एउटा सभ्य र सांस्कृतिक गीत पनि काफी हुन्छ भन्ने उदाहरण त चलचित्र कुस्माको ‘रुकुम मैकोट’ नै हेरे पुग्छ । एसडी योगी र शान्ति श्री परियारले गाएको कुस्माको यो गीतमा नायक नायिकाको अब्बल नृत्य त्यसै पनि लोभ लाग्दो छ । छोटो समयमै लगभग दुई करोडमाथि गीतले युट्युब भ्यूज बटुलिसकेको छ ।
यस वर्षका गीतहरूमध्ये निश्चल दवाडी र शान्ति श्री परियारको ‘गोर्खे खुकुरी’ र बाबुकृष्ण परियार र दिपिका बयाम्बुको ‘कस्मीरे पछ्यौरी’ले दर्शकको अपार माया पाएको छ । ‘गोर्खे खुकुरी’ले पाँच करोड भ्युलाई उचाल्दै जाँदा ‘कस्मीरे पछ्यौरी’ले तीन करोड भ्यू सुरक्षित गरिसकेको छ । विद्युतीय र इन्टरनेटको सरल पहुँचका कारण ग्रामीण बस्तीहरूमा पनि युट्युब र सामाजिक सञ्जालमा भएका कन्टेन्टहरूलाई हेर्न मिल्ने र आफ्नो प्रतिक्रिया दिन मिल्नेका कारण आज गीत सङ्गीतले फड्को मार्दै गइरहेको छ र कलाकार स्रष्टाहरूमा पनि स्वास्थ्य प्रतिस्पर्धाको भावना विकसित हुँदै गइरहेको छ । यसबाट निकट भविष्यमा नै समग्र नेपाली गीतसङ्गीतले विश्वसंगीतमा आफ्नो व्यावसायिक स्थान खोज्न थाल्ने संकेत गरेको छ ।