व्यावसायिक फूलखेती गर्नेले रोपेको फूल बारीभरी ढकमक्क फूलेको छ । सयपत्री, मखमली फूलहरुले नेपालीको दोस्रो ठूलो चाड तिहारलाई निम्तो दिएको छ । नेपालमा गरिएको फूलखेतीको उत्पादनले गर्दा गत वर्ष जस्तै यो वर्ष समेत तिहारमा फूलको आयात गर्नुपर्ने देखिँदैन । गत वर्ष काठमाडौं महानगरले फूल बेच्ने निश्चित स्थान तोकिदिएपछि उपभोक्तामा असहजताको कारण सोचेजस्तो फूल नबिकेको व्यवसायीहरुको भनाइ छ । तिहारमा फूलको व्यवसाय र नेपालमा फूलखेतीको सम्भावनाको विषयमा तीन दशकदेखि फूलखेती गर्दै आएका नेपाल फ्लोरी कल्चर एशोसिएसनका पूर्व अध्यक्ष कुमार कसजु श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी गरेका छन् ।
फूलको व्यापार बढी हुने पर्व तिहार नजिक आइसकेको छ, तिहारका लागि बिक्री गर्ने फूलहरुको तयारी कस्तो छ ?
गत वर्ष एक्कासी काठमाडौं महानगरपालिकाले फूल बिक्री गर्ने स्थान तोक्दा बजार अव्यवस्थित बनेको थियो । व्यवस्थित गर्न भनेर स्थान तोकिएपनि फूल किन्ने र बेच्नेलाई असहज हुँदा धेरै व्यवसायी निरास भएका थिए । गत वर्ष बजारको उचित व्यवस्थापन नहुँदा धेरै किसानहरुले समेत लाभ लिन सकेनन् । तर, यो वर्षको तिहारको लागि बिक्री हुने फूलमालाको व्यापारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । तिहारमा फूलका मालाहरु घर पसल र दाजुभाईलाई लगाइदिन प्रयोग हुँदै आएको छ । हाम्रोमा निश्चित स्थानमा मात्रै बिक्री हुन्छ भन्ने छैन । गत वर्ष न्यूरोडमा बिक्री गर्नेुपर्ने फूल भृकुटीमण्डपमा बेच्न राखियो तर, बिकेन । उपभोक्ता न्युरोडतिर, फूलको बजार भृकुटीमण्डपमा भयो । बजारीकरणमा समस्याले धेरै फूलमाला खेर समेत भएको थियो ।
तिहारको लागि फूलमालाको बिक्रीको स्थान तोक्दा समस्या हुन्छ ?
हुन्छ नी । गत वर्ष फूल किन्नेलाई असुविधा भयो । फूलमाला भनेको वर्षमा एक दिन विषेशगरी तिहारमै धेरै प्रयोग गरिने वस्तु हो । सहर बजारमा तिहारमा सबै उपभोक्ताले फूल किन्ने गरेको फाइन्छ । अरु बेलामा जसलाई चाहिन्छ उसले मात्र किन्ने हो तर, तिहारमा आम उपभोक्ताको रोजाईमा फूलमाला पर्छ । फूलमाला एकदम जरुरी भयो भनेर किन्ने होइन । फूलहरु आफ्नो अगाडि देखेपछि किन्ने गरिन्छ । माला बेचिरहेको रहेछ यो लैजानु पर्छ भन्ने मानसिकता धेरैको हुन्छ । आँखा अगाडि नभइकन माला नै किन्न जान्छु भनेर निश्चित स्थानमा जाने निकै कम हुन्छन् । यसलाई हामीले बुझाउन सकिरहेका छैनौं । फूलका उपभोक्ताहरुले आवश्यकता नै परेर पूmल किन्ने गरेको पाइदैन । उपभोक्ताहरु फूल किन्न भनेर नर्सरीमा जाँदैनन्, बाटोमा जाँदै गर्दा देखियो भने किनेर लैजाने हाम्रोमा उपभोक्ता व्यवहार छ । यो हामी व्यवसायीले मात्र बुझेका छौं । त्यसैले यसलाई बजार व्यवस्थापन गर्ने निकायले बुझन् जरुरी छ ।
अहिले तिहारको लागि फूलको आयात गर्नुपर्छ की पर्दैन ?
अहिले जसरी देशभर फूलखेती भएको छ, त्यसले तिहारमा फूल आयात गर्नुपर्ने अवस्था नभएको देखाउँछ । किसानहरुले प्रसस्त फूल उत्पादन गरेकाले यस वर्ष फूलको आयात गर्नु पर्दैन । तर, बजारीकरणलाई व्यवस्थित गर्न तर्फ अहिले देखि नै हामीले तयारी गर्नुपर्ने हुन्छ ।
तिहारका लागि फूलहरु तयार भइसकेको अवस्था छ ?
यो वर्ष तिहार प्राकृतिक हिसावले सहि समयमा नै परेको छ । कात्तिकको १५ सयपत्री, मखमली फूल फूल्ने समयको लागि उत्तम समय हो । गत वर्ष तिहार ढिलो थियो । त्यो भन्दा अघिल्लो वर्ष छिटो थियो । यसपटक तिहार सहि समयमा छ । फूलहरु प्रसस्त फूलेका छन् । गुणस्तरीय फूल फूलेका छन् । अहिले छानेर उपभोक्ताले राम्रा–राम्रा फूलका माला बजारमा किन्न पाउनेछन् । गुणस्तरीय माला बजारमा दिन सक्ने हो भने यस पटक व्यापार बढ्ने देखिन्छ । बजारमा आर्थिक मन्दीको असर अझै बाँकी छ तर, चहलपहल विस्तारै बढ्दै गएको देखिन्छ । गत वर्ष २५ लाख भन्दा बढी माला बिक्री गर्ने अपेक्षा थियो । त्यति नै यो वर्षपनि हुन्छ भन्ने छ । सयपत्री फूलको अहिले देशभरी नै खेती गरिएको छ ।
व्यावसायिक रुपमा कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा फूलखेती भएको छ । बिगतको वर्षमा भन्दा सयपत्री फूलको खेती गर्ने किसानहरुको संख्या समेत वृद्धि भइरहेको छ । अहिले कतिपय स्थानीय तहले फूलखेती र फूलको मालाको व्यापारलाई प्रोत्साहन गरिरहेका छन् । यो सकारात्मक कुरा हो । कृतिम फूलहरुको कारण हाम्रा फूलको व्यापारमा असर गरिरहेको थियो विस्तारै कम हुँदै गएको छ ।
फूलखेतीप्रति स्थानीय, प्रदेश र संघ सरकारले हेर्ने दृष्टिकोण कस्तो छ ?
स्थानीय सरकारले अहिले सक्रिय भएको देखिन्छ । किसानहरुलाई तरकारी, खाद्यबाली, फलफूल, पशुपालनको लागि अनुदान दिएर प्रोत्साहन गरिरहेको पाइन्छ । अहिले फूलखेतीका लागि केही पालिकाले सहयोग गरेका छन् । फूलखेती नै भनेर लाग्ने कृषकको संख्या भने निकै कम छ । अब यसलाई थप बढाउनु पर्ने देखिन्छ । अब कृषि गर्ने भन्ने बित्तिकै मेहनतको आवश्यकता पर्छ । मेहनती मान्छेहरुको अभाव छ । पाखुरामा बल भएको युवा जनशक्ति देश छाडेर विदेश गएका छन् । यसको प्रभाव नेपालको अर्थतन्त्रमा नै परेको छ ।
अन्त्यमा, फूलखेतीलाई बजारीकरण गर्नका लागि कसरी काम गर्नुपर्छ ?
नेपालमा तिहारमा मात्र होइन १२ महिना नै फूलको प्रयोग हुन्छ । मठमन्दिर, पुजाआजा, विवाह वर्तबन्धदेखि मृत्युसंस्कारसम्म फूलको प्रयोग हुन्छ । अझै दैनिक रुपमा घरमै पूजा गर्नेहरुले समेत फूलको प्रयोग गरिरहेका हुन्छन् । हाम्रो नियमित रुपमै फूल व्यापार भएको हुन्छ । त्यसैले सरकारले फूलखेती गर्नेलाई सपोर्ट गर्ने हो भने फूलखेतीबाट राम्रो आम्दानी निकाल्न सकिन्छ । नेपाल भौगोलिक रुपमा जौविक विविधता भएको देश हो । अरु देशले फूल फूलाउनका लागि प्रविधिमा धेरै लगानी गर्नु पर्ने हुन्छ । नेपालमा भने प्रत्येक १० किलोमिटर नपुग्दै फरक–फरक हावापानी छ । सरकारले फूलखेतीको लागि संभाव्यता भएको स्थान खोजेर काम गर्ने वातावरण बनाइदिने हो भने नेपालमा फूलखेतीमा अथाह संभावना छ ।