२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १०:४९
दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर

महोत्तरी : दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै पनि राम्रो मूल्य पाउने भएपछि मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रका किसानका लागि यो अतिरिक्त आम्दानीको अवसर बन्ने गरेको हो । खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँको परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन् ।

“छिप्पिएका केराका घरी यसबेला राम्रो मूल्यमा एक साता पहिलेदेखि नै कुराकानी पक्का हुन्छ, यसैबेला सानाठूला सबैजसो व्यापारीले केराका थामको स्वागतद्वार बनाउने चलनले हामी झ्याङमा धेरै बढेका कोथा यसैबेला छ्यास्ने गर्छौँ”, बर्दिबास–९ पशुपतिनगरका किसान भोला महतो भन्छन्, “दीपावलीको अवसर गोडमेलमा उखेलेर फाल्नुपर्ने कोथाबाट पनि नगद पाइन्छ ।”

केरा गोडमेलसँगै निकै झ्याङ्गिएका कोथा पहिले नै निकाल्ने बेला भए पनि किसान यसका लागि दीपावलीको मुख पर्खने गर्छन् । “भन्नुस् न, अरुबेला यी कोथाको के काम, यतिखेर त घरघरै कोथा खोज्न व्यापारी घरघरै आउँछन्, त्यसैले हामी केराको गोडमेललाई दीपावली पर्खने गर्छौैँ” भोलाकै छिमेकका अर्का किसान रामविनोद महतो भन्छन्, “यसबेलाको गोडमेलले श्रमिकलाई दिइने ज्याला र थपमा आफ्नो पर्व खर्चमा पनि कोथा बिक्रीले सघाउँछ ।”

स्वागतद्वार बनाउन नयाँ कोथा (केराका थाम) प्रयोग गरिने परम्पराले दीपावलीको एक साता पहिलेदेखि नै किसानका खेतबारीका कोथाको बिक्री हुने पक्का हुने गरेको छ । “मेरो बारीका ५० जोर कोथाको त पेश्की नै पाइसकेको छु”, भङ्गाहा–४ रामनगरका युवा किसान ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, “थाम बिक्रीले गोडमेलमा जनको बनी (श्रमिकको मजदुरी, ज्याला) मात्र नभई आफ्नै अन्य खर्चको जोहो पनि हुन्छ ।” त्यसैले आपूmहरु केरा गोडमेललाई दीपावलीको बेला पर्खने गरेका ठाकुर बताउछन् । अन्यबेला गोड्दा उखेलेर फाल्नुपर्ने कोथाबाट यसबेला आम्दानी हुने भएपछि पर्वका बेला कामको धपेडी बढे पनि आपूmहरूले यस कामलाई दीपावली पर्खनुपरेको किसान बताउँछन् ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँच/सातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसानको भनाइ छ । केराको एक/एक झ्याङमा हुर्केका (ठूला) तीनवटा बोटमात्र राखिनुपर्ने हुँदा यसभन्दा बढीका कोथा उखेलेर फाल्नुपर्ने हुन्छ । दीपावलीमा त्यही फालिने कोथा बिक्री हुने भएपछि यो आपूmहरूको खेती खर्चमा सहयोगी बन्ने किसान बताउँछन् ।

“अरुबेला केरा गोडमेल गरिँदा छ्यासिने (उखालिने) कोथा मलको भकारोसम्म पुर्याउन लाग्ने श्रम बराबरको पारिश्रमिक दिनुपर्ने हुन्छ”, भङ्गाहा–६ हतिसर्वाको मदनपट्टिका किसान जयराम यादव भन्छन्,  “दीपावलीमा भने कोथा किन्न आउने आफैँले पनि उखेलेर लाने गर्छन्, यसले मजदुरलाई दिनुपर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न दीपावली पर्खने गरिएको किसानको भनाइ छ । पछिल्ला तीन वर्षयता बर्सेनि थाम (कोथा) बाट रु ३० हजारसम्म आम्दानी हुने गरेको यादवले बताउछन् । यादवको १५ कठ्ठाजतिमा केराखेती छ ।

दीपावली आउन एकसाता बाँकी छँदै सुरु भएको थामको बिक्री लक्ष्मीपूजाको दिन बिहानसम्म चल्ने गरेको छ । अहिले मूल्य बोलकवोल गरिएका थामभने लक्ष्मीपूजाको एक दिनअघि उखेलेर ग्राहकले लाने किसान बताउँछन् । धेरै गाँजिएपछि बोट छ्यास्नैपर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्यबेला फाल्नुपर्ने थामबाटै अहिले आम्दानी भएपछि दीपावली पर्व आफूहरूका लागि पर्खने  अवसर बनेको किसानको भनाइ छ ।

दीपावलीभरिमा जिल्लामा रु २० लाख हाराहारीको थामको बिक्री कारोबार हुने गरेको जिल्लाका उद्योग वाणिज्य सङ्घहरूको अड्कल छ । खासमा थाम जलेश्वर, गौशाला, मटिहानी, मनरा, रामगोपालपुर, सीतापुर र लोहारपट्टीसहितका बजारमा बढी प्रयोग हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र चौधरी बताउछन् ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृहप्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको हिस्सा नै बनेको जलेश्वर–५ पतैलीका ध्रुव रायले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise