महोत्तरी : मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ । उनीहरू चङेरा, ढक्की, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिला क्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।
कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवै समुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरू बताउँछन् । “कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र? अनि त्यसलगत्तै छठ १ यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दै छौँ” भंगगाहा-४ रामनगरका केशो मुखिया बिन भन्छन् “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।” बिनजस्तै महोत्तरीका डोमहरूका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा/चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ । बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउँछन् ।
सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्व मागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् । कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौँ महिना अघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साँचिएको समय हो ।
घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् । यस बेला बिक्ने आफ्नो सीपले ससाना नानीहरूको रहर पूरा गर्ने, नयाँ लुगा लगाइदिने, मिठो मसिनो खाने र वर्षभरिको नुन तेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुने गरेका बर्दिबास–१ कै भोगेन्द्र मरिक बताउँछन् ।
बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् । दीपावली र छठमा मात्र आफूहरूको सीप बिक्ने गरेको यी दुवै जाति समुदायको समान पीडा छ । पुर्ख्यौली पेसा र सीप पर्वबाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् । हाल ५० वर्ष सेरोफेरोका बिन र डोमको शेषपछि यहाँ बाँसका चोया काढेर टोकरी,मान्द्रा, डोका बनाउने भेटिन कठिन हुने चिन्ताले रामगोपालपुर बजार चोक नजिकका प्रताप मरिकले पिरोलिएका छन् ।
बिन र डोम समुदायका पाँच दशकमाथिका उमेर समूहका मानिस चोया खेलाए आय आर्जनको आश गर्दै छन् । “बाबुबाजेले यही काम गरे, हामीले यही सिक्यौँयही दीपावली र छठको आश छ हामीलाई हो” रामगोपालपुर बजार चोक नजिकका प्रताप मरिकले भने ।
“हाम्रो वर्षभरिको नगद खर्चको ब्यौंत (जोहो) गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन” लोहारपट्टीको डठोरा बस्तीका रत्नेशर मरिक भन्छन् “ससाना नानीहरूको चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आशा गरेका हुन्छौँ ।” अन्य बेला आफ्नो सीपको खासै माग नहुने हुँदा वर्षभरिको खर्चको जोहो पनि यसै बेला गर्नु पर्ने रत्नेशर बताउँछन् ।
बाबुआमा काममा व्यस्त भएसँगै समान बनाइ दिन भन्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “बाबु, दिबाली (दीपावली) मे हमरा फुटबल लादिहा” (बुबा, दीपावलीमा मलाई फुटबल ल्याइदिनु होला) पर्वका लागि माग भएका चोयाका समान बुनी रहेकी बर्दिबास-१ का भोगेन्द्र मरिकको छेउमै खेल्दै आइपुगेको आठ वर्षीय छोरा शिवु मरिकको माग छ ।
जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरूको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ । गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा संकलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुर्ख्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।
तिहार र छठ भने आफूहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरू बताउँछन् । महोत्तरीका सबै नगर, गाउँ-बस्तीमा सीमित सङ्ख्यामा यी जाति समुदायको बसोबास छ । यी दुवैको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र शैक्षिक अवसरमा निकै कम पहुँच छ ।
अवसर नपाएका सीमान्तकृत समुदाय, दलितहरूको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि यस्ता कार्यक्रम भने यी समुदायबीच खासै नपुगेको सामाजिक अभियानीहरुको टिप्पणी सुनिन्छ । सरकारी कार्यक्रमहरूको प्रभावकारी अनुगमन नहुँदा अवसर नपाएका यी समुदायको उत्थानको काम हुन नसकेको सामाजिक संस्था ‘प्रयास’ अध्यक्ष प्रवीण कर्ण बताउँछन् ।-गोपालप्रसाद बराल / रासस