–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
दसैँको लगत्तै पूर्व गृहमन्त्री समातिए, यसअघि धेरै गृहमन्त्रीहरू समातिएको देश हो हाम्रो । २०७२ को संविधानपछि अख्तियारमा मुद्दा बढेका र ऋण पनि देशले धेरै बढाएको छ । त्यसो त भर्खरैको बाढी पहिरोसँग जुध्न २० अर्ब रकम विश्व बैँकले दिने भएको छ । ऋण र सहयोगमै हाम्रो गणतन्त्र र लोकतन्त्र टिकेको छ, पछिल्लोपल्ट लोकतन्त्र भाटभटेनीमय पनि भएको छ । हामी गणतन्त्र र लोकतन्त्रको दसैँ मनाउँदै आएका छौँ । जसरी लोकतन्त्रले आम नागरिकको मन छुन सकेको छैन, दसैँले पनि आम नागरिकको मन छुन नसकेकाले विगतमाझैं, दसैँकै बेला पारेर देशवासीहरू भने विदेसिने क्रम घटेन, बढ्यो, असौजमा मात्रै साँढे ५३ हजार कामदार बाहिरिए । त्यसो त लोकतन्त्रको आम चुनावको मुखैमा पनि नेपालीहरू विदेसिनकै लागि एयरपोर्टमा ठुलै लर्को लागेको हेरेकै हौँ सबैले ।
लोकतन्त्रको मुख छ, कान र आँखा भने छैन, ठिक त्यस्तै बाढी पहिरोको पनि आँखा छैन, जता पनि गइदिन्छ । लोकतन्त्रको डोजरले भूगोल भत्काउँदा यसको आँखा गुम भएको हो । बहुचर्चित बिपि राजमार्गलाई हिलो पहिरोले निल्यो, दसैँको मुखैमा । लोकतन्त्र बोकेको सिंहदरबारले दसैँको नवमीदेखि सवारी सञ्चालन हुने हल्लीखल्ली गर्याे, एकतर्फी सञ्चालनमा आएको केहीबेरमै सुख्खा पहिरोले एक सुमो गाडीलाई पुरिदियो मात्रै होइन, एक बसलाई रोसीतिर धकेलिदियो । हिले पहिरो वर्षाको संकेत हो, सुख्खा पहिरो हिउँदको संकेत हो, या यसो भनौँ हिउँद होस् या वर्षा नेपालीलाई चैन छैन, सुख छैन, शान्ति पनि छैन, आनन्द त धेरै परको विषय हो, मानौँ यी सबै तत्व लुटिएको अवस्था छ कतैबाट । जथाभाबी ढुङ्गा खानी, विदेशीको नक्कल, डाँडो पाखो काटेर पिच सडक, खोला खोलामा डोजर, लोकतन्त्रका वडाध्यक्षहरू विकासे इन्जिनियर भइदिनाले, खोला किनारामा सके आफ्ना मान्छे राख्ने, नसके पार्क, पाटी, क्रियापुत्री भवन, उद्यान, खेल मैदान, मठ, मन्दिर, सत्तल, तरकारी, फलफूलल बजार, हाटबजार, सार्वजनिक भवनका नाममा अतिक्रमण गरेकाले प्रकृतिले आफ्नो पालो कुरेर बसेको थियो । कच्चा बाटो, पुल, कमजोर घर, टहरा, कमसल बालुवा र सिमेन्ट, कमिसनको ठेकेदारी प्रथा अझ यसो भनौँ छिटो धनी हुने चाहना र नेपालको भूगोल सापेक्ष विकासको मोडल तय नहुनाले भएको परिणति थियो ।
असोज ११ र १२ गतेको परिदृश्य र यो वातावरण तय गर्ने जिम्मा चालु लोकतन्त्र र यसका संवाहकले नै लिनुपर्छ । क्षतिपूर्ति दिएर राज्यले नसक्ने भइसकेको र बाढी पहिरो ‘मैले ल्याएको होइन, म भैँसी दुहुन विदेश गएको पनि होइन’ भनेर लोकतन्त्र उम्किने ठाउँ छैन अब । वातावरण जोगाउन आएको आईई र इआईए कानुन लोकतन्त्रले खाइदिएको हो । सहरका खोला छोप्दै नदीहरूलाई ढलमा परिणत गराउँदै, ग्रामीण सडक भन्दै घरघरमा माटो छोप्ने विकास देखाएर बाटो दिने काम यसैले गरेको हो । कर उठाउने नाममा बाँदर लड्ने भीरलाई नगरपालिका बनाएर राजनैतिक रोजगारी बढाएको पनि यसैले हो । दर्जनौँपल्ट मेलम्ची उद्घाटन गराएर उपभोक्तालाई भ्रम छर्ने अनि पानी बेच्ने माफियाहरूले जबरजस्त भूसतहभित्र रहेको पानी निकाल्न लगाएर जमिन खोक्रो कसले पारेको होला ? घर घरका आँगन अगाडि पिच र ढलान गराएर वर्षाको पानी भुईँभित्र जानै नदिने व्यवस्था वार्ड अध्यक्षहरूले नै गराएको होइन र ?
बाढी र पहिरोले बस्ती उडाउने, बाढी सडकमा पोखिने र सडकमा रोपाइँ हुने चलन आएको केही दशक भएको छ, यो पनि लोकतन्त्रको आदर्श र उपहार भएको छ, गाउँमा मान्छे टिक्न नदिने सकेसम्म विदेश धकेल्ने र विप्रेषण कमाउने, संसारकै विप्रेषणमा अब्बल दर्जाको राष्ट्र भनाउने, नसके सहर छिराएर बेरोजगार बनाउने योग्यता पनि छ हाम्रो लोकतन्त्रमा । सातौँ दिन गोरखाबाट फूलपाती आउँदै गर्दा त्यतै मान्छे काटिएछन्, दोलखामा एक गाडीले एक जना खाएर अर्कोलाई घाइते बनाएछ । सातौँ दिनदेखि नै लोकतन्त्रका सुपथमोलका पसल बन्द भइसकेका र पंक्तिकारले दुई वटा ग्याँसका सिलिन्डर रित्तै फर्काएको दिन पनि थियो, उपभोक्ताकर्मी आम सञ्चारमा कुर्लँदै थिए, बजार पहिलेदेखि नै छाडा छोडेको साँढे जस्तै रहेको थियो भने नक्कली यात्रु टिकट, दोब्बर, तेब्बर भाडा असुलेका र कसैले सोधेमा यो रिजर्भ गाडी हो भन्नु है भनेर गाडी साहुहरूले भनेको खबर बाहिर आएको थियो । यतिसम्म निर्लज्ज समाज बनाएको श्रेय पनि लोकतन्त्रलाई नै जान्छ र हिजो थापाथलीमा खुँडा खुकुरी तेर्स्याउने बालेनको डोजरलाई पशुपति गौशालाको धर्मशालाबाट रित्तो हात फर्काएको पनि यति बेला नै थियो ।
अदालतको फैसला भन्दै काठमाडौँ महानगर र पशुपति विकास कोसबिच पशुपति धर्मशाला आफै सञ्चालन गर्ने भन्दै सो कार्यान्वयन गर्न बालेनको टिम गौशाला पुगेर आफ्नो ब्यानर राख्न खोज्दा मारवाडीहरू हुल बाँधेर आए र तिनको हुललाई लोकतन्त्रको गृह प्रशासनले सहयोग गर्यो, मारबाडीहरूले भने यो जुद्धशम्सेरले दिएको हो हामीलाई । यसको अर्थ रहन्छ, राणाकाल व्यतीत भएको छैन अभैm, चालु छ, केहीलाई मात्रै गएको हो, राणाकालको संरक्षण दिन नै गणतन्त्र र लोकतन्त्र आएको हो । २०४६ सालअघिका तमाम संयन्त्रहरू हाम्रो पुर्खाको देन हो, पुर्खाले आर्ज्याको हो, अरूलाई छुने हक छैन भन्दा पनि अब मिल्ने अवस्थाको संकेत हो यो । आखिर धर्म सम्बन्धी र दसैँका सबै काम त त्यही सेरोफेरोमै भइरहेको देखिन्छ, निरपेक्ष हो भने प्रमुखहरू किन धाउनु प¥यो र मन्दिर मन्दिर । उद्योगीसँग बिजुलीको पैसाबारे नरम हुने तर कूलमानलाई कसरी हुन्छ हटाउने योजनामा कटिबद्ध देखिनु लोकतन्त्रकै रुप त होला ? लोकतन्त्रले निषेध गरेका पात्रहरू हुन् रवि, हर्क, हमाल, ढकाल, बालेन, दुर्गाहरू । झोला नबोक्नेहरू अरू धेरैलाई निषेध गरेको छ लोकतन्त्रले, जुन नसुहाउने कुरो हो । दसैँमा टिका दिने, हनुमान ढोकामा दर्जनौँ राँगा, बोका बलि दिने, इन्द्रजात्रामा हनुमान ढोका र कुमारी पुज्ने लोकतन्त्रले आफूले धर्म निरपेक्ष भन्छ, नपत्याउने कुरो ।
दसैँ भनेर लामो बिदा दिने लोकतन्त्रले बाटोघाटा दुरूह हुँदा राज्यका सवारी साधन हरूलाई पूजा गरेर राख्यो । नेपालीहरूकै कर र नेपालीका नाममा आएको ऋणले नै भए पनि खरिद भएका गाडीहरूले अधिराज्य भरि यात्रुको ओसारपसार गरिदिएको भए हुन्थ्यो, निजी नाइकेहरूले धेरै भाडा धेरै लिए भनेर आम जनगुनासो पनि सुन्न, पर्दैनथ्यो, अथवा त्यो गर्न सकेन क्षमता भएन नेपालीको राहत र उद्धार गर्न भने बाढी र पहिरो देखाएर परिवहन राम्ररी नचलेको देखाएर निजी बिचौलिया व्यापारीहरूले काठमाडौँ उपत्यकालाई तरकारी विहीन बनाउँदा र अचाक्ली महँगो गर्दा राज्य संयन्त्रका गाडीहरू गएर तरकारीका काठमाडौँ बाहिरका मूल नाकाहरूबाट ताजा तरकारी ढुवानी गरिदिन सकिन्थ्यो । अघिल्ला सालहरूमा २० लाख जतिले उपत्यका छोड्ने गरेकामा यसपालि देशको विषम परिवेशका कारण मुस्किलले आठ लाखले उपत्यका छोडेका र साबिक प्रयोग हुने गरेको र खाद्य र अन्य सरसामग्री अपुग भएकाले यति बेला राज्यले हस्तक्षेप गरेर बजार अनुगमन गर्नु पर्ने थियो ।
उसका सवारी साधनलाई नागरिक उपभोगका लागि प्रयोग गर्नुपर्ने थियो, आखिर संगटग्रस्त क्षेत्र भनेर त घोषणा पनि गरिएकै हो । राज्य आफैं व्यापारी भएको छ, सेवाग्राहीको घाँटी निमोठेको छ, नाफा र नोक्सानको रूपमा हेरेको छ । यो नकच्चरो भनाइ हो, देशले मुद्रा छपाइ नगर्दा रकम बचत भयो रे, अब यसो गर्नु पहिले जति बेला बस्तु साटासाट गर्दा बार्टर सिस्टम थियो, मुद्रा प्रयोग हुन्थ्यो, अब त्यतै फर्कौँ सबै, अझ बढी बचत हुन्छ र योभन्दा महँगो संघीयता, लोकतन्त्र र गणतन्त्र पालिरहन सकिन्छ, मुद्राको प्रयोग नै हुन्न । काठमाडौं सबैको केन्द्र, सबै संयन्त्रको मूल जरो यहीँ छ, यसलाई जोड्ने सबै सडक, नाका अवरुद्ध भए, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर सबै जिल्ला विपद्ग्रस्त घोषित भइसकेपछि देश पूरै विपद्ग्रस्त भयो भन्न किन लाज मानेको, आखिर भएकै हो, यसर्थ लोकतन्त्रको काम कुरो हरेक विषयमा डिस्काउन्ट शैलीले हेर्नु, बुझ्नु परेको कसैबाट छिपेको छैन । झुटा आश्वासन र वेदान्ती शैलीको प्रवचन र शुभकामनाले आम नेपालीको दसैँ गुलियो हुने होइन र भएन पनि, दसैँ हिजो पनि खल्लो नै थियो, विगत झैं यसपटकको दसैँ पनि खल्लै भएको हो, यति ठूलो विपत्तिमा राजनैतिक नेतृत्व विकसित देशको मेजमानीमा रहनु र स्थायी सरकारको प्रतिनिधित्व गर्ने निजामती प्रशासनको मुख्यसचिव गृह जिल्लामा गएर खादा, माला, सम्मान लिँदै गर्दा राजनीति बा राजनीतिले बनाएको सार्वजनिक प्रशासनलाई आम नेपालीहरूले कसरी हेर्ने त ?