२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

विपद्ले देशभर २५० विद्यालयमा क्षति, साढे दुई लाख विद्यार्थीको पठनपाठन प्रभावित

ADV
लेखनाथ सिकारु
२०८१ कार्तिक ८ गते ०६:५०
विपद्ले देशभर २५० विद्यालयमा क्षति, साढे दुई लाख विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं : गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर देशभरका २ सय ५० विद्यालयमा क्षति भएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्राकृतिक विपद्का कारण २ सय सामुदायिक र ५० संस्थागत विद्यालय गरी २ सय ५० विद्यालयमा क्षति पुगेको हो । 

विपद्ले भौतिक पूर्वाधारमा क्षति पुर्‍याउँदा सबै विद्यालयमा गरी करिब २ लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । भौतिक क्षतिको आंकलन गरेर पुनर्स्थापनाको तयारीमा लागेको सरकारी अधिकारीहरू बताउँछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानका कारण कोशी प्रदेशको पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, खोटाङ, मधेशको सप्तरी, सिरहा, सर्लाही र पर्साका विद्यालयमा क्षति पुगेको छ । 

बागमतीको मकवानपुर, रसुवा, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र धादिङ, गण्डकीको कास्की, म्याग्दी र बागलुङ, लुम्बिनीको गुल्मी, रूपन्देही, दाङ र नवलपरासी पश्चिम, कर्णालीको हुम्ला, जाजरकोट र सुर्खेतका विद्यालयमा पनि क्षति पुगेको छ । सुदूरपश्चिमको अछाम र बझाङ जिल्लामा समेत गरेर दुई सय सामुदायिक र करिब ५० संस्थागत विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

पहिरोले पाँचथरका मात्रै २१ विद्यालयमा क्षति पुगेको छ । शिक्षा तथा समन्वय इकाइ पाँचथरको तथ्यांक अनुसार २१ वटामध्ये आठ वटा विद्यालय उच्च जोखिममा छन् । आठ ८ वटा विद्यालयमा अझै पठन पाठन हुन सकेको छैन । 

क्षतिग्रस्तमध्ये आठ वटा विद्यालय भवन निर्माण नभएसम्म पठनपाठन गर्न सकिने अवस्था नभएको शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताए । सवेहाङकाअनुसार सबैभन्दा धेरै क्षति तुम्बेवा गाउँपालिकाका विद्यालयहरुमा पुगेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार कुम्मायकको सिंहबाहिनी आवि, फिदिम ९ को लुम्फावुङ आवि, फिदिम ७ को कालिका आवि, फालेलुङ ३ को सिंहकाली आवि, तुम्वेवा ४ को सुनगाभा आवि, तुम्वेवा १ को सिंहवाहिनी आवि, कुम्मायक १ को खाल्डे आविमा क्षति पुगेको छ । फाल्गुनन्द ४ को पैयाबोटे आवि, फिदिम १२ को युवराज आवि, फिदिम ६ को काफलबोटे आवि, फालेलुङ २ को मोतीराम मावि, फालेलुङ ५को सिंहबाहिनी आवि, फालेलुङ ६ को दीपज्योति आविमा पनि क्षति पुगेको छ । फालेलुङ ४ को बाह्रबिसे आवि, फालेलुङ ४ कै मेमेङ मावि, तुम्वेवा ३ को इन्द्रायणी मावि, तुम्वेवा २ को त्रिवेणी आवि, तुम्वेवा ४ को धुवाखोला आवि, तुम्वेवा १ को सरस्वती मावि, तुम्वेवा ३ को पञ्चमी आवि र तुम्वेवा ४ को अग्निका सिं आविमा बाढी पहिरोले क्षति पुर्‍याएको छ । 

१७ जना विद्यार्थीको मृत्यु

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको विपद्मा परेर १७ जना विद्यार्थीको मृत्यु भएको छ । 

बुटवलको कालिका मानविज्ञान माविका दिपेश भट्टराई र दीपिका भट्टराईसहित उनीहरूकी आमाको झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । 

बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत एक जना र सर्वोद्वार माविका दुई जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ माविमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परेर मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा मृत्यु भएको विवरणमा उल्लेख छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise