–खगेन्द्र पौडेल
संसदमा सानो दल भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन हेराफेरी गरेरै डेढ वर्ष सत्तामा टिके । उनले संख्यात्मकरुपमा आफूभन्दा झण्डै तीन गुणा ठूला शक्तिलाई लामै समय नचाइरहे । प्रचण्ड सत्तामा त टिके तर, के गरे अहिले प्रश्न छ । हेराफेरि गरी गरी सत्ताको नेतृत्वमा टिक्नुलाई उपलब्धी मान्ने हो भने विषय फरक होला तर, उनले सही गरे भन्ने अवस्था उनी स्वयंले स्पष्ट पार्न सक्दैनन् ।
प्रचण्ड अहिले सत्ताबाट पाखा परेका छन् । सत्ताबाट पाखा परेसँगै उनी सडकमा समेत देखिन थालेका छन् । उनी नेतृत्वको पार्टीले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई ‘खबरदारी गर्न’ भन्दै माओवादीले केही हजार मानिसलाई सकडमा उतारेको थियो ।
सडकमा देखिएका प्रचण्डले सरकारविरुद्ध निकै चुनौति दिने भाषा प्रयोग गरे । उनले सरकारलाई ‘सडकमा लतार्ने दिनसम्म आउनसक्ने’ चेतावनी दिए । विशेषगरी भ्रष्टाचारका मुद्दामा प्रचण्डले सरकारमाथि प्रश्न उठाएका छन् । उनले विभिन्न भ्रष्टाचार काण्डका फाइल लुकाइएको सन्दर्भमा प्रश्न गरेका छन् । विभिन्न प्रकरणमा मुछिएकालाई जोगाइएको र सरकार नेतृत्वकर्ता स्वयम् पनि मुछिन थालेको सन्दर्भमा उनले प्रश्न उठाएका थिए । विशेषगरी प्रचण्डले ललितानिवास जग्गा प्रकरणदेखि गिरीबन्धु र सहकारी ठगीसम्मको विषयलाई उठाएका छन् ।
सरकारविरुद्ध प्रश्नहरु उठाउँदै गर्दा प्रचण्डले जनताका मुद्दा छाडेर आफू सत्ताको खेलमा नलाग्ने बताएका छन् । सँगै उनले आफूले गल्ती गरेको भन्दै आत्माआलोचना पनि गरेका छन् । शान्ति प्रक्रियाको डेढ दशकको अवधिलाई केलाउँदै प्रचण्डले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले आफू सच्चिएर अगाडि बढ्ने दाबी गरेका छन् । प्रचण्डले २०६४ कै अवस्थामा माओवादी फर्किने अवस्था भएको पनि दाबी गरेका छन् ।
यद्यपि, प्रचण्डले सच्चिने भनेको केहो स्पष्ट पारेका छैनन् । उनी स्वयम्का भाषाअनुसार प्रचण्ड धेरै बिग्रिसकेका छन् । उनले जनताका मुद्दालाई यतिका वर्षसम्म वेवास्ता गरे । प्रचण्ड सत्ताको खेलमा मात्रै रमाइरहे । डेढ दशकको अवधिमा उनले आफैंले बोकेका एजेन्डालाई ध्यान दिएनन् । प्रचण्डको भनाईलाई हेर्दा, अहिलेको परिवर्तन नै उल्टिने खतरा निकै बढेको छ । तर, यसमा जिम्मेवार को ? कसको कारण यो खतरा बन्यो ? के कांग्रेस र एमाले वा अन्य कुनै शक्ति यसको कारक हो ? के स्वयम् पूर्वराजा परिवर्तनका खतरा हुन् ? के नयाँ कुनै शक्ति त्यो खतराको रुपमा उदाउँदैछ ? जसको जवाफ प्रचण्डसँगै देखिन्न ।
सँगै, यो खतरा कसरी टाल्ने ? प्रश्न गम्भीर छ । तर, प्रचण्डले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सत्तालाई मात्रै गाली गरेर, आत्मसमीक्षा वा आत्माआलोचनाको नाममा आफू जोगिन खोजेको देखिन्छ । बुझ्नुपर्ने विषय प्रचण्ड यो परिवर्तनको केन्द्रमा छन् । यो परिवर्तन उनकै नेतृत्वमा सम्भव भएको हो । तर, स्वयम् नेतृत्वकर्ता इमानदार नहुँदाको परिणाम अहिलेको अवस्था हो । यद्यपि, प्रचण्डले यसको समाधान कुरा बोलेका छैनन् । प्रचण्डले ओली वा अरुलाई गाली गर्दैमा समाधान हुँदैन । प्रचण्डकै भाषामा ओली वा अरु यो परिर्वतनका कारक होइनन् भने उनीहरु जिम्मेवार हुने विषय नरहला । यदि प्रचण्ड नै मुख्य कारक हो भने उनी कहिले सच्चिने र यो परिवर्तन जोगाउन लाग्ने ? उनले गम्भीरताका साथ जवाफ दिन आवश्यक छ ।