अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपालमा निरन्तर सुनको मूल्य उकालो लागेको छ । दिनहुँ सुनको मुल्यमा उच्च रेकर्ड बन्दा सुनको बिक्री भने कम भएको व्यवसायी बताउँछन् । सुनको मूल्य बढ्दा सुन व्यापारको मुल्य सिजन शुरु हुँदै गर्दा व्यवसायमा उत्साह छैन । दैनिक १० किलो कोटा बढाएर २० किलोको माग गरेका व्यवसायी अहिले सुन बिक्री हुन छोडेपछि निराश छन् । भारतमा सुन किन्दा ६ प्रतिशत भन्सार छ तर, नेपालमा २० प्रतिशत भन्सार हुँदा पछिल्लो समय भारतबाट नेपाल सुन तस्कर मौलाइरहेको व्यवसायीहरुको भनाइ छ । तस्करीको सुन आयात हुँदा सुनबाट आउने राजस्व राज्यले गुमाइरहको छ भने तस्करको व्यापार मैलाइरहेको व्यवसायीले बताएका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
सुनको मूल्य वृद्धिलाई कसरी हेर्नुभएको छ ?
सुनको मूल्य संसारभरी नै बढिरहेको छ । यसलाई अप्रत्यासित भन्न मिल्दैन । आज भन्दा ३ वर्ष अघिदेखि नै सुनको मूल्यमा उछाल आउने संकेत देखिएकै थियो । सुनको मूल्य बढ्ने अनुमान पहिलेदेखि कै हो । विश्वको परिवेश समेत उस्तै बन्यो । अन्तर्राष्ट्रिय रुपमा मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको कारण समेत सुनको मुल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सुनमा लगानी हुने गरेको छ । त्यसैको कारणले समेत सुनको मूल्य अझै बढ्ने देखिन्छ । सुनको मूल्य बढ्दा नेपालका व्यवसायीको व्यापार छैन व्यापार नहुँदा व्यवसायीमा उत्साह छैन ।
सुनको मूल्यमा भएको निरन्तर वृद्धिकै कारणले मुख्य सिजनमा व्यवसायलाई कस्तो असर गर्ला ?
यसले पक्कै पनि सुन व्यवसायीलाई नकारात्मक असर गर्ने देखिन्छ । मूल्य बढेपछि आम मानिसले किन्न सक्दैन् । किन्ने क्षमता समेत घट्छ । पहिले २ तोला किन्नेले एक तोलामा चित्त बुझाउने पर्ने बाध्यता आउँछ । यसले सुनको माग घट्ने देखिन्छ । सुन घटेपछि किनौला भनेर बस्नु पर्ने हुन्छ । सुनको मुल्य निरन्तर बढ्दा बजारलाई संकुचित बनाएको छ । यसको प्रभावले धेरै जना व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था सृजना भएको छ । कति व्यवसायी वर्षाैंदेखि चलिरहेको व्यवसायी अर्काे विकल्पका जानुपर्ने अवस्था आउने देखिन्छ ।
सुन व्यवसायमा अहिले देखिएको समस्या कस्ता छन् ?
अहिले व्यवसायमा आपुर्ति र सप्लाईको समस्या छ । त्यसले बजार तस्करीतर्फ जाने हो की भन्ने चिन्ता छ । हाम्रो छिमेकी मुलुक भारतमा सुनको भन्सार १८ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा ल्याइएको छ तर, नेपालमा सुनको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याईको छ । यसको असर अहिले बजारमा देखिएको छ । पहिला नेपालबाट भारतमा सुन तस्कर भएर जाने गर्दथ्यो । तर, अहिले भारतबाट खुलेआम नेपालमा आइरहेको अवस्था छ ।
केही दिनअघि मात्रै करोडौंको सुन तस्करी भएको प्रहरीले फेला पारेको थियो । यसले के देखाउँछ भने तस्करीको आधारका सुन बजार चलिरहेको छ । जसले सामान्य व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आइरहेको छ भने तस्करहरुले मनग्य नाफा कमाउने अवस्था छ । यो हुनुमा सरकारको नीति नै दोषी छ । भारतले भन्सार घटाएपछि नेपालले पनि भन्सार त घटाउनु पर्ने हो नी । हाम्रो जस्तो खुल्ला सिमाना भएको मुलुकले त्यति त ध्यान दिनुपर्छ नी । भन्सार समायोजन गर्नुपर्ने हो नी । सरकारको ध्यान पुगेको छैन । सरकारले जुन राजस्वको टार्गेट राखेर भन्सारवृद्धि गरेको हो त्यो अनुसार राजस्व उठ्ने हैन राज्यले राजस्व समेत गुमाइरहेको छ ।
सुनको भन्सार बढ्दा राजस्व घटीरहेको छ अब के गर्नुपर्छ ?
सुनमा लगाएको भन्सार घटाउनुपर्छ भनेर हामीले भन्दै आएको हो । तर, यो विषय मन्त्रिपरिषद्मा लैजानुपर्छ भन्ने छ । कहिले गर्ने हो थाहा छैन । नेपालमा भन्दा भारतमा सुन सस्तो हुँदा तस्कर अझै मौलाउने देखिन्छ । सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ सुनको बिक्री कम हुँदा नेपाल राष्ट्र बैकले सुन आयात बढाउन सकेको छैन । असोजमा सुन नै आयात भएको छैन । अहिले नेपालमा भन्दा भारतमा प्रतितोला १८ हजार सुन सस्तो छ । भारतबाट एक किलो सुन ल्यायो भने १८ लाख फाइदा छ । भनेपछि यस्तोमा तस्कर हुँदैन भन्ने हुन्छ र ?
यहाँ जसरी फाइदा हुन्छ त्यता तिर लाग्ने धेरै छन् जसले गर्दा नेपालको सुनचाँदी बजार जटिल अवस्थामा पुगेको छ । एकातिर राज्यले राजस्व गुमिरहेको छ अर्काेतर्फ बजार अस्वथ्य बन्दै गएको छ । तस्करी गरेर ल्याएको सुन बजारमा प्रवेश हुदाँ तस्कर गर्ने रातारात धनी हुने र सामान्य व्यवसायी पलायन हुने अवस्था छ । यसलाई समयमा सहि समाधान खोजिएन भने नेपालको सुन बजार तस्करको हातमा पुग्छ ।
सुन व्यवसायमा जर्ती र ज्यालाको विषयमा पनि विवाद किन आइरहेको हुन्छ ?
व्यवसायले बजारमा चलाउने आचारसंहिता हुन्छ । कुनैपनि काम आचारसंहिता बाहिर जानु हुन्न भन्ने नै हो । तर, अहिले जुन किसिमको जर्ती र ज्यालाको कुरा आइरहेको छ, जर्तीको पैसालाई ज्यालामा जोडेर लगाइरहेको हुन्छ । तर, यहाँ कतिपय व्यवसायीले ग्राहकहरुलाई भ्रमित बनाउने काम समेत भइरहेको छ त्यो गलत हो । यसले बजारलाई केही अस्वस्थ तर्फ लैजान मद्दत गर्छ । अस्वस्थ प्रतिस्पर्धा गराउने काम भइरहेको जस्तो लाग्छ ।
अन्त्यमा, सुन व्यवसायलाई कसरी व्यवस्थित गर्न आवश्यक छ ?
यो सरकारको काम हो । व्यवसायीले सुझाव दिने मात्र हो । सरकारले सरोकारवाला निकाय व्यवसायी महासंघहरुसँगको सुझावलाई त मनन् गर्नु प¥यो नी । सरकारले गर्नुपर्ने काम समय मै भयो भने मात्र समाधान हुन्छ । भन्सार दर तत्काल घटाउने तर्फ नलाग्ने हो भने भारतको खुल्ला नाकाबाट तस्कर गरेर आएको सुन बजार भरी नै हुने देखिन्छ । यसमा सरकारको चेत नआउने हो भनेर तस्करको बह्रलुट हुनेछ ।
यो विषयमा महासंघले मात्र गरेर केही हुँदैन यो सरकारले नै गर्नुपर्छ । भारतको सिमाना क्षेत्रबाट अर्बाैंको सुन आउने र नेपाली ग्राहक समेत सुन किन्न भारत जाने अवस्था छ । यस्तै भारतबाट तस्करी गरेर ल्याइएको सुन प्रहरीले नै समाउन थालेपछि सुनको तस्करी भइरहेको स्पष्ट देखिन्छ । अझै केही समय सरकारले सुन आयातको भन्सार दरलाई समायोजन नगर्ने हो भने सुन व्यवसाय अस्तव्यस्त हुने देखिन्छ ।