–ईश्वर बुढाथोकी
अहिलेको पुँजीवादी अर्थशास्त्रले पुँजीवादी उत्पादन सम्बन्धबारे व्याख्या गर्दछ । पुँजीवादी उत्पादन सम्बन्धहरू मानव समाजमा कसरी परिवर्तन हुँदै आए र उत्पादन प्रणालीको परिवर्तनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्ष कसरी हुँदै आएका छन् भन्ने सम्बन्धमा कुनै कुरा उल्लेख छैन । मानव समाज विकासको सुरुदेखि नै पुँजीवादी उत्पादन प्रणाली अस्तित्वमा थियो र मानव समाज रहेसम्म पुँजीवादी आर्थिक नियमहरूको व्याख्या गर्दछ ।
पुँजीवादी अर्थशास्त्रीले पुँजीवादी शोषण, दमन र उत्पीडनलाई जायज ठहर्याउने गर्छ । सर्वहारा तथा श्रमजीवी जनताको पक्षमा वकालत गर्ने वैज्ञानिक समाजवादी अर्थशास्त्रको सिर्जना भएको हो । मानिसहरूका सामाजिक सम्बन्धहरूको मुख्य आधार उत्पादन सम्बन्ध हो भन्ने कुराको जानकारी वैज्ञानिक समाजवादी अर्थशास्त्रले दिने गर्छ । वर्गहरूका बिचको अन्तरसम्बन्धहरूको पहिचान गराउन र समाजको वर्ग विश्लेषण गरी कम्युनिस्ट पार्टीका निमित्त पार्टी कार्यदिशा निर्माण गर्न वैज्ञानिक समाजवादी अर्थशास्त्रले मद्दत गर्दछ ।
आदिम साम्यवादी समाजमा मानिसहरू सबै बराबर थिए । कोही धनी, कोही गरिब थिएनन् । कोही मालिक पनि थिएनन् र कोही नोकर पनि थिएनन् । काम गर्न सक्ने उमेर र अवस्थाका सबै मानिसहरूले आ–आफ्नो योग्यता, क्षमता र सीपअनुसार मिलेर काम गर्दथे । उत्पादन गरिएका वस्तुहरू आवश्यकताअनुसार बाँडेर उपभोग गर्दथे । त्यस समाजमा वर्ग, धर्म र जातपात केही पनि थिएन ।
जबसम्म समाजका टाठा बाठा र बलिया बांगाहरूले साझा सम्पत्तिलाई निजी सम्पत्ति बनाउन थाले, तब समाजमा वर्ग विभाजन भयो । त्यही अवस्थादेखि वर्गसंघर्ष सुरु भयो । श्रमका औजार लगायत उत्पादनका साधनहरू मालिक वर्गका सम्पत्ति थिए ।
उद्योगहरूको विकास हुँदै जाँदा पुँजीपति वर्गको जन्म भयो । पुँजीपति वर्गले मजदुर वर्ग जन्मायो । पुँजीपतिवर्गले मजदुरहरूमाथि शोषण सुरु गर्यो र अहिले पनि गरिरहेको छ । श्रमजीवी जनतालाई शोषण, उत्पीडन र विभेद गर्ने पुँजीवादी राजनीतिक अर्थशास्त्रको विकल्पमा अर्को सूत्रपात गर्नु जरुरी थियो र यही आवश्यकतालाई पूरा गर्नका निमित्त काल मार्क्स र फ्रेडरिक एङ्गेल्सले वैज्ञानिक समाजवादी अर्थशास्त्रको विकास गरे । पुँजीवादी उत्पादन प्रणालीको रक्षा र विकास गर्न मार्गदर्शन गर्ने पुँजीवादी राजनीतिक अर्थशास्त्र छ भने श्रमजीवी तथा उत्पीडित जनताको उत्पादन प्रणालीको स्थापना, रक्षा र विकास गर्न वैज्ञानिक समाजवादी अर्थशास्त्र छ । यसरी राजनीतिक अर्थशास्त्रमा वर्ग पक्षधरता हुन्छ ।
निजी स्वामित्वमा आधारित उत्पादन प्रणाली र त्यसैको जगमा खडा भएको नव–औपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था श्रमजीवी तथा उत्पीडित जनताका सारा समस्याहरूको मूल कारण हो । नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था रहेसम्म समस्याहरूको समाधान सम्भव छैन । त्यसका लागि यो व्यवस्थालाई नै बदल्न जरुरी छ । सामाजिक उत्पादन अनुसारको सामूहिक स्वामित्व कायम गर्ने अर्थ प्रणालीमा आधारित वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्दछ । त्यसका निमित्त क्रान्ति नै आवश्यक हुन्छ । नेपालमा अहिलेसम्म शोषण, दमन, उत्पीडन र विभेदमा पारिएका, दबाइएका थिचिएका, बेरोजगार बनाइएका र देश जनताको माया गर्ने देशभक्त एकजुट हुनुपर्दछ । श्रमिक कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा वैज्ञानिक समाजवादी जनक्रान्तिको बाटोमा लामबद्ध हुनुपर्दछ । यदि समयमै जनक्रान्तिको बाटोमा लामबद्ध हुन सकिएन भने आउने पुस्ताले समेत दुःख पाउने निश्चित छ । बौद्धिक समुदायले पनि समयमै बुद्धि पुर्याउन जरुरी छ ।