–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको आरोपित व्यक्तिबाट चन्दा लिनु भ्रष्टाचारकै पक्षपोषण गर्नु हो भनेको छ । पहिलेको उखान थियो दूधले नुहाउने । अब त पानी पनि छैन, आयो पानी भने कहिले बल्खु बगाउँछ, कहिले च्यासल । अन्य स्थान बग्दा खासै चासो नभए पनि च्यासलपछिको कीर्तिपुर तिर अहिले सबैको ध्यान मोडिएको छ । जहाँ गएपछि व्यापारीको मीनभवन देख्न सकिनेछ । मीन भवन भन्नासाथ बानेश्वर नजिकको मीन भवनस्थित ट्रली बसको याद आउँछ र हामीले प्रजातन्त्र ल्यायौँ ट्रली बस खायौँ ! प्रजातन्त्रले एकसरो उद्योग कलकारखाना निल्यो, अब गणतन्त्रले बाँकी अरू उद्योग कल कारखानालाई रुग्ण भन्दै चपाउने गृहकार्य गर्दैछ । गणतन्त्रले अहिले मेट्रो र मोनोरेल अनि पानी जहाजको सपना देखाउँदै छ । संविधान बन्दा बुच्चे नक्सा, संशोधन हुँदा चुच्चे नक्सा अनि मित्र रिसाउला भनेर दसैँमा नयाँ नोट नछापेर डेढ अर्ब सम्पत्ति बचत गर्ने हाम्रै गणतन्त्र हो ।
पहिलेका राजा रानीहरूले निजी सम्पत्ति त्रिविवि बनाउन दान दिए कीर्तिपुरमा, अहिलेका राजा रानीहरू अमुक व्यापारीको महँगो जग्गा दान लिँदै भवनको शिलान्यास गर्दैछन् । दसैँमै देखिएको यो खुसीयालीप्रति सर्वत्र विरोध भए पनि विरोधीहरूलाई छानी छानी गणतन्त्रले खेद्न लागेको छ । दसैँ तिहारमा मात्रै होइन अरुबेला पनि भाटभटेनी चम्केकै छ । उद्यमी व्यापारीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै निमुखा, गरिबहरूलाई थोरै सहयोग गर्नुपर्नेमा ठुलाले ठुलैलाई ठुलै दान दातव्य दिएर दलको मुख्यालय नै किन्दैछन् ।
पहिले–पहिले वर्षभरि प्रयोग हुने घरेलु हतियार, किसानी सरसामान कुटो, कोदालो अर्चाप्ने विश्वकर्माहरू र वर्षभरि लुगा सिइदिने दर्जी बा, बाजा बजाउने काममा प्रयोग भएकाहरूलाई दसैँ तिहारमा बाली दिने, साउनेति चैतेति भन्दै सामान दिने चलन थियो । अहिले वर्षभरि मुद्दा मिलाइदिने, कालोलाई सेतो गराइदिने डेट् एक्पायर वा भनौँ रुपैयाँ सयमा पाइने वस्तुलाई पाँच सय मोल लिएर बिक्री वितरण गर्न छूट दिने र त्यस्तो वातावरण मिलाइदिने आफन्तलाई त्यो पनि सर्व शक्तिशालीलाई जग्गा, भवनहरू दान दातव्यमा दिन पाउनु व्यापारीको वीरता हो, दातालाई वीरबहादुर भन्नु उचित होला ।
ललिता निवास जग्गा प्रकरणमा उनी धरौटीमा छुटेका छन्, उनको मुद्दा सरकारवादी हो र सरकारको नेतृत्व गरिरहेको दललाई ११ रोपनी जग्गा दान दिन पाउनु गौरवको विषय पनि हो । लगानी नै गर्नु परेपछि सानोतिनोमा किन गर्ने, दुई अर्बमाथिकै गर्नु राम्रो, भवन बनाउन पनि त त्यतिकै रकम चाहिएला, त्यो रकमको जोहो पनि हुने नै छ, देशैभरि भाटभटेनीहरू चलेकै छन् । अघिकी भाटभटेनी गरिब थिइन् टंगाल नजिकै रहेकी भाटभटेनीले हाँसको अण्डा लिन्थिन् । बलिको रूपमा अहिले बढेर नरिवलसम्म पुगेको छ । त्यहीँ नजिक रहेको विशाल भवन जसको नाम अख्तियार छ, त्यसमै नाम अंकित छ । यी व्यापारीको मात्रै होइन, रामशापथको विशाल भवन जसको नाम अदालत छ, त्यहाँ पनि उनको छ । अब कीर्तिपुरमा पनि नाम आउने भयो र वादी प्रतिवादी एकै कित्तामा रहेपछि मुद्दा छिन्नेलाई पनि सजिलो हुने भयो । आन्तरिक मेलमिलापबाटै वा वार्ताबाटै सबै विषय टुङ्गिने भए । कानुनी भाषामा रिसवतको कुरो गरिरहनै परेन । कसैले लुकेर काम गर्छन्, हामीले देखाएरै गर्यौँ त के भयो, भनेर पनि मुख्यालयका पात्रहरूले भनेकै छन् ।
राज्य बनाउने र एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिव्योपदेशमा घूस लिन्या र दिन्या देशका शत्रु हुन् भनिएको छ । उनको सालिक तोड्न सहयोग गर्ने र उनका अंश वंशलाई वनवास पठाउनेले लिएको दान दातव्य घूस नभएर सहयोग नै हुन्छ । सानाले लिएको दुई पाँच हजार रिसवत हुन्छ, यति विशाल दान दातव्यलाई रिसवत कसरी भन्नु र ? यो योगदान हो तर, सामाजिक सन्जालमा आम वक्ताहरूले घूस भनेका छन् । राज्यले संसदमा बिजुली बक्यौताका पक्षमा लामो भाषण गरेको सबैले सुनेका थिए, हेरेका थिए, कूलमानलाई स्पष्टीकरण किन सोधिएको छ वा बालेनको पशुपति धर्मशालामा गणतन्त्रको प्रहरी हस्तक्षेप किन भएको छ, बुझ्न समस्या छैन ।
अघिल्लो स्थानीय चुनाव अघिसम्म गणतन्त्रमा सिंहदरबार र न्यूरोड आफन्तकै थियो, अहिले सिंहदरबार, बालुवाटार र न्यूरोडको दूरी हजारौँ किमि दूर जस्तै भएको छ । फुच्चा फूच्चीहरू वा भनौँ नयाँ त्यो केटोको सहर होइन, यो हाम्रो सहर हाम्रै रहर भनेझैं जसरी दमकमा भ्यूटावर उठ्यो ठीक त्यसैगरी सुन्धारामा पुराना सबै सरकारी कार्यालयहरू हटाएर भ्यूटावर उठेको छ । त्यो टावर ठेक्कामा दिनेछ गणतन्त्रले र बालेनको फ्रि पार्किँङ्ग शुल्क फिका हुनेछ अब ।
यसकारण कि हाम्रो देशको गणतन्त्र निकै बलियो छ । शक्तिशाली छ । श्री ३ राणाहरूको शासनभन्दा बलियो छ । शक्ति पृथकीकरणको सिद्धान्त नअपनाइए पनि हुन्छ । गणतन्त्रको मूल मान्यता भनेको पारदर्शिता हो र राज्यले यस मानेमा व्यापारीसँगको सहकार्यलाई पारदर्शी बनाएको छ । गणतन्त्रको सिद्धान्त जिम्मेवारी बोध पनि हो र अब व्यापारीप्रति राज्यको अगाध स्नेह रहनेछ । बिजुली बक्यौता, एनसेल, गिरीबन्धु, यति, ओम्नीहरूप्रति उसको जिम्मेवारी बढेको छ । जिम्मेवारीअनुसारको काम गर्नुपर्छ, यो उसको धर्म नै हुनेछ ।
पार्टी पंक्तिमा सुशासनसामु उभिएका कार्यकर्ताहरूलाई लज्जाबोध नै हुँदैन र एक ठुलै नेता भन्नेले त हाम्रा नेता राजनेता हुन् पनि भनेका छन् । साँच्चै यिनी क्यारिस्म्याटिक नेता हुन्, जसले सजिलै पगालेर अरूको सम्पत्ति हडप्न सक्छन् । यस मानेमा कि अरू कार्यकर्ता भनेका उनीहरू फलोअर मात्रै हुन्, लाए अह्राएको र झन्डा बोक्ने काम गर्छन् । परिआएको खण्डमा सडकमा उत्रिन्छन् । आवश्यक पर्दा रत्नपार्कको बार भाँचेका हुन्छन् । गाडी तोडफोड पनि गर्छन् र महिनौँसम्म संसदलाई बन्धक पनि बनाउँछन् र यस्तै प्रदर्शनबाट बलिया गिरिजा उति बेला संसदमै ढलेका र एम्बुलेन्समा वीर र शिक्षण अस्पताल पुर्याइएका पनि हुन् । गिरिजाजति हालका दलसँग भिड्ने शक्ति बुढानीलकण्ठमा देखिएन । अतः लडभीड गरेर होइन, दया माया देखाएर अलि अलि साँपो नापो मिलाएर सत्ता दिन लिन बुढानीलकण्ठ सफल छ ।
यत्ति हो कि दल फुटाऊ, अभियानका लागि हुन लागेको अध्यादेश कार्तिक ५ को मन्त्रिपरिषद्लाई भने उनले सहयोग गरेनन् । पहिलो दल फस्ट बेन्चमा नबस्ने प्रणालीको संविधान यिनैले तय गरेका हुन् र थर्ड डिभिजन ल्याउनेलाई भोग तृप्ति गराइसकेपछि सेकेन्ड डिभिजनलाई बालुवाटार पठाएर पछि मात्रै आफू फस्ट ब्याइ बन्न रुचाउँछन् । अध्यादेश आएको भए फस्ट ब्याइ बालकोट हुने जानकारी छ यी बालाई । दान दातव्य लिन दिन भने ठुला दल मात्रै होइन, दर्ता हुनासाथ दान दातव्य पाउनु मौलिक हक सम्झेका छन् अरू साना दलहरूले पनि, च्याँखे दाउ हालिसकेका छन् र बोली पनि सकेका छन् । लड्ने डर हुने भनेको नलडुन्जेल हो, लडिसकेपछि अर्को डर हुन्न, दलहरूकै कारण देश लडिसकेको छ, दलहरू लडिसकेका छन् अब लड्न बाँकी नै छैन, त दान दातव्य लिन किन डराउनु पर्यो ।
कार्यकर्ताहरूसँग सानोतिनो रकम लेभी उठाएर अरूलाई दुःख दिनुभन्दा एकमुष्ट साहुजीबाट लिनु राम्रो कुरो हो । आखिर देश चलाउने व्यापारी नै हुन् । धर्मशाला चलाउने व्यापारी नै हुन् । पशुपतिको सुमार्गी भवन चलाउने व्यापारी हुन् । पूर्वका प्रसाईँले मार्सी भात खुवाउँदा उनी पनि व्यापारी नै थिए । पाथीभाराका भक्त भएकाले खासै झूठ बोलेजस्तो पनि लाग्दैन । घरका टिभी, वासिङ मेसिन, इन्टरनेट लाइन, भान्छाका तेल लगायत चाउचाउ अनि सबै किसिमका चामल, पिठो, मैदा अनि बैकका चेक बुकहरू हेर्दा पनि उनको भनाइमा असत्यता देखिन्न ।
सुशासन हुँदो हो भने चार घण्टा छतमा रोइसकेपछि नेपाली ज्यानले जिन्दगीभर रुनु नपर्ने गरी बिदा पाएको नख्खु खोलाको दृश्य बाँकीहरूले हेर्नु पर्दैनथ्यो र त्यो दृश्य हेर्नु नपर्ने गरी हाम्रो गणतन्त्र समृद्ध देशमा मेजमानीमा हुँदैनथ्यो । स्थायी सरकारको नेतृत्व गर्ने मुख्य सचिव घरपायक मिलाएर खाँदा माला सम्मान लिँदै गरेको हुँदैनथ्यो । वैशाख १२ को भूकम्पले बल्खु दरबार खाएजस्तै, असोज १२ को बाढीले च्यासल दरबार खाएजस्तै, कमरेड भाटभटेनीका व्यापारीको कीर्तिपुर दरबार नखाओस् र अदालतले गरेको नदी किनाराको थप २० मिटर जमिनका लागि भ्याकेट माग गर्ने सिंहदरबार र बालुवाटार पनि सदाबहार सुरक्षित रहोस् । शुभकामना छ, तिहारको !