सप्तरी : तलब नपाएपछि शिक्षकहरु आन्दोलित भएका छन् । तिहारको मुखमा प्रथम त्रैमासिक तलब निकासा नभएपछि सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकास्थित सामुदायिक बिधालयहरुमा पठनपाठन प्रभावित हुन पुगेको छ । पालिकाभित्र रहेका विद्यालयका करिब दुई सय शिक्षक÷शिक्षिकाहरु कार्यपालिका गेट अगाडि धर्नामा बस्न थालेका छन् । यसकारण पठनपाठन ठप्प भएको हो ।
शिक्षकहरू दुई दिनदेखि धर्नामा छन् । नगरपालिकाको शिक्षा शाखाका प्रशासकीय अधिकृत हरि नारायण साह पठनपाठन प्रभावित भएको बताउँछन् ।
शिक्षक आन्दोलित हुँदा नगरपालिकाको बेथिति सतहमा आएको कतिपयको टिप्पणी छ । तथापि, नगर उपप्रमुख सरिता सिपलिया सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब खुवाउन कसैले अवरोध गर्न नहुने बताउँछिन् ।
‘कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नियमित निकासा हुन नसक्दा दुख लागेको छ’ उनी भन्छिन्, ‘मैले आश्वासन दिएको छु, आन्दोलनरत शिक्षकहरु काममा फर्किनुपर्छ ।’
कार्यपालिका बैठकमा कर्मचारी तलब र सुरक्षा भत्ताहरु नियमित निकासा हुनुपर्ने आफूले बताएको उनले सुनाइन् ।
हनुमाननगर कंकालनी नपा–१ भारदहस्थित रहेको आधारभूत बिद्यालयका प्रधानाध्यापक अशोक कुमार यादव नेतृत्वमा आन्दोलन परिचालन समितिले आइतबारदेखि धर्ना शुरु गरेको हो ।
नगरकार्यपालिका अगाडि दिनहुँ धर्नामा बसिरहेका उनीहरूले तलब निकासा गर्ने माग राखेका छन् । सामुदायिक विद्यालयमा पठनपाठन नै अवरोध हुने गरी आन्दोलनमा रहेका उनीहरूको आवाज निकायसम्म पुगेका छैनन् ।
स्थानीय सरकारका कर्मचारी र लाभान्वित नागरिकप्रति जनप्रतिनिधि उत्तरदायी नहुँदा स्थानीय तहमा सुशासन नरहेको आभास भएको हनुमाननगर कंकालनी नपा–९ बस्ने रवि शर्मा बताउँछन् ।
उनका अनुसार पालिकाले समयमा परिषद गर्न नसक्दा कर्मचारीहरु तलब पाउन नसकेका हुन् । सामाजिक सुरक्षा भत्ताहरु वितरण हुन सकेका छैनन् ।
हनुमाननगर कंकालनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँस्थित राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका भिम कुमारी पुलामीको दिनचर्या नै फेरिएको छ । समयमा विद्यालय पुग्ने उनी हाल धर्नामा बस्न जान्छिन् ।
चार महिनाको तलब खान नसक्दा जीवनयापनमै असर पारिरहेको उनी बताउँछिन् ।
उक्त पालिकाबाट स्वयंसेवक शिक्षिकाको रुपमा करार सेवामा रहेकी उनी जनप्रतिनिधि उपर आक्रोश पोख्छिन् । उनी जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँछिन् । छिटोभन्दा छिटो हामीलाई तलब खुवाउनुपर्ने बताउछिन् ।
‘हामीलाई अतिरिक्त आमदानीको कुनै स्रोत छैन । शिक्षण पेशामा नै निर्भर रहेको छु । यस्तो परिस्थितिमा हाम्रो तलबभत्ता रोकिनुले कठिनाइ उत्पन्न हुने गरेको छ । तसर्थ हाम्रो तलब रोकेर स्थानीय सरकार सिंह जुधाइ नगरियोस्,’ उनले भनिन् ।
स्थानीय सरकारलाई शिक्षा क्षेत्रको हर्ताकर्ताको रुपमा कानूनी हैसियत दिएपछि मुलुकका शिक्षकहरु बेलाबेलामा बिचल्लीमा पर्ने गरेको आन्दोलनरत शिक्षकहरु बताउँछन् । उनीहरूका अनुसार संघीय संरचनामा आफूहरु सास्ती खेप्नुपरिरहेको गुनासो सुनाउँछन् । स्थानीय तहमा सिंह दरबार आएपछि गाउँले राजाहरूको जन्मबाट जनता आजित रहेको बताउँछन् ।