२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

नास्तिकता : नयाँ युगको मार्ग

ADV
२०८१ कार्तिक २० गते ०६:२०
नास्तिकता : नयाँ युगको मार्ग

–राजन तिमिल्सिना

नास्तिकता भनेको कुनै पनि ईश्वरीय वा अलौकिक शक्तिप्रतिको अविश्वास हो, जसले व्यक्ति वा समूहलाई तर्क, विज्ञान, र प्रमाणमा आधारित जीवन र विश्व दृष्टिकोण अपनाउन प्रोत्साहित गर्छ । नास्तिकता कुनै विशेष धार्मिक आस्था वा अनास्थामा आधारित नभएर स्वतन्त्र सोच, तार्किकता र वास्तविकतामा आधारित दर्शन हो, जसले मानवता र नैतिकताको लागि धर्मको आवश्यकतालाई अस्वीकार गर्छ । नास्तिकताको केन्द्रबिन्दुमा रहेको तर्कसङ्गतता, विज्ञानप्रतिको दृढ समर्थन, र मानवतावादी दृष्टिकोणले समाजमा रहेको विभेद, छुवाछूत, शोषण, अन्याय, अत्याचार, कुप्रथा अन्धविश्वासका विरुद्ध जनचेतना फैलाई सुसङ्गत र नयाँ सुसंस्कृत विश्व व्यवस्था निर्माणमा सहयोग पुर्‍याउँछ । 

यदि नास्तिक चेतनाको विकास नभएको भए मानव जातिको अवस्था अन्धकारमय  हुने थियो । नास्तिक चेतना भनेको परम्परागत धारणाबाट विद्रोह गर्नु हो, जसले मानिसलाई आलोचनात्मक सोच, प्रयोगात्मक कार्य र स्वतन्त्रता प्राप्त गर्न मद्दत गर्दछ । यदि यस्तो चेतनाको विकास नभएको भए विज्ञान प्रविधिको विकास हुने थिएन । मानिसहरूले अन्धविश्वासका बारेमा धेरै विषयमा प्रश्न नगरी विश्वास गर्ने र परम्परागत धारणामा निर्भर रहने थियो । यसले विज्ञान, प्रौद्योगिकी, सूचना प्रविधि, समाज सुधार र मानव अधिकारको क्षेत्रमा प्रगतिको काम हुन सक्दैनथ्यो ।

विज्ञानको प्रगतिमा नास्तिक चेतनाले धेरै मद्दत गरेको छ, किनकि यसले परम्परागत धर्म र अन्धविश्वासका विचारहरूलाई प्रश्न गर्ने संस्कार दियो । मानिसहरू आफ्नै विचार र स्वतन्त्रतामा सीमित हुन सक्थे, जसले गर्दा समाजमा विविधता र बहुलता कमी हुने थियो । धेरै अन्धविश्वासहरू अझै पनि समाजमा व्यापक हुन सक्थ्यो । मानिसहरूले परम्परागत रीतिरिवाज र विश्वासहरूलाई बिना प्रश्न पालना गर्थे, जसले सत्तीप्रथा र नरबलि जस्ता कुप्रथा कायमै रहने थिए । समाज सुधार, महिला अधिकार, जातिवादको अन्त्य र मानव अधिकार जस्ता विषयहरूमा नास्तिक चेतनाले ठुलो योगदान पुर्‍याएको छ । यसको कमीले समाज सुधारको गति सुस्त बनाउने थियो ।

नास्तिक व्यक्तिहरूलाई धार्मिक विश्वासमा निर्भर नगरी आफ्नो जीवनयापन गर्न, सोच्न र निर्णय गर्न सक्ने योग्यता र क्षमता आवश्यक हुन्छ । नास्तिक हुनुको एउटा आधारभूत पक्ष तर्क र प्रमाणमा आधारित सोच हो । उनीहरू कुनै पनि विषयमा प्रमाणबिनाका मान्यता स्वीकार गर्दैनन् र कुनै धारणा वा विश्वासलाई वैज्ञानिक तरिकाले विश्लेषण गर्न सक्षम हुन्छन् । नास्तिकहरूले आफ्ना निर्णयहरू र मूल्यहरू आफैँ परिभाषित गर्न सक्नुपर्छ । उनीहरू परम्परा, विश्वास, वा धर्मको आधारमा मात्र निर्भर हुँदैनन् र आफ्ना सिद्धान्त र नैतिकता आफैँ निर्माण गर्न रुचाउँछन् ।

नास्तिकहरूका लागि विज्ञानको महत्व धेरै हुन्छ र उनीहरू प्रकृतिका नियमहरू वैज्ञानिकरूपमा बुझ्न चाहन्छन् । यसले गर्दा उनीहरू प्रकृति, ब्रह्माण्ड र अस्तित्वबारे वैज्ञानिक दृष्टिकोणबाट बुझ्न सक्षम हुन्छन् । नास्तिकहरूले नैतिकता धार्मिक ग्रन्थ वा भगवान्मा आधारित नभई मानवीय आधारमा तय गर्न रुचाउँछन् । उनीहरूले आफ्नो जिम्मेवारीलाई समाज, प्रकृति, र मानिसहरूप्रति इमानदार रहँदै निर्णय गर्नुपर्छ । नास्तिक हुनुको मतलब बाहिरी समर्थन वा आध्यात्मिक मार्गदर्शन बिना पनि जीवनलाई अनुशासनमा राख्न सक्नुपर्ने हुन्छ । उनीहरूले आफ्ना लक्ष्यहरूमा पुग्न आफ्नो दृढ इच्छाशक्ति र आत्म–प्रेरणा प्रयोग गर्नुपर्छ । नास्तिकहरू अन्य धर्म, दर्शन र विचारधाराप्रति खुला रहन्छन् । उनीहरूले आफूले मान्ने कुनै पनि धारणा सही नै हुनुपर्छ भन्ने सोच्दैनन्, बरु नयाँ तर्क र प्रमाणहरूलाई स्वीकृत गर्न तयार रहन्छन् ।

नास्तिकताका केही विशेषता

धर्ममा विश्वास नगर्ने : नास्तिकहरू कुनै विशेष धर्म, देवता वा धार्मिक सिद्धान्तमा विश्वास गर्दैनन् । उनीहरू प्रायः भौतिकवादी धारणा सहित वैज्ञानिक दृष्टिकोणलाई अपनाउँछन् ।

वैज्ञानिक सोचको प्रवद्र्धन : नास्तिकहरू विज्ञानमा विश्वास गर्छन् र वस्तुनिष्ठ प्रमाणहरूमा आधारित व्याख्यालाई महत्व दिन्छन् । भौतिक जगत, मानव समाज र विज्ञानका सार्वभौम नियमको आधारमा विश्लेषण गर्छन् ।

तर्कसङ्गत सोच : उनीहरू कुनै पनि कुरामा अन्धविश्वास भन्दा तर्क र प्रमाणमा विश्वास गर्छन् । उनीहरू धार्मिक र परम्परागत मान्यताहरूलाई तथ्य प्रमाण र तर्कको आधारमा हेर्छन् । ऐतिहासिक तथा पुरातात्त्विक प्रमाण नपुग्ने मिथकहरूलाई अन्धविश्वासको श्रेणीमा राख्छन् ।

स्वतन्त्र विचारधारा : उनीहरूले आफ्नो विचार आफैँ बनाउन रुचाउँछन् र आजसम्मका वैज्ञानिक, दार्शनिक, समाज शास्त्री अध्येताहरूले गरेको वस्तुवादी र वैज्ञानिक खोजको आधारमा टेकी तथ्यहरूलाई थप समृद्ध पार्छन् । बाह्य धार्मिक वा सांस्कृतिक प्रभावको आधारमा रहेका अन्धविश्वासी मिथकलाई अस्वीकार गर्दछन् । 

धर्म समाजको एक विकल्प : नास्तिकहरूका लागि धर्म व्यक्तिगत विश्वासको कुरा हो, धर्म मान्ने वा नमान्ने हरेक व्यक्तिलाई स्वतन्त्रता दिनुपर्छ । तर्कशील चेतनाको विकास नभएसम्म धर्मको आधिपत्य कायमै रहन्छ र धर्म कायम रहेसम्म अन्धविश्वास, पाखण्ड, भेदभाव, शोषण र सब प्रकारका विकृतिहरू मौलाउँदै जान्छ ।

नैतिकता धर्मभन्दा फरक मान्ने : नास्तिकहरू नैतिकता र सामाजिक उत्तरदायित्वलाई धर्मबाट अलग मान्छन् र नैतिक बन्नको लागि धर्म आवश्यक छैन । नास्तिकहरू स्व–अनुशासन र उच्च नैतिकतालाई केन्द्रमा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दछन् ।

प्रकृति प्रेमी र पर्यावरणप्रति सचेत : प्रायःजसो नास्तिकहरू प्रकृति, पर्यावरण संरक्षण, जीव–जन्तु र वनस्पतिप्रति संवेदनशील हुन्छन् र यथार्थवादी जीवन जिउने प्रयास गर्छन् । प्रकृति र पर्यावरण संरक्षणका लागि जनचेतना जगाउँछन् र भविष्य हुनसक्ने पर्यावरणीय असर र प्राकृतिक विपत्तिबारे  आफ्ना वस्तुसंगत तर्कहरू पेस गर्छन् ।

मृत्युपछिको जीवनबारे अविश्वास : उनीहरू मृत्युपछि जीवन, पुनर्जन्म वा आत्मा जस्ता अवधारणाहरूमा विश्वास गर्दैनन् । यस्ता अन्धविश्वासी कुराको डर देखाएर मानसिक गुलाम बनाउने कुराको सशक्त प्रतिवाद गर्छन् ।

मानव अधिकारको पक्षपाती : नास्तिकहरू समता, समानता, स्वतन्त्रता र न्यायको पक्षमा बोल्छन् र वर्गीय, धार्मिक, जातीय, क्षेत्रीय, लिङ्गीय भेदभावको विरुद्ध आवाज उठाउँछन् । समतामूलक समाज निर्माणका पक्षधर हुन्छन् ।

खुला विचारधारा : उनीहरू सबै प्रकारका विचारहरूलाई सम्मान गर्छन् । सबै विचारहरू खुलेर सुन्ने, बुझ्ने र त्यसको तर्कसङ्गत समीक्षा गर्ने दृष्टिकोण राख्छन् । तथ्य र तर्कको आधारमा समर्थन या विरोध गर्दै वैज्ञानिक निष्कर्ष निकाल्दछन् ।

नास्तिक बन्नुका फाइदा

वैचारिक स्वतन्त्रता : नास्तिक बन्ने व्यक्तिहरू कुनै धार्मिक नियम वा परम्परागत सोचमा नबाँधिएर स्वतन्त्र रूपमा आफ्नो विचार बनाउन सक्छन्, जसले रचनात्मकता र आलोचनात्मक चेतलाई बढवा दिन्छ । उनीहरू अन्धविश्वास र रुढीवादको विकल्पमा नयाँ विचार र विश्व दृष्टिकोण निर्माण गर्दछन् ।

वैज्ञानिक दृष्टिकोण : नास्तिकहरू विज्ञान, तथ्य र प्रमाणमा विश्वास गर्छन्, जसले उनीहरूको निर्णय र सोचलाई व्यावहारिक बनाउँछ । यसले जीवनमा समस्याहरूको समाधानमा वैज्ञानिक दृष्टिकोण अपनाउन सहयोग पुर्‍याउँछ ।

अन्धविश्वासबाट मुक्ति : नास्तिकहरूले विभिन्न प्रकारका अन्धविश्वासहरूलाई अस्वीकार गर्छन्, जसले उनीहरूको जीवनलाई अनावश्यक डर र भ्रान्तिहरूबाट मुक्त राख्छ । उनीहरू स्वर्गको आस र नर्कको त्रासबाट मुक्त हुन्छन् । 

धार्मिक विभाजन र द्वन्द्वबाट टाढा : धर्ममा आधारित विभाजन वा धार्मिक कट्टरताबाट टाढा रहेर उनीहरूले समाजमा मेलमिलाप र सहिष्णुताको पक्षमा वकालत गर्छन् । धार्मिक र सबै खाले असमानता, विभेद र उत्पीडनको विरुद्धमा आवाज बुलन्द गर्छन् ।

नैतिकता धर्मसँग नजोड्ने स्वतन्त्रता : नास्तिकहरूले नैतिक मूल्यमान्यताहरूलाई धर्मसँग जोडेर हेर्दैनन् । उनीहरूको लागि मानवता र नैतिकता समाजको भलाइको लागि हुने मूल्य हुन् । स्व–अनुशासन र उच्च नैतिक मूल्यमान्यतालाई मानवीय दायित्वभित्र राख्दछन् ।

आर्थिक बचत : उनीहरू धर्महरूको नाममा गरिने पूजा–पाठ, दान–दक्षिणा–पुण्य आदिमा खर्च गर्दैनन् । नास्तिकहरूले यस्ता धार्मिक अनुष्ठानहरूमा आर्थिक स्रोत खर्च गर्नु पर्दैन, जसले उनीहरूको आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउँछ । धार्मिक कार्यको सट्टामा उनीहरू गरिब, असहाय, वृद्ध वृद्धाहरूलाई सहयोग गर्छन् । 

धर्ममा आधारित अपराधबाट छुटकारा : नास्तिकहरूको लागि धर्मको नाममा गरिने कुनै प्रकारको अपराध वा हिंसा स्वीकार्य हुँदैन । यसले उनीहरूलाई नैतिकवान् र शान्तिप्रेमी बनाउँछ । नरबलि, पशु बली जस्ता कुसंस्कारविरुद्ध जनचेतना प्रवाह गरी समाजलाई सही दिशानिर्देश गर्दछन् ।

समय बचत : धार्मिक क्रियाकलापमा समय खर्च नगर्दा उनीहरू आफ्नो समय व्यक्तित्व विकास, ज्ञान वृद्धि वा समाज सेवा जस्ता कार्यमा खर्च गर्न सक्छन् । जसको कारण समाजलाई चेतनशील र विवेकशील बनाउन सहयोग पुग्छ ।

मनोवैज्ञानिक स्वतन्त्रता : धर्म र धर्म संस्थामा नबाँधिएकाले उनीहरू आफ्नो जीवनको लक्ष्य र उद्देश्य आफ्नै रुचिअनुसार निर्धारण गर्न स्वतन्त्र हुन्छन् । धर्मले मानिसलाई मानसिक गुलाम बनाई मिथ्या र असत्य कुरालाई मान्न विवश बनाउँछ ।

मृत्युपछि जीवनको चिन्ताबाट मुक्ति : नास्तिकहरूले मृत्युपछि जीवनको बारेमा  चिन्ता गर्दैनन् । उनीहरू पुनर्जन्म, स्वर्ग, नर्क, पुण्य जस्ता कुराहरूमा विश्वास गर्दैनन्, जसले उनीहरूको मनोबल उच्च रहन र जीवनलाई वर्तमानमा सहजढंगले जिउन सहयोग पुर्‍याउँछ ।

समग्रमा, नास्तिकहरू विज्ञान र तर्कमा आधारित भएकाले उनीहरूले वैज्ञानिक खोज, अनुसन्धान र प्रविधिको विकासलाई महत्व दिन्छन् । यसले समाजमा वैज्ञानिक ज्ञान र चेतनाको विकासमा सहयोग पुर्‍याउँछ । यसले मानिसहरूलाई निःस्वार्थ सहयोग गर्न रुचाउँछन् । उनीहरूको परोपकारी कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्छ, जसले गरिबी, स्वास्थ्य, र शिक्षाजस्ता समस्यामा सहयोग पुर्‍याउँछ । नास्तिकहरू मानव अधिकार र कानुनी समानताको समर्थक हुन्छन् । उनीहरूले धर्मका नाममा हुने विभेदपूर्ण कानुनहरूको विरोध गर्छन् र कानुनी सुधारको पक्षमा आवाज उठाउँछन् ।

अन्त्यमा, नास्तिकहरूले समाजमा तार्किकता, वैज्ञानिकता, मानवता, र सहिष्णुताको प्रवद्र्धन गरेर सकारात्मक योगदान पुर्‍याउँछन् । यसले समाजलाई थप न्यायपूर्ण, समानतापूर्ण र प्रगतिशील समाज निर्माणमा सहयोग पुर्‍याउँछ ।

ADVADV

सम्बन्धित खबर

Advertise