२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

खोजिनुपर्ने विकल्प

ADV
२०८१ कार्तिक २१ गते ०६:१५
खोजिनुपर्ने विकल्प

–दिपेन्द्र घिमिरे

राजनीतिले नै हरेक कुराको निर्णायक भूमिका निर्वाह गर्छ । राजनीति परिवर्तनका लागि हो । देशको राजनीति सही ट्र्याकमा छ भने मात्र अरू नीति प्रभावकारी हुन सक्छन् । नेपालमा संसदीय राजनीति गर्ने पार्टीहरूले क्रान्ति वा परिवर्तनका नाममा राजनीति गरिरहेका छन् । यिनीहरूलाई नागरिकको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वको कुनै प्रवाह छैन । यिनका सबै प्रकारका राजनीतिक भ्रान्तिहरूबाट अब नेपाली जनता मुक्त हुनै पर्छ । 

सबै क्षेत्रका समस्याहरूको जड भनेको राज्यसत्ता नै हो । राज्यसत्ताको स्वरूप कस्तो छ र यसले कुन वर्गको पक्षधरता लिन्छ भन्ने कुरा प्रमुख हुन्छ । अहिले नेपालमा नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था छ । यसले मजदुर वर्गको हितमा कदापि काम गर्दैन । विविध ब्यानरमा खुलेका धनी वर्गका पार्टीहरू गरिबको पक्षमा रहेको दाबी गर्छन् । तर, तिनीहरू प्रत्यक्ष गरिबको पक्षमा हुँदैनन् । गरिब र श्रमिक वर्ग आफैँ राजनीतिक उद्देश्यमा गोलबन्द नभएसम्म उनीहरूको चाहना र अपेक्षाअनुसारको अवस्था आउने कुरै भएन । 

विद्यमान संसदीय पार्टीहरूको विकल्पमा विखण्डित जनसमुदायहरूलाई जोड्न सक्ने विचारसहितको जनउत्तरदायी पार्टीको आवश्यकता महसुस गरिएको छ । त्यसलाई सम्बोधन गर्न आवश्यक छ । नागरिकको अपेक्षालाई ‘डेलिभर’ गर्न नसक्ने वर्तमान नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाको विकल्प खोजिनुपर्छ । सत्ता र राजनीतिमा पात्र र परिस्थिति संयोग मात्र हुन् । मुख्य कुरा त व्यवस्था हो । नेता र कार्यकर्ताप्रति केन्द्रित राजनीतिले जनताको ‘सेन्टिमेन्ट’लाई केन्द्रमा राख्दैन । त्यसैले राज्यसत्ताले गरिब वर्ग, जनताको कित्ता र सामुदायिक स्वार्थको प्रतिनिधित्व गर्नुपर्दछ । 

अहिलेको व्यवस्थाप्रति आम जनताको वितृष्णा छाएको छ । नागरिकको अवस्थामा बदलाव ल्याउन वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना आवश्यक छ । त्यस व्यवस्थाले मात्र नयाँ पुस्ताको अपेक्षा र आवश्यकतालाई बुझ्न सक्छ । पेसागत घटक संघहरूका आ–आफ्नै पीडा र व्यथाहरू छन् । यिनका तमाम् समस्याहरू राज्यसत्ताप्रति नै लक्षित छन् । राज्यसत्ताको स्वरूपले ती समस्याहरूको जवाफ दिन सक्ने स्थिति छैन । संसदीय चरित्र बोकेका नेपालका राजनीतिक पार्टीहरू सत्ता स्वार्थमा लिप्त नै छन् । तालमेल वा गठबन्धन नामको राजनीतिक ‘सिन्डिकेट’ बाट देश आक्रान्त छ । यो राज्यसत्ताबाट पेसागत घटक संघहरूको समस्या समाधान हुन्छ भनेर आशा गर्ने ठाउँ छैन । कोरा विचारले राज्यसत्ता चल्न सक्दैन । देश र जनताको अवस्था राम्रो र समृद्ध बनाउन श्रमजीवी वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यतर्फ हामी सबै पेसागत घटक संघहरूमा आबद्ध श्रमिकहरू अगाडि बढ्नुको विकल्प छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise