–भूमिका सिञ्जाली
नेपालमै रोजीरोटीको सहज उपलब्धता छैन । त्यसैले नेपाली श्रमिक विदेशी भूमि सिगार्न पुग्दछन् । नेपाली श्रमिकहरूको श्रम र पसिनाबाट विदेशी भूमि विकसित भएका छन् । वैदेशिक रोजगार कुनै पनि देशको लागि सुखद पक्ष होइन तापनि नेपालको सन्दर्भमा यो विकल्प नभएर अनिवार्य रोजाइ जस्तै भएको छ । यो रहर होइन, बाध्यता हने । दैनिक १५ सयभन्दा बढी नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
रोजगारीको हक
रोजगारीको हक पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । सम्मानपूर्वक बाँच्न पाउनु, आफ्नो रोजाइअनुसारको काम गर्न पाउनु नागरिकको अधिकार हो । कामको अवसर उपलब्ध नभएमा न्यूनतम आवश्यकता परिपूर्तिका लागि नागरिकलाई संरक्षण दिनु राज्यको दायित्व हो । आफ्ना नागरिकलाई रोजीरोटीको व्यवस्थापनसमेत गर्न नसक्ने राज्यले अरु धेरै कुरा गर्छु भन्नुको कुनै औचित्य हुँदैन । यद्यपि, बेरोजगारी मनोगत ढंगले अन्त्य गर्न सकिने विषय होइन । नेपाली श्रमिक युवामा स्वदेशमै रोजगारीको सम्भावना र भविष्य देखाउन नसक्नु राज्यको कमजोरी हो ।
अस्थायी स्रोत
वैदेशिक रोजगार कुनै पनि देशको लागि स्थायी स्रोत होइन । यसलाई वैकल्पिक एवम् अस्थायी स्रोतको रूपमा लिइनुपर्छ । जनसंख्या वृद्धि र प्रत्येक वर्ष श्रमबजारमा आउने श्रमशक्तिको अनुपातमा पर्याप्त उत्पादनशील र आयमूलक रोजगारीका अवसरहरूको सिर्जना स्वदेशमै गर्नु नै स्थायी समाधान हो । जे होस्, वैदेशिक रोजगार नेपालीहरूका लागि आर्थिक समृद्धिको अवसर हो र यसबाट नेपालले मनग्य फाइदा लिन सक्नुपर्छ । विदेशबाट घर फर्केर आएका श्रमिकहरूको सीप र पुँजीको सदुपयोग गर्न सकियो भने त्यसले व्यापार व्यवसाय सिर्जनामा सुधार ल्याउन सक्छ र थप रोजगारीका अवसर प्राप्त गर्न मद्दत पुग्दछ ।
सीप र श्रमको संयोजन
शिक्षा जीवनसँग जोडिनुपर्छ । शिक्षालाई श्रमबाट अलग राख्नु सबैभन्दा ठूलो दुर्गुण हो । शिक्षालाई सीपसँग, सीपलाई श्रमससँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्छ । सीप र श्रमको संयोजन गर्ने शिक्षाले मात्र हामीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउँदछ । हातमा पासपोर्ट र भिसा बोकेर विदेशिन आतुर विद्यार्थी होइन, परियोजनासहित स्वदेशमै काम गर्ने तीव्र चाहना भएका विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रणाली चाहिन्छ । बहुप्राविधिक र जीवनोपयोगी शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ र त्यस्तो जनशक्ति रोजगारीको लागि ‘हट केक’ सावित हुन्छन् । विद्यार्थीको रुचि र चाहना अनि देशको आवश्यकताअनुसार सिकाउने नयाँ–नयाँ प्रविधि र विधिको प्रयोग गर्ने शिक्षा प्रणालीको खाँचो छ ।
मर्यादित र सुरक्षित वैदेशिक रोजगार
वैदेशिक रोजगार आफैंमा नराम्रो होइन । वैदेशिक रोजगारबाट देशले पाएको फाइदामध्ये रोजगारी, रेमिट्यान्स र सीप आर्जन प्रमुख हुन् । वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउने वातारण निर्माण गर्नुपर्ने हुन्छ । यो राज्यको कर्तव्य हो । को आए, को गए रेकर्ड राख्नु जरुरी छ । अलेखबद्ध (गैरकानूनी हैसियत) हुने अवस्थालाई रोक्नुपर्छ । महिला हिंसा, असमानता, मानवतस्करी र अनियन्त्रित श्रम पलायनलाई निरुत्साहित गर्ने कुरामा कहिँकतै र कोहीकसैसँग पनि सम्झौता हुनुहुँदैन । वैदशिक रोजगारका अव्यवस्थापन, ठगी र श्रमिकका पीडातर्फ राज्य संवेदनशील र जवाफदेही हुन आवश्यक छ ।
रोजगारीको बाध्यता
विचार वैदेशिक रोजगार आफैंमा नराम्रो होइन । वैदेशिक रोजगारबाट देशले पाएको फाइदामध्ये रोजगारी, रेमिट्यान्स र सीप आर्जन प्रमुख हुन् । वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । यो राज्यको कर्तव्य हो । को आए, को गए रेकर्ड राख्नु जरुरी छ ।