२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन

ADV
मध्यान्ह
२०८१ कार्तिक २२ गते ०६:३५
ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन

काठमाडौं : अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ । रिपब्लिकन उम्मेदवार ट्रम्प २७० इलेक्ट्रोल कलेज पार गर्दै विजयी भएका हुन् ।

ट्रम्पसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस पराजित भइन । उनी वर्तमान उपराष्ट्रपति हुन् ।

चुनाव जितेसँगै ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन भएको हो । सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर ट्रम्प ४५ औं राष्ट्रपति बनेका थिए । तर सन् २०२० मै राष्ट्रपतिमा दोहोरिन चाहेका थिए तर डेमोक्र्याटिक पार्टीका जो बाइडेनसँग पराजित भएका थिए ।

यसपटक पुनः उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

ट्रम्पले जित सुनिश्चित भएसँगै फ्लोरिडामा सम्बोधन गरेका थिए । त्यसक्रममा उनले भव्य जित हासिल गरेको बताएका थिए । आफ्नो जित अमेरिकी नागरिकका लागि भव्य जित भएको उल्लेख गर्दै उनले यसले अमेरिकालाई पुनः महान् बनाउने बताए । अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने उनको दाबी छ । 

हरेक नागरिक, परिवार र भविष्यका लागि लड्ने उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु । अन्तिम सास रहुञ्जेल म लड्नेछु ।’ 

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन हुनुको कारण उनले अवलम्बन गर्ने खुकुलो अर्थ रहेको बताइन्छ । आफूप्रति बफादार समर्थक रहनुलाई पनि उनको जितको आधार भनिएको छ । आप्रवासी नागरिकप्रतिको उनको नीति, सीमा टाइट गर्ने प्रतिवद्धता, युक्रेन र गाजामा जारी युद्ध रोक्ने प्रतिवद्धता र डेमोक्र्याटिक पार्टीका उम्मेदवार बदलिनलाई पनि ट्रम्पको जितको आधार मानिएको छ । 

शुरुमा डेमोक्र्याटिक पार्टीको उम्मेदवारको रुपमा जो बाइडेन थिए । पछि बदलिएर ह्यारिस उम्मेदवार भएकी हुन् । यसले पनि ट्रम्पलाई फाइदा पुगेको बताइन्छ । 
ट्रम्पले चुनाव जितेसँगै विश्वका नेताहरूले बधाई दिएका छन् । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् । 

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताए ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै आगामी चार वर्षसम्म सम्मान र महत्वाकांक्षाका साथ काम गर्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा म्याक्रोँले लेखेका छन्, ‘तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ ।’ 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरे । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।’ 

चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भनेका छन्, ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं ।’ 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise