
रौतहट : सामान्यतया कुनै पनि योजना बन्ने भएपछि त्यसको शिलान्यास गरिन्छ । तर कतिपयले सन्देश दिनेगरी वा अपनत्व लिनका लागि योजनाको विस्तृत अध्ययन नभइकन नै पनि शिलान्यास गर्छन् ।
नेपाली समाजलाई केही हुँदै छ भन्ने सन्देश दिन भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते ३ सय ९ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्नेगरी एकसाथ शिलान्यास गरे । ती योजनको स्रोत सुनिश्चिततादेखि योजना कहाँ बन्ने ? कति लागतमा बन्ने ? कस्तो संरचनामा बन्ने ? तय नै भएका थिएनन् । तथापि ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने भनेर ठोस गरिएको थियो । दुई वर्षभित्र भवन बनाइसकेर सञ्चालन गर्ने लक्ष्यसमेत तय भएको थियो । तर समय क्रममा ती आयोजना अझैसम्म बन्न सकेका छैनन् ।
तत्कालीन सरकारको योजनाअनुसार रौतहटको विभिन्न स्थानीय तहमा नगर अस्पताल निर्माणको काम केही अगाडि बढ्यो । तर प्रगति कछुवा गतिमा छ । त्यसबेला रौतहटमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास गरिएको थियो । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ भवन शिलान्यास गर्ने संघीय सरकारको तयारीअनुरूप रौतहटमा पाँच स्थानीय तहले शिलान्यासको काम अगाडि बढाए ।
माधव नारायण नगरपालिकाले नगरपालिकाको वडा नम्बर ३ खेसरहियामा १५ शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गर्यो । त्यसपछि नगरपालिकाले ठेक्का प्रक्रिया पनि अगाडि बढायो । २०७८ साल असार १७ गते खडका सगुन जेभी बुटवलले १५ शय्याकाको अस्पताल निर्माणका लागि १२ करोड ४६ लाख ३८ हजार ३ सय २६ रुपैयाँमा ठेक्का पायो । २०८० साल असार मसान्तसम्ममा काम सक्नेगरी नगरपालिका कार्यालयसँग सम्झौता पनि गर्यो । तर अहिलेसम्मको प्रगति भने २० प्रतिशत मात्रै छ । सो ठेक्का तोडिएको पनि छैन । बरु सम्झौता अवधि थप हुँदै आएको छ, काममा प्रगति हुन सकेको छैन ।
माधव नारायण नगरपालिकाका योजना शाखा प्रमुख कृष्णनन्दन राय समयमा बजेट व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताउँछन् । संघीय सरकारले समयमा पर्याप्त बजेटको सुनिश्चितता गर्न नसकेको तथा निर्माण व्यवसायीले पनि ध्यान नदिएकाले निर्माणमा समस्या देखिएको उनको भनाइ छ ।
मौलापुर नगरपालिकाले पनि २०७७ मंसिर ७ गते नै नगर अस्पतालको निर्माणका लागि शिलान्यास गरेका थियो । अस्पताल भवन शिलान्यास गर्दै मौलापुर नगरपालिकाकी तत्कालीन नगर प्रमुख रीनाकुमारी साहले अस्पताल तोकिएको समय सीमाअनुरूप दुई वर्षमा निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउने बताइएकी थिइन् । तर शिलान्यासको पाँच वर्ष बितिसक्दासमेत सो अस्पताल निर्माणको काम नै सुरु हुन सकेको छैन ।
मौलापुर नगरपालिका त अझै पनि अस्पताल निर्माणका लागि जग्गा खोज्ने क्रममै छ । मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जग्गा अधिग्रहणको विवादले निर्माण काम सुरु हुन नसकेको बताए ।
२०७७ मंसिर ७ गते रौतहटको कटहरिया र गरुडामा पनि नगर अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । तर ती दुवै पालिकामा पनि निर्माणको कामले गति लिन सकेको छैन ।
कटहरिया नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । तर अस्पताल कहिलेदेखि सुरु हुने भने यकिन नभएको उनको भनाइ छ ।
राजदेवी नगरपालिका–५ पताहिमा १५ शय्याकाका लागि अस्पताल भवन तयारी भएर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्ष बितिसक्यो । तर अस्पताल सञ्चालन हुने विषयमा नगरपालिका प्रशासनसँग कुनै जवाफ छैन ।
रोचक त के छ भन्ने राजदेवी नगरपालिकाले करिब चार वर्ष पहिले नै नगर अस्पतालका लागि भन्दै उपकरणसमेत खरिद गरिसकेको छ । चार वर्ष अगाडि खरिद गरिएको सामग्रीको अवस्थासमेत बिग्रेको आशंका गरिए पनि पालिकाले भन्ने त्यो कुरा स्वीकार गरेको छैन । अझै पालिकाले अस्पताल सञ्चालनको सुनिश्चितता नै नगर्दै पुनः थप उपकरण सामग्री खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको छ ।
ईश्नाथ नगरपालिका, फतुवाविजयपुर, बौद्धिमाईलगायतका नगरपालिका अझै जग्गाकै खोजीकै क्रममा छन् । देवाही गोनाही नगरपालिकामा २०७८ मंसिर २९ गते अस्पतालको शिलान्यास भए पनि अस्पताल निर्माणको काम करिब २० प्रतिशत मात्रै छ ।