२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

नेपाली समाजले खोजेको राजनीति

ADV
२०८१ कार्तिक २६ गते ०६:१५
नेपाली समाजले खोजेको राजनीति

–महेन्द्र बर्मा

राजनीति सेवा हो । यो पेसा वा व्यवसाय होइन । राजनीति संस्कार हो । यो नैतिक धरातलमा उभिएर गरिन्छ । राजनीति जनताप्रति समर्पित हुनुपर्छ । यसले असल शासन प्रणाली र स्थिर सरकार निर्माणमा प्रमुख भूमिका खेल्दछ । राजनीतिबिना राज्य सत्ता सञ्चालनको कल्पना पनि गर्न सकिँदैन । आफ्नो देश, समाज, जनता, समुदायलाई सेवा गर्ने, प्रगति र उन्नतितर्फ लैजाने खालको संस्कृतिको विकासमा केन्द्रित गर्नुपर्छ । आर्थिक लेनदेन, नाफा–घाटा, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि जे पनि गर्ने संस्कृति मौलाउनु कदापि ठिक होइन । देशलाई स्वाधीन बनाउने, जनतालाई आत्मनिर्भर र स्वाभिमानी बनाउने योजना र लक्ष्य राजनीतिमा हुनुपर्छ । विदेशी मालिकहरूलाई रिझाउने, आफ्नो दुनो सोझ्याउने र आफ्ना वरिपरिको सानो हिस्साको स्वार्थ पूरा गर्ने बाहेक अरू केही नगर्नु राजनीति होइन । क्रान्ति वा परिवर्तनका नाममा राजनीति गर्नु धन्दा हो । राजनीतिलाई देश लुट्ने खेल बनाउनु हुँदैन । संसदीय पार्टीहरूले जनतामा राजनीतिक भ्रान्ति फैलाएका छन् । पार्टीका नेताहरू आफू राज्य सत्तामा नपुगेकै कारणले देश विकास हुन नसकेको भ्रम छरिरहेका छन् । आफू, आफ्नो परिवार, आफन्त, आसेपासेको उपस्थितिमा रमाउने राजनीतिले पूर्णरूपमा भ्रष्ट बनाउँछ । स्वेच्छाचारी प्रवृत्तिको अगाडि त्याग, निष्ठा, इमानदारी, ऐतिहासिक पृष्ठभूमि आदिको कुनै मूल्यमान्यता हुँदैन ।

राजनीति समग्र नीतिहरूको निर्णायक नीति हो । यसलाई हरेक नीतिको मूल नीति पनि भनिन्छ । देशको राजनीति सही छ भने मात्र अरू नीति प्रभावकारी ढङ्गले सही ट्र्याकमा रहन सक्छन् । राजनीतिले सामाजिक एवम् आर्थिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्नुपर्छ । राजनीति गर्नु भनेको देश र जनताका लागि परिवर्तनको मार्गमा हिँड्नु हो । देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर गरिने राजनीतिले सदैव सार्थकता ल्याउँछ ।

व्यक्तिले गर्न सक्ने धेरै काममध्ये राजनीति एउटा हो । व्यक्ति जन्मन्छ अनि मर्छ । व्यक्तिको जीवन एक पटकको लागि मात्र हो र फेरि प्राप्त हुँदैन । व्यक्तिको जीवनको औचित्यता केही सम्झनालायक कार्य गर्न सक्नुमा हुन्छ । व्यक्तिले समाजको लागि गर्न सक्ने काम देशको लागि पनि हुन्छ । देश र जनताका समस्या समाधान गर्न फरक विकल्प प्रस्तुत गर्न पनि राजनीति गर्नुपर्ने हुन्छ । जनता किन्ने र किनिने वस्तु होइनन्, तर अहिलेसम्म जनतालाई किन्ने र किनिने वस्तु बनाइएको छ । यो संसदवादी क्रमको निरन्तरतालाई तोड्न जरुरी छ । राजनीतिमा असल चरित्रको खडेरी पर्नु हुँदैन । राजनीतिमा चुनाव जित्नु र जिताउनु मात्रै ठुलो कुरा होइन । प्रतिनिधित्वलाई पुनः परिभाषित गर्नु महत्वपूर्ण विषय हो । पुरानाले गर्न नसक्ने र गर्न नचाहने परिस्थितिको परिणाम नै नयाँ राजनीतिक कोर्षको निर्माण हो । नयाँ भन्ने चिज यही समाजको अन्तरक्रियाबाट जन्मने हो ।

समाजभित्रकै जटिलता र अन्तरसंघर्षको बिचबाट विकल्पको रूपमा नयाँ चिजको खोजी हुने गर्छ । यो समाज विकासको एउटा विज्ञानसम्मत नियम नै हो । पुरानो सोच र मान्यताले नयाँ चुनौतीलाई सामना गर्न सक्दैन । नयाँ परिवर्तनका लागि राजनीति पनि नयाँ हुनुपर्दछ । नयाँपन वा परिवर्तन दिन नसक्ने राजनीतिप्रति जनताको आकर्षण हुँदैन । समय र परिस्थितिअनुसार चलायमान हुनसक्ने राजनीतिको आवश्यकता सबैले महसुस गरेका छन् र यो स्वाभाविक कुरा पनि हो । राजनीतिले परिवर्तनतर्फ सबैलाई डो¥याउन र परिवर्तित अवस्थाको अनुभूति गराउन सक्नुपर्छ । जबसम्म नेतृत्वमा इमानदारिता हुँदैन तबसम्म आन्दोलनले निर्णायक मोड लिन सक्दैन । निष्कर्षमा भन्नुपर्दा समाज रूपान्तरण प्रक्रियामा लामबद्ध प्रत्येक सिपाहीले नेतृत्वलाई झकझकाई रहनुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise