–सन्देश अर्याल
विषय प्रवेश
नेपालमा प्रमुख विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय पर्छन् । त्रिभुवन विश्वविद्यालय नेपालकै पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालय हो, तर त्रिवि अहिले भवनले मात्रै पुरानो छैन, पाठ्यक्रम र शिक्षण सिकाइको हिसाबले पनि समय सुहाउँदो हुन सकेको छैन । एकातिर प्रशासनिक ढिलासुस्तीले गाँजिएको छ भने अर्कोतिर स्रोतसाधनको कमीजस्ता समस्याहरू देखिएका छन् । त्रिवि बाहेकका अन्य विश्वविद्यालय पनि उच्च गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था छैन । अन्य विश्वविद्यालयहरूमा क्षेत्रीय प्रभाव र विशेष अध्ययनको सम्भावना भए पनि, स्रोतहरूको कमी, अनुसन्धानको कमी र दक्ष प्राध्यापकहरूको अभाव मुख्य समस्याहरूका रूपमा रहेका छन् ।
यी सबै विश्वविद्यालयहरूको वर्तमान स्थितिलाई हेर्दा, हालकै अवस्थामा नेपालले शिक्षामा फड्को मार्ने अवस्था देखिन्न । यदि हामी शिक्षामा युग सुहाउँदो परिवर्तन चाहन्छौँ भने ठुलै क्रान्तिकारी परिवर्तन आवश्यक छ ।
मुख्य समस्या
हाम्रा विश्वविद्यालयको अवस्थालाई हे¥यौं भने प्रमुख समस्यामा नै पाठ्यक्रमको अद्यावधिक अभाव पाउँछौ । हाम्रो पाठ्यक्रम ‘एक्सपायर कन्टेन्ट’मा आधारित छ । विश्वमा फेजआउट भइसकेका कतिपय विषयलाई हामी पाठ्यक्रममा समावेश गरेका छौँ । साथै, हाम्रो पाठ्यक्रम, हाम्रो आवश्यकता अनुकुल छैन । हाम्रा लागि के–कस्तो जनशक्ति आवश्यक हो, हाम्रो राष्ट्रिय आवश्यकता के हो, भन्नेतर्फ पाठ्यक्रम बोल्दैन ।
कतिपय कोर्स हामी किन पढाइरहेका छौँ र किन पढिरहेका छौँ, जसको जवाफ स्वयम् पढाउने र पढ्नेसँग छैन । स्वयम् विश्वविद्यालयका पाठ्यक्रम निर्माणकर्तालाई सोधिएमा पनि यसबारे जवाफ पाउन सकिन्न । यसले स्पष्ट पार्छ, हाम्रो पाठ्यक्रममा आमूल परिवर्तन आवश्यक छ । हाम्रो पाठ्यक्रम परिवर्तन गरिएमा मात्रै, हाम्रो सिकाइसहित अन्य विषयहरू सही हुन सक्छन् ।
यद्यपि, पाठ्यक्रम निर्माण गर्दै गर्दा कस्ता विषयलाई समेट्ने भन्ने कुरामा उचित ध्यान आवश्यक छ । यदि केही विशेषज्ञका आधारमा मात्रै पाठ्यक्रम बनाउन खोज्यौँ भने त्यो पुरानै प्रणालीको निरन्तरता बाहेक केही हुनेछैन ।
अर्कोतर्फ, विश्वविद्यालय भनेको अनुसन्धान गर्ने ठाउँ हो । जसले मुलुकलाई आवश्यक पर्ने थुप्रै नयाँ कुराहरू दिन सक्छ । चाहे विज्ञान प्रविधिको सन्दर्भमा होस् वा चाहे समाज विज्ञानको सन्दर्भमा । तर, हाम्रो विश्वविद्यालयहरू अनुसन्धानको सन्दर्भमा भुत्ते भएका छन् । यहाँ अनुसन्धान होइन, घोकन्ते प्रवृत्ति हाबी छ । उच्च शिक्षाका प्रत्येक तहमा विद्यालयले नयाँ खोज गरेर होइन, अरूको नक्कल गरेर आफूलाई अब्बल देखाउने प्रयास गर्छन्, जसलाई अध्येताहरूले समेत स्वीकृति दिने गरेका छन् ।
विडम्बनाको विषय मान्नुपर्छ, हाम्रा विश्वविद्यालयहरू स्रोतसाधनहरूले कमजोर अवस्थामा छन् । अहिलेको समयअनुरूप अध्ययन तथा अनुसन्धान गर्न हाम्रा विश्वविद्यालयसँग स्रोत साधनको उपलब्धता छैन । सँगै जसबारे स्वयम् विश्वविद्यालयका नेतृत्वकर्तालाई समेत चासो भएको पाइँदैन ।
हाम्रो विश्वविद्यालय कमजोर अवस्थाको पछाडि दक्ष जनशक्तिको पनि कमी हुनुलाई नकार्न मिल्दैन । हाम्रा धेरै विज्ञहरू नामका विज्ञ छन् । धेरै विज्ञहरूले आवश्यकताअनुसार विज्ञहरू उत्पादन गर्न सक्दैनन् । उनीहरूमा दक्षताको ठुलो खडेरी छ ।
उल्लेखित समस्याहरूबारे चर्चा गरिरहँदा हाम्रो विश्वविद्यालयका प्रशासनिक विषयलाई बेवास्ता गर्न सकिन्न । विश्वविद्यालयका विद्यमान प्रशासनिक अवस्थामा आमूल परिवर्तन नगरी हामीले हाम्रो सिकाई प्रणालीमा परिवर्तन ल्याउन सक्दैनौ । हाम्रो प्रशासनिक संरचना ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने उखानसँग मिल्दो खालको छ । साथै, असाध्यै पुरानो र भुक्ते मानसिकताले गाँजेको जनशक्तिले भरिएको छ । जसले समयअनुसारको मागलाई पूर्ति गर्ने ल्याकत राख्दैन ।
यी समस्याहरूको जोड नै एकातिर हाम्रा उत्पादित जनशक्ति विश्व बजारमा बिक्ने खालका छैनन् भने अर्कोतिर हाम्रै आवश्यकतालाई पनि सम्बोधन गर्ने खालका छैनन् । हाम्रा विकासका योजनाहरू किन सही ढङ्गले चल्न सकेका छैनन् ? किन हामी कुनै पनि महत्वपूर्ण काम गर्न बाह्य जनशक्ति हायर गर्छौँ ? किन हाम्रा विशेषज्ञसँग हामी स्वयम् भरोसा गर्दैनौ ? किन हाम्रो समाजलाई सही बनाउन सकेका छैनौ ? यसको जडमा हाम्रो उत्पादित जनशक्ति पनि हो । जसका लागि अहिलेको विद्यमान अवस्थाले निकास दिन सक्दैन ।
कसरी गर्ने सुधार ?
मूलतः विश्वविद्यालय सुधारका लागि उल्लेखित समस्याहरूको सही विश्लेषण गरी समाधानतर्फ कदमहरू चालिनु पर्छ । जसमा पहिलो काम पाठ्यक्रम र सिकाइको गुणस्तरमा सुधार ल्याउनु हुनेछ । पाठ्यक्रमलाई अधिक रोजगारमूलक, प्राविधिक, र विश्वव्यापी बनाउने प्रयास गर्नु अहिलेको आवश्यकता हो ।
दोस्रो विषयको रूपमा, शिक्षण पद्धति र प्राध्यापकहरूलाई दक्ष बनाउनु रहेको छ । शिक्षकहरू जबसम्म नवीनतम प्रविधिहरू र शिक्षण विधिहरूमा दक्ष हुँदैनन् तबसम्म अपेक्षित नतिजा दिन सक्दैनन् । समयानुकूलको पाठ्यक्रमका लागि पनि प्राध्यापकहरू अपडेटेट हुनुपर्छ । यदि प्राध्यापकहरू पुरानो ढर्राका छन् र हामीले पाठ्यक्रम नयाँ दियौँ भने सिकाइको गुणस्तर अपेक्षित हुन सक्दैन ।
तेस्रो, अनुसन्धानमा लगानी र प्रवर्द्धन हो । अहिलेको हाम्रो समस्या अनुसन्धानमा विद्यार्थी लगाउन नसक्नु हो । विद्यार्थीलाई अनुसन्धानमा संलग्न गराउन र अनुसन्धानका लागि स्रोतहरू थप्न विशेष कार्यक्रमहरू ल्याउनुपर्छ । जबसम्म विश्वविद्यालय अनुसन्धान गर्ने केन्द्रको रूपमा विकास हुँदैन तबसम्म हामीले शिक्षाबाट अपेक्षित लाभ लिन सक्दैनौ । अहिलेको आवश्यकताअनुसार अनुसन्धान गर्ने थलोको रूपमा विश्वविद्यालयलाई अगाडि बढाउनु अनिवार्य छ ।
चौथोमा, हामीले जनशक्ति मात्रै उत्पादन गर्ने होइन, जनशक्तिलाई रोजगार दिन पनि सक्ने क्षमता राख्नुपर्छ । नेपालमा सिकाई पछि रोजगारीको वातावरण तयार गर्ने र विश्वव्यापी सञ्जालमा जोड्ने अवस्था विश्वविद्यालयले गराउनु पर्छ । यदि त्यसतर्फ हामी जान सकेनौ भने दक्ष जनशक्ति नै बेरोजगार बन्ने अवस्था पनि आउन सक्छ । जुन हाम्रा लागि निकै प्रतिउत्पादकसमेत हुनसक्छ ।
निष्कर्ष,
बदलिँदो परिवेशअनुसार नेपालका विश्वविद्यालयले आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक छ । मुलुकको आवश्यकता र समयको मागअनुसार पाठ्यक्रम र सिकाई प्रणाली बदल्नुपर्छ । अहिलेको सन्दर्भमा हाम्रो विश्वविद्यालयलाई व्यवस्थित बनाउने मुख्य मुद्दा यिनै हुन् । नेपालका विश्वविद्यालयहरूका विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञानलाई समुदायमा लगाउने वातावरण हुनुपर्छ । विद्यार्थीहरूमा नयाँ–नयाँ खोज र आविष्कारप्रति रुचि जगाउन उनीहरूलाई अनुसन्धान एवम् सिर्जनात्मक काममा लगाउने वातावरण बनाउनु अहिलेको आवश्यकता हो । जसमा नेपालका विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयका शैलीलाई पछ्याउन आवश्यक छ ।
हाम्रो लगानी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक तथा प्रशासनिक जनशक्तिहरू उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्छ । विश्वविद्यालयहरूले सिकाइलाई व्यवहारिक बनाउँदै समुदायमा शिक्षाप्रति आकर्षण बढाउने अभियान चलाउनुपर्छ । नेपालका विश्वविद्यालयहरूले शैक्षिक कार्यक्रमहरूलाई प्रत्यक्ष आय–आर्जनसँग जोड्न सकेको अवस्था छैन । जसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।
विश्व सूचना तथा सञ्चार प्रविधिको विकासमा निकै अगाडि बढेको छ । यस्तो अवस्थामा नेपालका विश्वविद्यालयहरूले पनि सोहीअनुसारको दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ । जसअनुसारको पाठ्यक्रम र जनशक्तिसमेत खाँचो देखिन्छ ।
समाजलाई सुसंस्कृत बनाउन असल चरित्रका नागरिकहरूको खाँचो पर्दछ । जसका लागि नैतिक शिक्षाको आवश्यकता रहन्छ । राष्ट्र प्रेमी नागरिक उत्पादनमा ध्यान दिएर शैक्षिक कार्यक्रम बनाउन आवश्यक छ । जसले राष्ट्रको विकासमा समेत टेवा दिन सकोस् । यहाँ उत्पादित जनशक्तिले संस्कृतिलाई संरक्षण गर्दै मौलिकताअनुसार समाजको विकास गर्न सक्नुपर्छ । जसमा शिक्षाको योगदान आवश्यक छ ।