२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

चतुर्मास र शरदको बिदाइ

ADV
२०८१ कार्तिक २७ गते ०६:२०
चतुर्मास र शरदको बिदाइ

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

दिनहरू ढल्दै जान्छन्, बुढ्यौली बित्तै जान्छ, समय गएको पत्तो हुन्न, हिलो मैलो सकियो, शारदीय रात्रिहरू पनि सकिनै लागे, असोज र कार्तिक, शरदको उल्लास यसपालि बाढी र पहिरोले खाइदिएको छ । दसैँ आयो गयो, तिहार आयो गयो, छठ पनि आयो गयो, तर कपाल सेतो भएको पत्तो अत्तो भएन, कति सुकर्म भए वा कुकर्म गिन्ती पनि भएन, असारसँगै सुरु भएको चतुर्मासको समय चार महिने त्यो पनि गयो, अब त हेमन्त, शिशिरको चिसो मौसमले कतिलाई के–के गर्ला, बस् दिनहरू गन्दै, आउने दिन पनि ढल्दै जानेछन् हाम्रा ।

आषाढ शुक्ल हरिशयनी एकादशीदेखि आरम्भ भएको चतुर्मासको क्रम वैकुण्ठ चतुर्दशी कार्तिकसँगै मापन हुँदैछ । कार्तिक २७ गते हरिबोधिनी एकादशी नामैले स्पष्ट छ कि बोधिनी भन्नाले ब्युँझने अर्थ लाग्छ । सुतल लोकमा बलिका ढोकामा आषाढमा शयन अर्थात् सुतेका श्री विष्णु ब्युँझेर वैकुण्ठतिर लाग्ने दिन । चार महिनासम्म घर आँँगनीमा पूजा गरी सजाइएको तुलसीको बिहे स्वयम् श्री विष्णुसँग गराइने हाम्रो धार्मिक मान्यता रहेको छ । देशको राजधानी, उपत्यकामा रहेका भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखु नारायण, काठमाडौंको फर्पिङस्थित शेष नारायण अनि स्वयम्भू पछाडिका इचँगु नारायणको दर्शन गर्न जाने भक्तहरूको भीड नै देखिन्छ । त्यस्तै शिर भाग भनिएको शिवपुरीको काखैमा रहेको बुढानीलकण्ठमा भक्तहरूको पाइला राख्ने ठाउँ हुँदैन । पूर्वीय धर्म दर्शनप्रति हुरुक्क हुने नेपालीहरूको अत्यन्तै यस्ता विभिन्न पवित्र क्षेत्रहरू विश्व सम्पदा सूचीमा समेत परेका छन् । अत्यन्तै ठूलो पुण्य प्राप्त भई मानव मात्रले मानवीय सेवामा समर्पित हुन सिकाउने एकादशीको उदय र महत्व बारे शब्दले वर्णन गर्न कठिन छ ।

संस्कृतिको मोह थियो पश्चिमा विद्वान् म्याक्समूलरलाई र भने वेदमा ठुलो विज्ञान छ, वेदको आदिभूमि हाम्रो । भर्खरै भारतीय हिन्द मूलकी ह्यारिसले अमेरिकी राष्ट्रपतिको चुनाव हारिन्, बंगलादेशमा हिन्दुहरू विरुद्ध नाराबाजी भयो, संसारमा हिन्दुहरू सवा अर्ब छन् र भारत, नेपाल आसपास नै एक अर्ब १६ करोड बढी । ट्रम्प अत्तालिएका थिए भारतीय मूलकी ह्यारिसले आफूलाई पछार्लिन् भनेर, तर चुनाव परिणाम ट्रम्पतिरै गयो र उनको पहिलो सम्बोधनमै बंगलादेशमा भएको हिन्दविरुद्ध भएको व्यवहारलाई खुलेर विरोध गरे । भर्खरैको लक्ष्मीपूजामा वाशिङ्टन डिसीमा ओम जय जगदीश हरे भन्ने भजन घन्किएर दीपावली गरिएको छ, पहिले ओबामाले पनि तिहारमा दीपावली गरेका थिए, नासाका वैज्ञानिकहरू संस्कृत भाषाप्रति रुचि बढाउँदैछन् र वेद रुद्री अमेरिकामा घन्कँदै मात्रै होइन, विश्वको दोस्रो पशुपतिनाथको मन्दिर तयार भइसकेको छ त्यहाँ । अघिल्लो साल मोदीले मुस्लिम देशमा राम मन्दिरको उद्घाटन गरे । गेरु वस्त्रधारी भारतीय चर्चित नेता प्रधानमन्त्री मोदी र दोस्रोपल्ट अमेरिकामा अप्रत्याशित उदाएका ट्रम्पको निकै राम्रो दौत्य सम्बन्ध रहेको छ । परदेशीसँग गला मिलाउँछौँ हामी हाम्रो धर्म, हाम्रो परिधान, हाम्रो भेष भूषालाई बिर्सेर ।

सृष्टिको उषाकालमा ब्रह्माजीको अंश, वंशमा तालजङ्ग असुरको उदय भयो । उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो । देवताहरू राज्यच्यूत भए । शिव आज्ञाले श्रीविष्णुले मुर दानवलाई वद गर्ने आदेश दिँदा श्री विष्णु नै युद्ध क्षेत्रमा पराजित भई भारतीय क्षेत्र वदरीकाश्रमको सिँहावतीगुफामा सुत्नु पर्ने भयो । शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेज सहितको एक कन्याको उदय भयो । ती कन्यासँग सम्पूर्ण शस्त्र अस्त्रदेखि युद्धकलाको सम्पूर्ण ज्ञान थियो । ती कन्या त्यही मुर दानवसँग युद्ध गर्न लागिन् । नृशंस र संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट ! श्री विष्णु पनि आफू जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनु पर्ने र तीर्थमा श्रेष्ठ, विध्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहे अनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले ‘हुन्छ’ भन्ने श्री विष्णुको आदेशअनुसार सत्ययुगदेखि नै एकादशीको उदय र महत्व बढ्दै आएको हो ।

शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाको दरले वर्षभरिमा २४ वटा र पुरुषोत्तम माससमेत दुई वटा गरी जम्मा २६ वटा हुन्छन् । त्यसमध्ये तुलसीरोपण एकादशीको नामले चिनिने एकादशी भने जेष्ठ शुक्ल एकादशी ‘निर्जला’ एकादशी भने जेठ महिनामा पर्छ । तुलसीको मञ्जरीदल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई !

सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजार एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्म हत्या, गोहत्या सम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेधयज्ञ गरेको समेत फल पाइने कुरा शास्त्रहरूमा उल्लेख छ । शुक्ल पक्षको पुनर्वसु नक्षत्रले युक्त भएको एकादशी जया हो शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । 

कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । एकादशी सकेमा जल समेत ग्रहण नगरेर गरिने उपासना हो । नखाएर मात्रै व्रत उपासना हुने भने होइन । मुख्य कुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देव पूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सबै नै उपासनाका स्वरूपहरू हुन् । एकादशीमा अन्न खासगरी चामलमा मानिसका दुष्कर्म (पाप)हरू बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ । महिनामा एक दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता मेटाबोलिजम सिस्टम राम्रो भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ । आयुर्वेदले पाचन प्रणाली बिग्रने कारण नै सबै किसिमका रोगको उदय हुने बताएको छ । हिजोआजको वातावरण र जँकफूड, फाष्टफूड र पेय पदार्थहरूले हाम्रो स्वास्थ्यलाई कहाँ पु¥याएको छ सबैलाई थाहै छ ।

व्रतको प्रभाव भने मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्त शुद्धि हो, धर्म परायण र सात्विकभावको विकास हो । सत्य, धर्म, सदाचार व्यक्ति, समूह, समुदायबाट समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । मनोमालिन्य र द्वन्द्वपूर्ण व्यक्ति र समाज भए भने मुलुक भनौँ वा राष्ट्र अथवा पूरै ब्रह्माण्ड नै उजाड बन्ने कुरामा पनि दुई मत छैन । हिरोसिमा, नागासाकी, ट्वीन टावर वा अन्य टाढा जान पर्दैन । देवत्वभावले दानपारमिताले सबैको संरक्षण हुन्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । भावना शुद्ध गरी कार्य गरेमा त्यस्तै योजना, उद्देश्य, रणनीति, कार्यक्रमसँग सहभागी हुन सकेमा समग्र मुलुकको आर्थिक विकास छिटो हुन सक्छ । हामी सबैले चाहेको शान्ति र अमन चयन त स्वतः हुन्छ । 

देशमा शान्ति र अमन चयन छ, सबै निर्धक्क छन् भने राज्यले हात हतियार वा आपराधिक क्रियाकलापविरुद्ध ठुलो रकम खर्च गर्नु पर्दैन, त्यसमा गरिने खर्च सजिलै विकास निर्माणतिर लगाउन सकिन्छ । देशमा रामराज्य भइहाल्छ, करको नाममा जनताको ढाड सेक्न पनि पर्दैन । सुरक्षाकै लागि ठुला–ठुला बुलेट प्रुफ गाडी, यानहरूको आवश्यकता पर्दैन । हाम्रै गरिब र अल्पविकसितमा जेठो गनिने देशमा मोदीदेखि सिजिनपिङसम्मको भ्रमणमा भएको सुरक्षा सावधानी बारे सबैलाई जगजाहेरै छ । हाम्रै धरोहर चाडपर्व दशैं तिहारमा सुरक्षा चुनौति देखिएकै हो । हाम्रै जनकपुरमा त्रेतायुगमा सुन जुहारतमा साँचो ताल्चा लाउन नपर्र्ने, आौषधिका नाममा सामान्य सिटामोलसम्म प्रयोग गर्नु नपर्ने रामायणमा लेखिएको छ ।

काम्य र नित्य गरी व्रतको दुई स्वरूप छन् । उद्देश्य एवम् कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निस्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ – कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ, जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रत निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, पर निन्दाबाट टाढा हुन्छ । चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । आशा छ हाम्रो स्वर्ण भूमि वेद भूमि, देव र यज्ञ भूमि यहीँबाट पहिले सुरक्षित हुन जरुरी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise